कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : दाहाल

रासस

चितवन — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्।

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : दाहाल

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे । आगामी निर्वाचनममा चितवन क्षेत्र नम्बर ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे ।

भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पुर्‍याउनका लागि आफ्नो उम्मेदवारी रहने बताइ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो । 'चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ,' उनले भने ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताइन् । यी क्षेत्रमा चार अर्ब रुपैयाँको लगानी हुने उनको भनाइ थियो । किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताइन् । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा चार करोड रुपैयाँको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ । जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ । ती ट्युबेल निर्माण गर्न १३ करोड ६० लाख रुपैयाँ खर्च भएको उहाँको भनाइ छ । नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ ।

प्रकाशित : मंसिर ७, २०७८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?