कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गण्डकीका मुख्यमन्त्रीका काम : शिलान्यास, उद्घाटन र भेटघाट

जनअपेक्षाविपरीत झिनामसिना कार्यक्रममै रूमलिए, नियुक्तिको ५ महिनासम्म पनि दिएनन् ठोस कार्यक्रम 
प्रतीक्षा काफ्ले

कास्की — दसैं, तिहार, छठ, नेपाल संवत्लगायतका ठूला चाडपर्वमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई शुभकामना दिन भ्याइनभ्याई रह्यो । विभिन्न संघसंस्था, पार्टी कार्यालय, पार्टीका भ्रातृ संगठनमा पुग्न र शुभकामना दिनमै उनी व्यस्त देखिए ।

गण्डकीका मुख्यमन्त्रीका काम : शिलान्यास, उद्घाटन र भेटघाट

पछिल्लो समय मुख्यमन्त्री प्रदेश राजधानी पोखरादेखि गृहजिल्ला तनहुँ र बसोबास गर्दै आएको जिल्ला नवलपुर दौडधुपमा बढी छन् ।

तिहार मनाएर पोखरा फर्किएका मुख्यमन्त्री भोलिपल्टै कार्यालय पुगे पनि पूरा दिन भेटघाटमै बिताए । निवासमै पनि उनी प्रायः भेटघाटमा व्यस्त देखिन्छन् । भेटघाट सकिएपछि मात्रै कार्यालय पुग्ने उनी मन्त्री, सचिव, कर्मचारी र अन्य बाहिरी व्यक्तिसँगै फेरि अर्को भेटघाटमा देखिन्छन् । मुख्यमन्त्री गत मंगलबार कास्कीको रुपा गाउँपालिकामा रहेको कुमाल बस्तीको संस्कृति हेर्न पुगेका थिए । त्यही दिन मंगला माविको अनुगमन, लमजुङको मध्येनपाल नगरपालिका दुईपिप्लेमा रहेको सामुदायिक भवनको उद्घाटन, तनहुँमा १ सय ८ फिट अग्लो व्यास ऋषिको सालिक शिलान्यास, मोडल भेटनरी अस्पतालको शिलान्यास, दमौली अस्पतालमा गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्रको भवनको शिलान्यास कार्यक्रममै व्यस्त रहे । तनहुँ हुँदै उनी उक्त दिन नवलपुर बास बस्न पुगे ।

नवलपुर पुगेपछि बुधबार मुख्यमन्त्रीले जिल्ला अस्पतालअन्तर्गत क्षयरोग रिफरल सेन्टरको उद्घाटन गरे । कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ८ औं वार्षिकोत्सवको उद्घाटन, अर्को खानेपानी ट्यांकीको शिलान्यास गर्दै मध्यबिन्दु–४ फनौतीमा रहेको नारायणी स्वास्थ्य चौकीको उद्घाटनमा पुगे । जिल्लाकै पुरानो कुमारवर्ती क्याम्पसको अवलोकन गरेपछि उनी कांग्रेस कार्यकर्तासँग भेटघाट गर्दै छुट्टाछुट्टै तीनवटा शोकसभामा पुगेका थिए । बिहीबार शिक्षा सेवा समाजको साधारणसभाको उद्घाटन गरे । त्यस दिन पूरै देवचुली नगरपालिका–१५ ले राखेको शुभकामना आदानप्रदान कार्यक्रममा उनी व्यस्त रहे । शुक्रबार उनी दिदीसँग टीका लगाउन काठमाडौं पुगेका थिए । मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले मुख्यमन्त्रीका कार्यक्रमको तालिका बढी व्यस्त रहेको बताए । उनका अनुसार बुधबार मुख्यमन्त्रीको हेम्जास्थित ‘मान्छे कहिलै बोक्सी हुँदैन’ नामक संस्थाको अधिवेशन उद्घाटन, बिहीबार देवघाटको एक स्कुलको वार्षिकोत्सव र शुक्रबार संघीय अर्थमन्त्रीसँगको भेटघाटमा व्यस्त रहे । शनिबार लमजुङको अवलोकन कार्यक्रम तय भएको उनले बताए ।

नजिकिँदै गरेका स्थानीय, प्रदेश र संघीय तीनै तहका चुनाव लक्षित प्रचारप्रसारमा पनि मुख्यमन्त्री उत्तिकै व्यस्त छन् । ‘मुख्यमन्त्री पछिल्लो समय कास्की, तनहुँ र नवलपुर बढी केन्द्रित हुनुहुन्छ,’ स्वकीय सचिव रञ्जना पोखरेल भन्छिन्, ‘पार्टीको चुनाव पनि लागेको छ । कार्यक्रम बढी भएकाले भ्याइनभ्याई छ ।’ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको ५ महिनासम्म मुख्यमन्त्रीले कुनै ठोस कार्यक्रम ल्याउन नसकेको एक प्रदेश सांसद बताउँछन् । उनी सानातिना कार्यक्रममा नै रुमलिएको सत्तापक्षकै सांसदले बताए । कांग्रेसकै सांसद पनि उनीप्रति असन्तुष्ट रहेको ती सांसदको भनाइ छ । । ‘हामी कष्टकर अवस्थामा सरकारमा आएका थियौं । जनताका अपेक्षा हामीसँग धेरै थिए,’ उनले भने, ‘तर, सोचेअनुरूप काम हुन सकेन ।’ उनले वडाध्यक्षले गर्ने सानातिना कार्यक्रममा मुख्यमन्त्री नै सहभागी हुने, शिलन्यास र उद्घाटनमै रमाउने भएकाले नयाँ ठोस कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । भने, ‘पुरानै सरकारका कार्यक्रमलाई निरन्तरता दिएर के गर्व गर्नु !’

मुख्यमन्त्रीका निजी सचिव विष्णुप्रसाद भुसालले पनि भेटघाटका कार्यक्रम छोट्याउनुपर्ने बताए । मुख्यमन्त्री बिहान ७ देखि साढे १० बजेसम्म निवासमै भेटघाटमा व्यस्त हुने स्वकीय सचिव पोखरेल बताउँछिन् । मुख्यमन्त्री सधैं ११ बजे कार्यालय पुग्छन् । ११ बजेबाट २ बजेसम्म औपचारिक भेटघाट र २ बजेपछि अन्य भेटघाटमा व्यस्त हुने उनको भनाइ छ । निजी सचिव भुसालका अनुसार मुख्यमन्त्री मन्त्रालय, ठूला आयोजना, विपत्को अनुगमनमा पनि जाने गर्छन् । ‘मुख्यमन्त्रीको बढी भेटघाट, कार्यक्रमको उद्घाटन र शिलान्यासमै समय बितेको छ,’ भुसालले भने, ‘यो तालिका व्यवस्थित गर्नुपर्नेछ । मुख्यमन्त्री हुँदा सुरुसुरुमा बधाई र शुभकामना दिन पार्टीका नेता र कार्यकर्तासँगै समय बित्यो । पछिल्लोपटक नागरिकसँगको भेटघाट बढी भयो ।’ मुख्यमन्त्री भएपछि नेपालीले विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम, कोरोनाबाट टुहुरा बालबालिकालाई मासिक ५ हजार भत्ता, नवलपुरमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेलमैदान, ४ वटा जिल्लामा ट्रमा सेन्टर र पाठेघर र स्तन क्यान्सरपीडित महिलालाई निःशुल्क उपचारको व्यवस्था सरकारले नै गर्ने निर्णय गरेका थिए ।

नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भए पनि ती कार्यक्रम कार्यान्वयन नभएको सचिवालयले जनाएको छ । यी सबै कार्यक्रमको कार्यविधि बन्ने क्रममा रहेकाले कार्यान्वयन नभएको भुसालले बताए । ‘कसरी कार्यान्वयन गर्ने भन्ने पनि छैन,’ उनले भने, ‘कार्यविधि बनेपछि ती कार्यक्रमलाई जनतासमक्ष के–कसरी लैजाने भन्ने प्रस्ट हुन्छ ।’ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रामशरण बस्नेतले गठबन्धनको सरकारले आफ्नै पालाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए । ‘यो सरकारसँग कुनै क्षमता छैन,’ उनले भने, ‘जनताको आवश्यकता, समस्या थाहा भए पो नयाँ कार्यक्रम ल्याउने हो ।’ उनले शिलान्यास र उद्घाटमै मुख्यमन्त्रीले समय खर्चिंदा प्रदेशले दिनदिनै घाटा मात्र व्यहोर्नुपरेको बताए । ‘प्रदेशको आर्थिक अवस्था कसरी वृद्धि गर्ने भन्नेमा खै सरकारको चासो ?,’ उनले प्रश्न गरे, ‘सरकार यत्तिकै रुमलिएर बस्न मिल्छ ?’

मुख्यमन्त्री नेपालीले बजेट कार्यान्वयनलाई बढी जोड दिइएको बताए । ‘अघिल्लो सरकारको कार्यक्रमबाहेक जनताको पक्षमा केही कार्यक्रम ल्याएको छु,’ उनले भने, ‘यसलाई कसरी कार्यान्वयन गर्ने भनेर छलफलमै लागेको छु । नीति, कार्यक्रमलाई कार्यान्वयन गर्न सबै मन्त्रालयसँग छलफल गर्दै निर्देशन दिने काम भएको छ । काम, कारबाहीको अनुगमन गरेको छु ।’ उनले कार्यक्रमका कार्यविधि बनाएर प्रक्रियामा जाने तयारी भएको बताए । मानवमुक्त सडक बनाउने, ज्येष्ठ नागरिकलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउनेजस्ता कार्यक्रम पनि तय गरेको उनले बताए । कार्य सम्पादनमा असर नपुग्ने गरी कार्यक्रममा सहभागी हुने गरेको मुख्यमन्त्रीले बताए ।

प्रकाशित : कार्तिक २८, २०७८ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?