कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७५ जिल्लामा कांग्रेसको स्थानीय अधिवेशन सकियो, प्रदेश क्षेत्रीय अधिवेशन धमाधम

रसुवा र सर्लाहीमा उत्पन्न विवाद समाधान गर्न जिल्लाका नेताहरू काठमाडौंमा, निर्वाचन समितिसँग छलफल

काठमाडौँ — कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत ७५ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ । ती जिल्लामा वडा अधिवेशन सकिएर गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको नेतृत्व चयन भएको हो ।

७५ जिल्लामा कांग्रेसको स्थानीय अधिवेशन सकियो, प्रदेश क्षेत्रीय अधिवेशन धमाधम

‘अहिलेसम्म ७५ जिल्लामा स्थानीय तहको अधिवेशन सकिएको छ, अब ती सबैले प्रदेशसभा क्षेत्रीय कार्यसमितिको अधिवेशन गर्दैछन् । पहिल्यै पालिका अधिवेशन सकिएका ४८ जिल्लामा त शुक्रबारदेखि धमाधम नेतृत्व चयन भइरहेको छ,’ केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले भने । उनका अनुसार रसुवा र सर्लाहीमा भने क्रियाशील सदस्यताकै विवादका कारण अधिवेशन रोकिएका छन् । रसुवामा वडा अधिवेशन पूरा भएपनि पालिका तहको अधिवेशन सम्पन्न हुन पाएको छैन । ‘रसुवामा वडा अधिवेशन भइसकेको छ, तर पालिका अधिवेशन सम्पन्न नहुदै निर्वाचत अधिकृतले राजीनामा दिए,’ सचिव श्रेष्ठले भने, ‘सर्लाहीमा त वडा अधिवेशन नै हुन सकेको छैन ।’

अधिवेशन रोकिएपछि सर्लाही र रसुवाका जिल्ला सभापतिसहित नेताहरू काठमाडौं आइपुगेका छन् । जिल्लाको विवादका विषयमा नेताहरूसँग छलफल गरेर विवाद समाधान गरी अधिवेशन अघि बढाउने तयारी रहेको सचिव श्रेष्ठले बताए । ‘अब समय छैन । ६ मंसिरमा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ, त्यहीअनुसार हामीले बाँकी रहेका जिल्लाको अधिवेशनलाई पनि शीघ्र समाधान गरी अधिवेशन गराउने प्रयत्न गरिरहेका छौं,’ उनले भने । अहिले महाधिवेशनको व्यवस्थापनका लागि दैनिकजसो बैठक र छलफल भइरहेका छन् । महाधिवेशनको व्यवस्थापनका लागि गठित समितिहरूले समेत तयारी अघि बढाएका छन् ।

कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशन गर्ने कार्यतालिका छ । त्यसअघि अब १६५ वटा प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला र ७ वटै प्रदेशको अधिवेशन भइसक्नुपर्छ । ‘महाधिवेशनका लागि धेरै समय छैन । त्यसैले सहज रुपमा अधिवेशन गर्न नसक्ने जिल्लाहरू छोडेर भएपनि हामी अधिवेशनको प्रक्रियालाई अघि बढाउँछौं,’ निर्वाचन समितिका एक पदाधिकारीले भने ।

कांग्रेसले १४ हिमाली जिल्लामा भने अधिवेशन पूरा गरिसकेको छ । समितिका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रपलाञ्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, पूर्वी नवलपुरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरलगायत जिल्लामा शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरू भएको छ । यी जिल्लामा ५ गतेभित्र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि ६ गतेबाट प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुनेछन् ।

निर्वाचन समितिले यी जिल्लाहरूमा ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने मिति तोकेको छ । त्यस्तै, दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ ।

प्रकाशित : मंसिर ४, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?