जबरा प्रधानन्यायाधीशबाट हट्नुपर्ने १७ कारण- समाचार - कान्तिपुर समाचार
नेपाल बारको ज्ञापनपत्र

जबरा प्रधानन्यायाधीशबाट हट्नुपर्ने १७ कारण

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग राख्दै तीन सातादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले सोमबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई ‘उपयुक्त कदम’ चाल्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

उक्त पत्रमा जबराविरुद्ध कानुन व्यवसायीले गरिरहेको आन्दोलनको औचित्य उल्लेख गर्दै प्रधानन्यायाधीश जबराको बहिर्गमन किन आवश्यक छ भन्नेबारे विस्तृतमा उल्लेख गरिएको छ । बारले दिएको ज्ञापन पत्रमा जबराले 'न्यायपालिकाको स्वतन्त्रता, शुद्धता, निस्पक्षता र गरिमामा गम्भीर रूपले कुठाराघात हुने गरी मन्त्रिपरिषदमा भाग खोज्ने र आफ्ना मानिस नियुक्त गराउने जस्ता कार्यमा संलग्न रही कार्यपालिकासँग अनुचित सांठगांठ गरेको' उल्लेख छ ।

यस्तै, प्रधानन्यायाधीश जबराले 'संवैधानिक परिषद्को सदस्यको हैसियतमा आफू समेत संलग्न भई विभिन्न संवैधानिक अंगका पदाधिकारीहरूको नियुक्ति सम्बन्धमा परेका रिट निवेदनहरूको एक वर्ष सम्म पनि प्राराम्भिक सुनवाइ समेत नगरी न्यायमा अवरोध सृजना गरेको' पनि बारले आरोप लगाएको छ । कात्तिक १४ देखि हातमा कालो पट्टि बाँधेर कानुन व्यवसायीहरूले जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै आइरहेका छन् ।

यस्तो छ, प्रधानन्यायाधीश जबराको बहिर्गमनको आवश्यकता औंल्याउँदै नेपाल बारले दिएका कारण :

१. लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निस्पक्ष र जिम्मेवार न्यायपालिकाको पक्षमा नेपाल बार एसोसिएसन आफ्नो स्थापनाकालदेखि नै दृढतापूर्वक उभिदै आएको व्यहोरा सर्वविदितै छ । न्यायपालिकाभित्र विकृति, विसंगती, भ्रष्टाचार र विचौलियाहरूले प्रवेश पाएको तथा प्रभाव बढ्दै गएको भन्ने सम्वन्धमा सर्वोच्च अदालत बार एसोसिएसनद्वारा गरिएको अध्ययन प्रतिवेदन–२०६४, सर्वोच्च अदालतको अध्ययन प्रतिवेदन–२०६६ र २०७२ समेतले औंल्याएको तथ्य पटक–पटक सार्वजनिक भएकै छ ।

२. नेपालको संविधानले स्वतन्त्र, सक्षम, निस्पक्ष र जिम्मेवार न्यायपालिकाको परिकल्पना गरी तदनुरूपको संवैधानिक प्रवन्ध गरेको छ । संविधानले परिकल्पना गरेको मूल्य र आदर्श सहितको न्यायपालिकाको लागि न्यायाधीशहरूलाई सोही अनुरूपको सेवा सुविधा र सेवाका शर्तहरू संविधान र कानूनद्धारा नै तोकिएका छन् । शक्ति पृथकीकरण र शक्ति शन्तुलनका सम्पूर्ण अवयवहरूलाई आत्मसात गरी नेपालको संविधानले न्यायपालिका तथा त्यसमा कार्यरत न्यायाधीशहरूलाई स्वतन्त्र र निर्भिकताको साथ इमान्दारीतापूर्ण ढंगले पदीय कर्तव्य निर्वाह गर्ने संवैधानिक दायित्व सुम्पिई त्यो शर्तमा नेपाली जनताको करबाट स्थापित सर्वसंचित कोषवाट निजहरूले पारिश्रमिक प्राप्त गर्ने व्यवस्था गरेको छ । संविधानको पवित्र उद्देश्य र संवैधानिक दर्शनलाई सम्पूर्ण रूपमा भताभुंग र नष्ट गर्ने गरी स्वयं पदासीन प्रधानन्यायाधीशबाट उक्त संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले दुरूपयोग गरेकोले न्यायपालिकाभित्रको विकृति, विसंगती र भ्रष्टाचार चरम उत्कर्षमा पुगेकोले नेपालको सिंगो न्याय क्षेत्र र नेपाल बार एसोसिएसन बाध्य भएर संविधान र कानूनको रक्षा एवं स्वतन्त्र र सक्षम न्यायपालिकाको श्रीवृद्धि गरी नेपाली जनताको वास्तविक न्याय पाउने हकको संरक्षण एवं प्रत्याभूतीको लागि शान्तिपूर्ण आन्दोलनमा रहेको व्यहोरा प्रष्ट पार्न चाहन्छौ ।

३. न्यायपालिका संविधानको संरक्षक हो । यसर्थ एउटा न्यायाधीश वा प्रधानन्यायाधीशको सपथ संविधान र कानूनको संरक्षण, सम्बर्धन र रक्षाका लागि लिएको मानिन्छ । तर, दुर्भाग्य नै भन्नुपर्छ नेपालको न्यायिक नेतृत्वको कार्यहरू एकपछि अर्को विवादास्पद, आपत्तिजनक र असंबैधानिक हुँदै गएका छन् । लोकतन्त्रमा न्यायपालिकालाई संविधानको संरक्षण र राज्यका अन्य अंगहरूमाथि शक्ति सन्तुलन कायम राख्ने महत्वपूर्ण निकायका रूपमा लिइन्छ । सक्षम एवं स्वतन्त्र न्यायालयको अभावमा सिंगो संविधान र त्यसले परिकल्पना गरेका कुनै पनि व्यवस्थाहरू यथार्थतामा कार्यात्मक र जीवन्त हुन संभव छैन । यसका लागि न्यायालय सम्पूर्ण रूपमा स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार हुन आवश्यक हन्छ । न्याय न्यायालयको पहिलो गुण हो । त्यसैले न्यायालयलाई न्यायको अन्तिम सहारा भनिएको हो । जसको प्राप्ती केवल सक्षम र स्वतन्त्र न्यायालयबाट मात्र संभव छ । संविधानमा अन्तरनिहित प्रस्तुत दर्शनको यथार्थ कार्यान्वयनका लागि न्यायिक नेतत्वको सक्षमता, इमान्दारिता, संवैधानिक नैतिकता र आचरण सबै भन्दा अहं हुन जान्छ । बहालवाला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग संविधान र स्वतन्त्र न्यायपालिकाले अपेक्षा गर्ने र गरेका कुनैपनि गुण र विशेषताहरू अब बाँकी रहेनन् ।

४. वर्तमान प्रधानन्यायाधीश निरन्तर कार्यपालिकिय शक्तिको प्रभावमा परेको, अन्य जिम्मेवारीका अतिरिक्त नेपालको संविधानको धारा १३६ द्वारा निजलाई विश्वासकासाथ प्रदान गरेको संवैधानिक दायित्व पूरा गर्न असक्षम रहेको, न्यायालयको साख, इज्जत, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्ववाट पूर्ण रूपमा बिमुख भएको तथा प्रधानन्यायाधीश राणामा न्यूनतम् पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिकता एवं कार्यक्षमता समेत नदेखिएको कारणले नेपाल बार एसोसिएसन उल्लिखित पृष्ठभूमीका अतिरिक्त निम्न आरोपका साथ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गरी आन्दोलनरत रहेको व्यहोरा सम्बन्धित सबै समक्ष यसै धारणापत्र मार्फत् जानकारी गराउन चाहान्छौं ।

४.१ न्यायपालिकाको स्वतन्त्रता, शुद्धता, निस्पक्षता र गरिमामा गम्भीर रूपले कुठाराघात हुने गरी मन्त्रिपरिषदमा भाग खोज्ने र आफ्ना मानिस नियुक्त गराउने जस्ता कार्यमा संलग्न रही कार्यपालिकासँग अनुचित सांठगांठ गरेको ।

४.२ न्यायपालिकामा देखिएका विकृति, विसंगती, भ्रष्टाचार, अनियमितता निवारणका लागि आवश्यक एवं उपयुक्त सुधार र न्याय प्रशासनको प्रभावकारिता एवम स्वतन्त्र, स्वच्छ, सक्षम, निस्पक्ष न्यायपालिकाको सम्बद्र्धधन र संक्षरणका लागि नेपाल बार एसोसिएसनले पटक–पटक दिएका सुझाव एवं विभिन्न मितिमा गराएको ध्यानाकर्षण समेतलाई पूर्ण रूपमा बेवास्ता गर्दै उल्लेखित विकृति, विसंगती र भ्रष्टाचारजन्य कार्यलाई निरन्तरता दिँदै आएको ।

४.३ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश, राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश समेतको संवैधानिकता परीक्षण गर्न दायर भएका रिट निवेदनहरू लगायतका संवैधानिक इजलासमा विचाराधिन विभिन्न मुद्दाहरूको समयमै सुनुवाइ तथा निरूपण नगरी कार्यपालिकिय शक्तिलाई रिझाउने कार्य गरेको ।

४.४ संवैधानिक परिषद्को सदस्यको हैसियतमा आफू समेत संलग्न भई विभिन्न संवैधानिक अंगका पदाधिकारीहरूको नियुक्ति सम्बन्धमा परेका रिट निवेदनहरूको एक वर्ष सम्म पनि प्राराम्भिक सुनवाइ समेत नगरी न्यायमा अवरोध सृजना गरेको ।

४.५ शसस्त्र प्रहरी बलका तत्कालीन बरिष्ठ अधिकृत रञ्जन कोइराला संलग्न ज्यान मद्दामा मातहत अदालतवाट भएको फैसला उल्टी गरी गैरकानूनी ढंगले कैद घटाएको विषयमा नागरिक स्तरवाट सडक प्रदर्शन भई निजलाई पदच्यूत गर्न माग भएपछि न्यायिक प्रक्रिया बमोजिम उक्त मुद्दामा पुनरावलोकनको निस्सा भई पुन: सर्वोच्च अदालतमा विचाराधीन रहेकोमा त्यस्तो संगीन अपराधसँग सम्बन्धित मुद्दाको शिघ्र सुनवाई गर्नुपर्नेमा आफैंले पटक–पटक पेसी स्थगित गरेको र विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी सार्वजनिक रूपमै विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै गलत व्याख्या गर्दै त्यसको प्रतिरक्षा गरेको ।

४.६ भ्रष्टाचारको अभियोग लागेका मुद्दाको छिटो छरितो सुनुवाइ गर्ने प्रयोजनका लागि अलग्गै विशेष अदालतको व्यवस्था भएकोमा उक्त अदालतमा महिनौंदेखि न्यायाधीशको पदपूर्ती गर्न अनिच्छुक रही न्याय प्रक्रियामा अवरोध सृजना गरेको र न्यायाधीश सरुवा र काजमा खटाउँदा मापदण्ड विपरित अनियमितता गरेको, डाँफे सरुवा र गैंडा सरुवा भन्ने व्यङग्यात्मक भनाइलाई स्थापित गरेको ।

४.७ आफ्नो स्वार्थ सन्निहित मुद्दामा आफु संलग्न नहुने भनि संवैधानिक इजलासबाटै निर्णय गरे पश्चात पनि मुद्दाको लामो समयसम्म सुनुवाइ हुन नसक्ने वातावरण सृजना गरी संवैधानिक इजलासलाई अनिर्णयको बन्दी बनाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मूख्य भूमिका निर्वाह गरी संविधानको धारा १३७ को अधिकारको नांगो रूपमा दुरूपयोग गरेको ।

४.८ प्रधानन्यायाधीशको संसदीय सुनुवाई हुँदाका बखत निजले सार्वभौम संसद समक्ष गरेका प्रतिबद्धता विपरित न्यायाधीशको पदपूर्ती र उचित समयभित्र मुद्दाको फस्यौट गर्न असक्षम रही न्यायमा अवरोध सृजना गरी संविधानत: नेतृत्वको जिम्मेवारी बहन गर्न पूर्ण असक्षम सिद्ध भैसकेको ।

४.९ कार्यपालिकासँग हिस्सेदारी माग गरी संवैधानिक आयोग तथा अन्य आयोगहरूमा आधार, कारण र मापदण्ड समेत निर्धारण नगरी आफ्ना परिवारका सदस्य तथा निकटका व्यक्तिहरूलाई नियुक्तिको सिफारिश गरेको ।

४.१० कार्यपालिका प्रमुख र राजनीतिक दलका नेताहरूसँग अमर्यादित, असंवैधानिक एवं अस्वाभाविक भेटघाट र सम्पर्क बढाई पदीय गरिमा विपरित न्यायालयको स्वतन्त्रता र गरिमामा नै गम्भीर आँच आउने कार्य गरेको ।

४.११ नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसन समेतको संलग्नतामा गठन भएको न्यायपालिकाको विकृति, विसंगती र भ्रष्टाचारको सम्बन्धमा अध्ययन गर्न गठित माननीय न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिको प्रतिवेदन प्राप्त भएपछि पनि सो प्रतिवेदन लागू गर्न अनिच्छुक देखिएको, सो प्रतिवेदनको विरुद्धमा विचार व्यक्त गर्दै हिँडेको र प्रतिवेदनको सुझाव अनुरूप मुद्दाको पेसी तोक्ने स्वचालित कम्प्युटर प्रणाली (अटोमेशन) लागू नहुन्जेलसम्म गोला प्रकयाद्वारा पेसी तोक्ने सम्वन्धमा माननीय न्यायाधीश मीरा खड्काको संयोजत्वमा गठित समितिले दिएको प्रतिवेदन समेत कार्यान्वयन गर्न उदासिन रहेको ।

४.१२ सर्वोच्च अदालतमा साप्ताहिक तथा दैनिक मुद्दाको पेसी र न्यायाधीश तोक्दा कुनै निश्चित आधार, मापदण्ड र मान्य प्रचलन एवं अभ्यासको पालना नगरी मनोमानी र अपारदर्शी आधारमा खास खास किसिमका मद्दाहरू आफ्नो इजलासमा वा आफनो नियन्त्रणमा पर्ने गरी इजलास तोकेर न्यायापालिकालाई निरन्तर विवादमा ल्याएको ।

४.१३ न्यायपरिषदको अध्यक्षको हैसियतले सबै तहका अदालतका न्यायाधीशहरूको नियुक्ति गर्दा निस्पक्ष एवं पारदर्शी रूपमा गर्नुपर्नेमा मनोमानी ढंगले आपसी भाग बण्डालाई प्रश्रय दिई नियुक्ति गरेको, नियुक्त भएका कतिपय व्यक्तिहरूको योग्यता, क्षमता र अनुभव नभएकोले त्यस्तो गैरकानुनी नियुक्तिको कानुनी र नैतिक दायित्व निज प्रधानन्यायाधीशबाट पालना नभएको ।

४.१४ नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसन, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, सिंगो आमसञ्चार, नागरिक समाज, आम नागरिक, बुद्धिजिवी र सर्वोच्च अदालतका आफ्ना सबै सहकर्मी न्यायाधीशहरू समेतले नीज पदमा रहिरहन उपयुक्त नहुने भनी अनुरोध एवं सार्वजनिक आह्वान समेत गरी रहेको अवस्थामा त्यसलाई समेत उपेक्षा गरी न्यायालयको गरिमामा अपुरणीय क्षति पुर्‍याएको ।

४.१५ आफ्नै परिवारका कतिपय सदस्य र नातागोताका व्यक्तिहरू एवं आफूले नियुक्त गरेका कतिपय न्यायाधीश र पदाधिकारीहरूलाई विचौलियाको रूपमा संलग्न गराई भ्रष्टाचार र अनियमितता गरी अवैध सम्पत्ति आर्जन गर्ने गराउने कार्यमा संलग्न रहेको ।

४.१६ निजले विशेष अदालत काठमाडौंमा रहँदा गरेको फैसला उपरको पुनरावेदनमा सम्मानित सर्वोच्च अदालतबाट फैसला हुँदा गरिएको न्यायिक टिप्पणीको समेत वेवास्ता गर्दै निजको नियुक्तिको सिफारिस र संसदीय सुनुवाइबाट अनुमोदन भएकोमा त्यसपश्चात पनि निजले आफ्नो पदीय जिम्मेवारीको निरन्तर दुरूपयोग गरी पद अनुकूलको आचरण नगरेको ।

४.१७ न्यायपालिकाभित्रको विकृति, विसंगती र भ्रष्टाचारको अन्त्यका लागि नेपाल बार एसोसिएनको आह्वानमा भएको कानुन व्यवसायीहरूको शान्तिपूर्ण विरोध कार्यक्रमलाई हस्तक्षेप गरी दवाउन आधुनिक हतियार सहितका दंगा प्रहरी सर्वोच्च अदालतभित्र तैनाथ गरी कानुन व्यवसायीमाथि बल प्रयोग गरी गम्भीर घाइते समेत बनाएको र स्वतन्त्र न्यायपालिकाको गरिमामाथि ठूलो चोट पुर्‍याएको ।

५. अन्त्यमा, नेपाल बार एसोसिएसनको आन्दोलन जनताको सर्वसुलभ न्यायको प्रत्याभूति, समग्र न्यायपालिकाको सुधार, असक्षम, अनैतिक, गैरजिम्मेवार र भ्रष्ट प्रधानन्यायाधीशको बहिर्गमन र भ्रष्टाचारको विरुद्धमा केन्द्रित रहेकोले भ्रष्ट व्यक्ति र न्यायपालिकाभित्र व्याप्त भ्रष्टाचारको विरुद्धमा संविधान र जनताको न्यायको पक्षमा उभिइ संवैधानिक दायित्व निर्वाह गर्न सबै राजनीतिक दलहरूलाई तथा नेपाल बार एसोसिएसनको यो अभियानलाई सहयोग गरी वर्तमान प्रधानन्यायाधीशको बहिर्गमन र न्यायपालिकाको सुधारको पक्षमा दृढतापूर्वक उभिन सबै बहालवाला तथा पूर्वन्यायाधीश, राष्ट्रसेवक कर्मचारी, कानून व्यवसायी, सेवाग्राही र सरोकारवालाहरू सबैलाई नेपाल बार एसोसिएसन हार्दिक आह्वान गर्दछ ।

प्रकाशित : मंसिर ६, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

'रुदाने'को जीवन पो जीवन !

अभिनेता दिव्य देवका ६ वटा फिल्म प्रदर्शनको पर्खाइमा छन्
रीना मोक्तान

काठमाडौँ — भिक्टर नभरोस्कीले न्युयोर्क विमानस्थल पुगेपछि थाहा पाउँछन्, सैन्य 'कु'ले देश गृहयुद्धमा परिणत भइसक्यो । गृहयुद्धको प्रभावले विमानस्थलमा उनको पासपोर्ट जफत गरिन्छ । बिना पासपोर्ट न उनी न्युयोर्क प्रवेश गर्न सक्छन् न देश फर्कन । अंग्रेजी बुझ्दैनन्, बोल्न पनि सक्दैनन् । 'एस- नो' र 'थ्यांक्यू' को भरमा भिक्टर ९ महिना उक्त विमानस्थलमा अड्किन्छन् । आफ्नो गन्तव्यसम्म पुग्नका लागि टर्मिनल भवनभित्रै महिनौं खुम्चिएर भिक्टरले संघर्ष गर्छन् ।

'द टर्मिनल' को यो कथाले अभिनेता दिव्य देवको मन छोयो । जीवनकै पहिलो अंग्रेजी फिल्म 'द टर्मिनल' उनले अष्ट्रेलिया पुगेपछि हेरे । अंग्रेजी कलाकार टम ह्यांक्सले अंग्रेजी बोल्न नसक्ने भिक्टरको अभिनय निर्वाह गरेको देखेपछि उनलाई लाग्यो- 'अभिनय भनेको यो पो हो त !' यही फिल्मले उनलाई अभिनयमा करिअर देखायो । सन् २००८ मा अष्ट्रेलिया पुगेका उनी २ वर्षमै नेपाल फर्के । फिल्म कलेज अस्कर भर्ना भए, अभिनयमा जम्न थाले ।

हुन त १३/१४ वर्षको उमेरमै पहिलोपटक टिभी देख्दा अभिनयमा आकर्षित भएका थिए, दिव्य । बैतडीमा हुर्केका उनलाई द्वन्द्वकालको समयमा घरमा असुरक्षा हुने देखिएपछि बुवाले मामाघर पठाइदिए । मामाघरमै उनले टिभी देखे । पर्दाभित्रको दुनियाँले उनलाई तान्यो । एसएलसी गरेर काठमाडौं आए । रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्राकारिता पढे । त्यतिबेलासम्म कलेजमा हुने नाटकमा अभिनय त गर्थे तर अभिनयमै भविष्य देख्छु भन्ने सोचिसकेका थिएनन् । टम ह्यांक्सको फिल्मसँग ठोक्किएपछि भने अभिनयमा उनी गम्भिर बने । अस्कर भर्ना भएको पहिलो वर्षमै थिएटरमा अभिनय गर्ने मौका पाए । 'युथ थिएटर फेस्टिभल'मा मञ्चन भएको 'पर्गेटरी'मा अभिनय गरे ।

त्यसपछि अंग्रेजी नाटक 'एन्जल्स इन अमेरिका'को अडिसनमा छनोट भए । समलैंगिक पात्रको भूमिका, मञ्चमै अर्का पुरुष पात्रलाई चुम्बन गर्नुपर्ने । यो नाटकसँगै थिएटरमा उनको अभिनयको यात्रा सुरु भयो । अस्करकै साथी उत्पलको निर्देशनमा तयार भएको 'लभ, लस्ट, लाइफ'मा पनि उनले अभिनय गरे, जुन'कान्स'को लघु फिल्मतर्फ छनोटमा पर्‍यो ।

अहिलेसम्म गरेका २५ नाटकमा दिव्यले करिब १८ त अंग्रेजी नाटक नै गरेका छन् । 'ह्यामलेट', 'लुक ब्याक इन एन्गर', 'सान्दाजुको महाभारत', 'सेम टाइम नेस्कस्ट इयर'लगायतका नाटकमा आफ्नो अभिनयको प्रखरता देखाइसकेका दिव्य प्रदर्शन हुन बाँकी ६ फिल्मका अभिनेता हुन् । यसअघिका फिल्म 'नागरिक', 'सुप्पर हिट', 'आवरण'ले ठूलो पर्दामा उनलाई खासै चिनाएन । प्रदर्शन पर्खिरहेको 'रुदाने', 'डाकिनी', 'चिसो एस्ट्रे', 'हिजो आजका कुरा', 'किया', 'राधा'ले भने पर्दामा आफूलाई स्थापित गराउनेमा उनी आसावादी देखिन्छन् ।

'कुनै फिल्मको रिलिजको अत्तोपत्तो छैन । म त कुर्दा कुर्दा हैरान भइसकें, 'हाँस्दै सुनाए, 'प्रदर्शनलाई लिएर हतास नै भइसकेको त छैन । फिल्मका दर्शकबीच मेरो परीक्षा हुन बाँकी छ । थिएटरमा एकहदसम्म आफूलाई प्रमाणित गरिसकें । तर फिल्ममा सयौं थरिका दर्शक हुन्छन् । हरेकका आ-आफ्नै विचार हुन्छन् । म नाटकलाई लिएर जति ढुक्क हुन्छ फिल्ममा त्यस्तो छैन ।' अभिनयमा अब्बल दिव्य आवाजको दुनियाँमा पनि खोजिने नाम हो । विज्ञापन, डकुमेन्ट्रीमा आवाज दिइरहेका दिव्य अहिले 'माइ सेकेण्ड टिचर' र 'रामायण'मा आवाज दिन व्यस्त छन् ।

रुदाने यात्रा

सन् २०१५ मा 'रुदाने'को अफर आउँदा दिव्यलाई बल्ल आफूले रोजेजस्तै, चुनौतीपूर्ण पात्र भेटेको भान भयो । निर्देशकद्वय विकास ढकाल र अमित किशोर सुवेदी रुदानेजस्तै देखिने अनुहारको खोजीमा रहेछन् । दुब्लो पातलो शरिर, अनुहार पनि रुदानेसँग मिल्न गएपछि उनी फिल्मका लागि चुनिए । फिल्म गर्नुअघिसम्म रुदानेलाई चिन्दैन थिए, दिव्य । 'दुर्भाग्यवस मैले उहाँलाई चिनेको थिइनँ । जब थाहा भयो 'ओहाे के आयो सामुन्ने' भन्ने लाग्यो ।सुरुमा एकदम अचम्मको व्यक्ति लाग्यो ।त्यस्तो व्यक्तिले जिएको जीवन र दर्शन गहन छ । अहिलेको पुस्तालाई रुदाने थाहा नहुनु दु:खद कुरा हो,'फिल्म आवद्ध हुँदाको क्षण सम्झिन्छन् ।

'रुदाने'को चरित्र निर्माणका लागि उनीसँग खासै स्रोतहरू थिएनन् । २/४ वटा अडियो टेप थिए । 'थाहा' लेखिएको किताब थियो । रुदानेलाई बुझ्न गहिराइमा जानकारीहरू बटुले । मकवानपुर पुगे । रुदानेको 'हाउभाउ कसरी पहिल्याउने' भिडियोमा हेर्न कुनै स्रोत थिएन । गाउँ पुगेपछि भाषण गर्दा हातहरू चलाउने खुट्टा बजाउने गर्थे भन्ने कुरा थाहा पाए । रुदानेको चरित्र निर्माण गर्न सजिलो थिएन । 'गाउँमा एकले एकथरि, अर्कोले अर्कोथरि सुनाउँथे । त्यही कुराहरूमा साझा के छ त? भनेर खोज्न थालें । उनको बोल्ने शैली एकदमै विशेष । थोरै शब्दमा टक्क मुटुमै पर्ने कुरा भन्न सक्ने । त्यो कुरालाई एक कलाकारका हिसाबले कसरी गर्ने चुनौति थियो,' उनले सुनाए, 'अभिनयमा त्यो चरित्रको आत्मा झल्किनुपर्‍यो नि ! हाउभाउ र लुक्सले मात्र पुग्दैन नि त ! त्यो असाधरण व्यक्तिको आत्मा पनि असाधरण नै हुनुपर्छ । त्यो पहिल्याउनु र आत्मासाथ गर्न सजिलो थिएन ।'

'रुदाने'को चरित्र निर्वाह गर्दा दिव्यलाई अभिनय मात्र गरिरहे झैं भयो । पात्रको ऊर्जा उनमा झल्किएन । त्यसैले उनले सहरमा 'थाहा' लेख्दै हिँड्न थाले । 'थाहा' लेख्दै हिँड्दा प्रहरीले थर्काउने पो हो कि? भन्ने विचार नआएको होइन। तर उनको मनले भन्यो 'रुपचन्द्र कहाँ डराउँछ त ?' उनले आफूलाई रुपचन्द्रको रुपमा विश्वास गरे । लाजिम्पाट, रत्नपार्कलगायत सहरका विभिन्न पुलहरूमा थाहा लेख्दै हिँडे । विस्तारै उनले रुदानेको उर्जालाई आफूमा आत्मासाथ गरे । लामो ओभरकोट, रुदानेकै हाउभाउ । त्यही हुलियामा उनी सहर डुल्न थाले । हिँड्दै गर्दा अचानक एकदिन भाषण नै गर्न मन लाग्यो । काठमाडौं मल छेउको पुलमा उभिएर भाषण गर्न थाले ।

मानिसहरू उनलाई बहुलाएको हो कि ! भन्ने भावमा घुरेर हेर्थे । तर उनले ती नजरहरूलाई बेवास्ता गरे । त्यसपछि रुपचन्द्रले झैं पर्चाहरू बेच्न थाले । मानिसहरू रमाइलोका लागि पर्चा किन्थे । पाँच रुपैयाँमा २०/३० वटा पर्चा बेचे । पर्चा बेचेको पैसा उनले साँचेर राखेका छन् । रुपचन्द्र चुनाव खर्च त्यही पर्चाबाट उठाउँथे । राजनैतिक विचार, जीवनको दर्शन, जनतालाई जगाउने छोटा कविता लेखेर पर्चा बेच्थे । 'मानिसहरू उनको पर्चा किन्न हारालुछ गर्थे । कस्तो अचम्म अहिले कोही नेताले पर्चा दियो भने सित्तैमा लिन पनि मान्दैनन् । त्यसरी हिँडेपछि झन-झन आफैंलाई रुपचन्द्रको रुपमा विश्वास गरें, ' दिव्यले चरित्र निर्माणको क्षण सम्झे ।

चरित्र निर्माणकै क्रममा उनले रुपचन्द्रको जीवनशैली, निर्णयलाई नजिकबाट नियाल्न पाए । जिद्दु कृष्ण मूर्तिलाई सुन्न थालेपछि आफूले रुपचन्द्र र 'थाहा'लाई बुझेको दिव्य सुनाउँछन् । 'उहाँले छोड्नु भएको दर्शन, बाँच्नु भएको जीवन एकदमै विशिष्ट छन् । त्यस्तो जीवन पो जीवन ! साँच्चै जे बोलेको छ त्यस्तै बाँचिदिने । त्यो पात्रको अभिनय गर्न पाउनु मेरो भाग्य हो। न्याय दिएँ, दिइनँ त्यो फिल्म प्रदर्शनपछि थाहा हुन्छ, 'दिव्यले भने, 'फिल्म भनेको एउटा पक्ष मात्र राम्रो भयो भन्दैमा राम्रो हुँदैन । एउटा कलाकारले राम्रो काम गर्‍यो भन्दैमा फिल्म राम्रो हुँदैन । सम्पादकले राम्रो सम्पादन गर्‍यो भन्दैमा राम्रो हुँदैन । त्यही भएर हाम्रो फिल्म कस्तो बन्यो भन्ने कुरामै डर छ। तर हामी सबैले आफ्नो उत्कृष्ट दिएका छौं । ४ वर्ष अगाडि अभिनयको जस्तो ज्ञान थियो त्यो सबैलाई इमान्दार भएर मैले रुदानेको चरित्रमा अभिनय गरेको छु ।'

दिव्य सेटभर रुदानेकै पहिरनमा बस्थे । वर्कसपको बेलादेखि सहायक कलाकारलाई 'भाते' भनेर बोलाउन थालिसकेका थिए । गाउँमा सुटिङ हुँदा गाउँलेहरू उनलाई हेर्न झुमिन्थे । त्यही पहिरनमा दिव्यलाई देख्दा कतिले रुदानेलाई सम्झिए पनि । सुटिङ हेर्न आएका गाउँलेहरू भन्थे,'एकचोटी भाते भनिदिनु न ।' उनी भनिदिन्थे 'भाते के छ' ?' । पर्दामा रुदानेको जीवन बाँचेका दिव्य रुपचन्द्रसँग व्यक्तिगतरुपमै गाँसिएका छन् । 'यो व्यक्तिसँग एकपटक भेट्न पाए भन्ने अर्कै खालको लगाव छ । सायद त्यो चरित्रलाई भावनात्मक रुपले आत्मसाथ गरेको भएर होला व्यक्तिगत रुपले गाँसिएको अनुभव भएको छ,'उनले सुनाए ।

दिव्य आफूलाई चुनौती लाग्ने, उत्साहित बनाउने कुरा फिल्ममा भएपछि मात्र फिल्म गर्न तयार हुन्छन् । 'रुदाने' मात्र होइन प्रदर्शन कुरिरहेको ६ फिल्म उनको रोजाइमा परेका फिल्म हुन् । सबै फिल्ममा कलाकारले चरित्र निर्माणको लागि समय पाइरहेका हुँदैनन् । विशेष त व्यवसायिक फिल्ममा । दिव्यले 'रुदाने'लाई झैं अन्य चरित्रहरूको निर्माणमा समय र उतिकै मिहिनेत गरेका छैनन् । उनी सबै चरित्रका लागि गहिराईमा पुगेर अभिनय गर्नु नपर्ने बताउँछन् । 'सायद सबै फिल्ममा त्यो चाहिँदा पनि चाहिँदैन ।त्यो गर्नु पनि हुँदैन जस्तो लाग्छ । हरेक चरित्रको एउटा यात्रा हुन्छ, एउटा प्रकृया हुन्छ । कतिमा स्वतन्त्र भएर बस्नुपर्छ । कुनैमा रुपचन्द्रको जस्तो गहिराईमा पुगेर अभिनय गर्नुपर्छ,'उनी सुनाउँछन् ।

प्रकाशित : मंसिर ६, २०७८ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×