कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सर्वोच्चको समस्यमा छिट्टै टुंगिन्छ : मन्त्री बडू

कान्तिपुर संवाददाता

काभ्रे — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सर्वोच्च अदालतमा देखिएका समस्या छिट्टै टुंगिने बताएका छन् । शनिबार काभ्रेको बेथानचोक–३ को वडा कार्यालय तथा आधारभूत स्वास्थ्य चौकी भवन उद्घाटनका क्रममा मन्त्री बडूले बार र बेन्चबीच सद्भाव बढ्नुपर्ने तर्क गरे ।

सर्वोच्चको समस्यमा छिट्टै टुंगिन्छ : मन्त्री बडू

‘सर्वोच्च अदालतभित्र केही समस्या देखिएको छ, कानुनसम्मत न्याय दिने काम न्यायालयहरूकै हो,’ उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार न्यायपालिका स्वतन्त्र छ, त्यसको समस्याको समाधान न्यायपालिकाभित्र स्वयं र स्वतन्त्र ढंगले उहाँहरूले गर्नुपर्छ भन्ने हाम्रो विचार छ ।’ बार र बेन्चबीचको विवाद छिटो टुंगिने मन्त्री बडूको विश्वास छ ।

प्रमुख प्रतिपक्षी दल एमाले अझै पनि संसद्प्रति इमानदार नभएको भन्दै उनले सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘प्रमुख प्रतिपक्षी दल अझै इमानदार भएको लागेको छैन, संसद् नियमित सञ्चालन नहुँदा विधेयक फिर्ता लिएर अध्यादेशका रूपमा लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘अध्यादेशका रूपमा समेत संघीय कानुन नबन्दा प्रदेश र स्थानीय तहका कानुन बनेका छैनन् ।’ न्याय क्षेत्रमा अझै संघीयताको महसुस नभएको भन्दै उनले न्यायसम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउन सरकार लागेको बताए ।

जिल्ला समन्वय समिति र बेथानचोक गाउँपालिकाको आर्थिक सहयोगमा ७८ लाखको लागतमा वडा कार्यालय भवन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ३९ लाखको लागतमा स्वास्थ्य चौकी भवन बनेको वडाध्यक्ष दिलबहादुर श्रेष्ठले जनाए । कार्यक्रममा जग्गादाता रामप्रसाद तिमिल्सिना, फत्तकुमारी तिमल्सिनालगायत सहयोगीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : कार्तिक २७, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?