१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कहिले संसद्‍बाट त कहिले न्यायालयबाट व्यवस्था उल्ट्याउने षड्यन्त्र हुँदैछ : दाहाल

शाहीमान राई

भोजपुर — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्रका विरोधी तथा प्रतिगामी शक्तिको षड्यन्त्र भइरहेको बताएका छन् ।

कहिले संसद्‍बाट त कहिले न्यायालयबाट व्यवस्था उल्ट्याउने षड्यन्त्र हुँदैछ : दाहाल

भोजपुर सदरमुकामस्थित नेकपा माओवादी केन्द्रको पार्टी अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिने क्रममा शुक्रबार दाहालले यस्तो बताएका हुन् । राजावादी, ओलीवादी, विदेशी दलाल लगायत संविधान विरोधी शक्तिले कार्यपालिका, व्यावस्थापिका र न्यायपालिकामार्फत् वर्तमान राजनीतिक व्यावस्था उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरेको उनले बताए ।

नेता दाहालले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र विरोधी तथा प्रतिगामी तत्वले राजनीतिक व्यवस्था उल्ट्याउन कोसिस गरे पनि जनताको चेतना र राजनीतिक नेतृत्वको विवेकका कारण उनीहरू सफल हुन नसकेको बताए । उनले प्रतिगामी षड्यन्त्रमा नेकपा एमालेका नेता केपी शर्मा ओली, राजावादी र विदेशी शक्तिहरू संलग्न रहेको आरोप लगाए ।

‘उनीहरू कहिले व्यवस्थापिकामार्फत् कहिले कार्यपालिका त कहिले न्यायालयमार्फत् व्यावस्था उल्टाउन कोसिस गर्दैछन्,’ दाहालले भने, ‘तर पनि जनताको चेतना र राजनीतिक नेतृत्वको विवेकका कारण व्यवस्था उल्ट्याउन सकेका छैनन्, उल्ट्याउन सक्दैनन् तर संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र माओवादी नरुचाउनेहरू प्रतिगामी तत्वको षड्यन्त्र भइरहन्छ ।’

यस्तै उनले नेपालमा राजनीतिक स्थायित्व कायम गर्न आफूले कम्युनिस्ट शक्तिको एकता गरे पनि केपी ओली प्रवृत्तिका कारण सफल हुन नसकेको बताए । उनले भनेका छन्, ‘एमाले र माओवादीलाई मिलाएर नेकपा निर्माण गर्ने प्रयत्न केपी ओलीले गरेका थिएनन्, मेरै नेतृत्वमा नेकपा बनेपछि झण्डै दुईतिहाइ मत प्राप्त गरी संसद्‍को ठूलो शक्तिशाली पार्टी बन्न सफल भएको थियो । तर केपी ओलीको निरंकुश, अधिनायकवादी, एकाधिकारवादी, तानाशाही चरित्र, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, संविधान विरोधी कदमका कारण संसद्‍ विघटन भएपछि कम्युनिस्ट एकता प्रक्रियामा गतिरोध आएको छ ।’

दाहालले केपी ओलीको अहंकारी प्रवृतिकै कारण नेकपा विभाजन भई संविधान, लोकतन्त्र र गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति पाँचदलीय गठबन्धन बनेको बताए । साथै यो गठबन्धन निर्वाचनसम्मै जानेमा उनले विश्वास व्यक्त गरेका थिए । यो गठबन्धनमा सैद्धान्तिक सहमति भइसकेको र आवश्यक परे निर्वाचनपछि सम्म कायम रहने दाबी गरे ।

प्रकाशित : कार्तिक २६, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?