कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

रेबिजविरुद्ध प्रभावकारी खोप अब सातै प्रदेशमा

प्रदेश २ र वाग्मतीका दुई/दुई र बाँकी प्रदेशका एक/एक अस्पतालमा निःशुल्क
अतुल मिश्र

काठमाडौँ — सरकारले आगामी आइतबारदेखि सातै प्रदेशमा कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क उपलब्ध गराउने भएको छ । हाल यो सेवा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध छ । राजधानीबाहिरका निजी अस्पतालमा उपलब्ध भए पनि त्यसका लागि चर्को शुल्क तिर्नुपर्ने अवस्था छ । 

रेबिजविरुद्ध प्रभावकारी खोप अब सातै प्रदेशमा

रेबिजको विषाणुले सबैभन्दा पहिले स्नायु र त्यसपछि स्पाइनल कर्ड र मस्तिष्कमा असर गर्छ । रेबिज संक्रमण भएमा सुरुमा घाउको दुखाइसँगै ज्वरो आउँछ । त्यसपछि शरीरमा असह्य पीडा हुनुका साथै बिरामीमा हावा, पानी र प्रकाशसँग तर्सिने जस्ता लक्षण देखिन्छ । त्यसपछि छटपटी बढ्ने र पक्षाघात पनि हुन सक्छ । त्यस्तो लक्षण देखिएको ७ देखि १० दिनभित्र बिरामीको ‘कार्डियो रेस्पिरेटरी एरेस्ट’ ले मृत्यु हुन्छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रदेश २ र वाग्मतीका दुई/दुई र बाँकी प्रदेशका एक–एक अस्पताल गरी ९ ठाउँमा इम्युनोग्लोबुलिन सुई निःशुल्क उपलब्ध हुने बताए । जसअनुसार प्रदेश १ मा कोसी अस्पताल विराटनगर, प्रदेश २ मा जनकपुर अस्पताल धनुषा, नारायणी अस्पताल वीरगन्ज, वाग्मती प्रदेशमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र भरतपुर अस्पताल चितवन, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा बुटवलस्थित लुम्बिनी अस्पताल, कर्णालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निःशुल्क इम्युनोग्लोबुलिन सेवा उपलब्ध हुनेछ ।

सन् २०३० सम्ममा कुकुरको टोकाइले हुने रेबिजबाट हुने मृत्युलाई शून्यमा पुर्‍याउने सरकारको लक्ष्यअनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को नियमित कार्यक्रमअन्तर्गत खोप सेवालाई विस्तार गरिएको हो । रेबिजको जोखिम भएकालाई एन्टिरेबिज खोप र आवश्यक भएमा इम्युनोग्लोबुलिन दिनु अनिवार्य मानिन्छ । कुकुरलगायत जनावरले टोकेपछि पहिलो, तेस्रो र सातौं दिन एन्टिरेबिज सुई दिने गरिन्छ । घातक टोकाइ भएको अवस्थामा भने घाउको चारैतिर इम्युनोग्लोबिन सुई दिनुपर्ने हुन्छ ।

ईडीसीडीका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाका अनुसार इम्युनोग्लोबुलिनले शरीरलाई रेबिज संक्रमणविरुद्घ तुरुन्त प्रतिरोधक क्षमता विकास गर्न सघाउँछ । स्वास्थ्यकर्मीको परामर्शमा घाउ साबुनपानीले सफा गरेर समयमै एन्टिरेबिज खोपसँगै इम्युनोग्लोबुलिन सुई लगाए रेबिज संक्रमणबाट शतप्रतिशत बच्न सकिने उनको भनाइ छ । ‘जनावरको तेस्रो श्रेणीको (घातक) टोकाइमा शरीरको तौलअनुसार घाउको वरिपरि इम्युनोग्लोबुलिन लगाएर एन्टिरेबिज सुई लगाउनुपर्छ,’ उनले भने । ठूलो घाउ भएको, धेरै ठाउँमा टोकेको र रगत बगेको अवस्था तेस्रो श्रेणीको टोकाइमा पर्छ । जंगली जनावरको टोकाइलाई पनि तेस्रो श्रेणीमै राख्ने गरिएको छ । रेबिज फैलाउनमा कुकुर प्रमुख मानिए पनि यो संक्रमण बिरालो, चमेरो, बाँदर, खरायो, घोडा, बाख्रा, स्याल, फ्याउरो, गाई, न्याउरी मुसालगायत जंगली जनावरबाट समेत सर्ने गरेको छ ।

सरकारले निःशुल्क उपलब्ध गराउन लागेको खोप इक्वाइन रेबिज इम्युनोग्लोबुलिन हो । यो बजारमा सहजै पाइँदैन । बजारमा उपलब्ध ह्युमेन रेबिज इम्युनोग्लोबुलिन निकै महँगो पर्छ । टेकु अस्पतालका डा. शेरबहादुर पुनका अनुसार यो खोप शरीरको तौलअनुसार लगाइन्छ । ‘प्रत्येक एक किलोका लागि करिब एक हजार रुपैयाँ खर्च हुन्छ,’ पुनले भने । यस हिसाबले औसत ६० किलो तौल भएको व्यक्तिलाई इम्युनोग्लोबुलिन लगाउनुपरेमा ६० हजार रुपैयाँ पर्छ । विश्व स्वास्थ्य संगठनले इम्युनोग्लोबुलिनलाई अत्यावश्यक औषधिको सूचीमा राखेको छ । डा. पुनका अनुसार केही वर्षअघि रौतहटको चन्द्रनिगाहपुरनजिकै गरुडामा शौच गर्न गएका बेला ५०–६० जनालाई स्यालले टोक्दा समयमै इम्युनोग्लोबुलिन सुई लगाउन नपाउँदा ३ जनाले ज्यान गुमाउनुपरेको थियो । जनावरले टोकेका कारण एन्टिरेबिज सुई लगाउन टेकु अस्पतालमा दैनिक आउने १ सय ५० मध्ये ८ देखि १० जनालाई इम्युनोग्लोबुलिनसमेत लगाउनुपर्ने डा. पुन बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा बर्सेनि करिब ५० हजार जना रेबिजविरुद्घ खोप लगाउन स्वास्थ्य संस्थामा जानेमा गरेका छन् । त्यसमध्ये करिब सय जनालाई खोपको माध्यमले रेबिज हुने गरेको आकलन गरिएको छ । हाल मुलुकमा मानिसमा सरेको रेबिज भाइरसको ९९ प्रतिशत कारण कुकुरको टोकाइबाट हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार रेबिज संक्रमणका कारण बर्सेनि विश्वको १ सय ५० मुलुकमा ५९ हजार जनाले ज्यान गुमाउने गरेका छन् । जनावरको टोकाइमा पर्ने ४० प्रतिशत व्यक्ति १५ वर्षमुनिका बालबालिका छन् ।

प्रकाशित : मंसिर ५, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?