२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतद्वारा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको सहयोगमा गोरखा र नुवाकोट जिल्लामा भूकम्पपछि ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी ढाँचाका घर पुनर्निर्माण भएको बताए ।

भारतद्वारा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण

दुई जिल्लामा भारतको सहयोगमार्फत निर्मित ५० हजार घरहरूको निर्माण सम्पन्न समारोह तथा परियोजनाबाट सिकेका पाठ–अनुभवबारे सोमबार कार्यक्रम आयोजना गरिएको थियो । ज्ञवालीले भूकम्पपछिको निर्माणमा भारतले गरेको सहयोगको लागि धन्यवाद दिए ।

भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडीपी र यूएनओपीएससँग सहकार्य गर्दै कार्यक्रम आयोजना गरेको थियो । जसमा भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी. खम्पा, प्राधिकरणका सीईओ ज्ञवाली, गोरखाको पालुङटार नगरप्रमुख दीपकबाबु कँडेल, नुवाकोटको विदुर नगर उपप्रमुख गीताकुमारी दाहाल,, एनडीआरआरएमएका प्रतिनिधि, नेपाल सरकारका विविध निकाय, यूएनडीपी, यूएनओपीएस, ईयू, यूएसएआईडी, विश्व बैंक, एसियाली विकास बैंक, जाइका, एफएनसीडीओका प्रतिनिधिसँगै सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा खम्पाले भारत सरकारले प्रतिबद्घता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनर्निर्माणको काम नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्घतिअनुसार सम्पन्न भएको प्रस्ट पारिन् । गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावितलाई सघाउन सन् २०१८ मार्चमा भारतले यूएनडीपी र यूएनओपीएसलाई यस परियोजनामा संलग्न गराएको थियो ।

करिब १२ अर्ब (एक सय मिलियन डलर) अनुदान र चौथो लाइन अफ क्रेडिटअन्तर्गतको ६ अर्ब (५० मिलियन डलर) सहित ५० हजार घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १८ अर्ब (१५० मिलियन डलर)सहयोगको प्रतिबद्घता जनाएको थियो ।

२०७२ सालको भूकम्पबाट प्रभावित नेपालका कुल ११ जिल्लामा ७१ वटा शिक्षाको क्षेत्रसँग सम्बन्धित परियोजना, १ सय ३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनर्स्थापना/प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको भारतीय दूतावासले जनाएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?