कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनगणनाको मुख्य प्रश्नमै त्रुटि

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनगणनाको ‘मुख्य प्रश्नावली’ को व्यक्तिगत खण्डमा सोधिने पुर्खाको भाषा र मातृभाषा खण्डमा त्रुटि फेला परेको छ । जनगणना–२०६८ अनुसार मुलुकभर १ सय २३ भाषा छन् ।

जनगणनाको मुख्य प्रश्नमै त्रुटि

ती भाषालाई कोड नम्बरका आधारमा पहिचान गरिएका छन् । कोड नं. ४३ मा ‘वाम्बुले’ भाषा रहेको छ । तर जनगणना–२०७८ का निम्ति तयार गरिएको उक्त कोडमा ‘याम्बुले’ उल्लेख गरिएपछि अन्योल भएको छ ।

‘हामीले पुर्खाको भाषा र मातृभाषा वाम्बुले हो भनेर बताउँदा गणकले त्यो छैन भन्यो,’ काठमाडौंको टोखा नगरपालिकाको धापासीबाट आफ्नो गणना गराएका चितन वाम्बुले राईले भने, ‘उसले कि याम्बुले लेख नत्र अन्यमा लेख्ने भनेपछि अन्योलमा पर्‍यौं ।’ विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रश्नावलीमा त्रुटि भएको स्विकार्दै त्यसलाई सच्याउन सम्भव नभएको बताए । ‘लाखौं थान प्रश्नावली छापिएर जनगणना हुँदै छ,’ प्रवक्तासमेत रहेका लामिछानेले भने, ‘तत्काल त्रुटि सच्याउन सम्भव छैन । त्यसैले सम्बन्धित भाषिक समुदायले अहिले कोड नं. ४३ मा उल्लेख ‘याम्बुले’ नै टिपाउनुहोस् । डाटा प्रविष्टिका बेला त्यसलाई सच्याइनेछ ।’ राई जातिअन्तर्गत २६ वटा भाषा छन् । वाम्बुले भाषा ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरी, काठमाडौं, ललितपुरलगायत जिल्लामा बोलिन्छ ।

पछिल्लो तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० जना रहेको छ । राष्ट्रिय जनगणना २०७८ बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा परिवारले विवरण टिपाएर जनगणना सुरु भएको हो । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीसँग प्रश्नावली सोधेर ट्याब्लेटमा अंकित गरेका थिए । त्यसअघि योजना आयोगका सदस्य रामकुमार फुयाँल र सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे संक्षिप्त चर्चा गरे । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा परिवार र उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको छुट्टाछुट्टै तथ्यांक लिइएको थियो । प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली परिवारको पनि तथ्यांक लिइएको छ ।

‘महिला पनि घरमूली हुन्छन् भन्ने पहिलो दिनकै जनगणनाबाट देखिएको छ,’ निर्देशक लामिछानेले भने, ‘पूर्वप्रधानमन्त्री ओलीको परिवारमा राधिका शाक्य म्याडम घरमूली रहेर जनगणना लिइएको छ ।’ जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् ।

प्रकाशित : कार्तिक २६, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?