कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृहनगर तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको चियापान कार्यक्रममा बोल्दै पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी घोषणा

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिमा सदस्य रहेर काम गरेका पौडेलले ७७ वटै जिल्लामा सदस्यताको विवाद समाधान भएलगत्तै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । बुधबारमात्रै कांग्रेसले रौतहटको क्रियाशील सदस्यताको विवाद समाधान गरी सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।

कांग्रेसमा यसअघि गगन थापा र विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । नयाँ पुस्ताबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने पौडेल तेस्रो उम्मेदवार हुन् । उनी हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । पौडेल १३ औँ महाधिवेशनपछि नेता कृष्णप्रसाद सिटौलानिकट रहेर काम गर्दै आएका छन् । सिटौलाले बुधबारै आसन्न महाधिवेशनमा आफूले पनि टिमसहित प्रतिस्पर्धा गर्ने बताएका थिए ।

‘मैले विगतमा गर्दै आएका कामको मूल्यांकन भएकै छ । मैले पाएको भूमिकामा परिणाम दिने गरी कार्य गर्दै आएको छु । समस्याहरु पहिचान गरेर समाधान गर्ने सन्दर्भमा नै हामीले जिम्मेवारी लिने हो । कांग्रेसभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्न, संगठनलाई सबल र सशक्तीकरण गर्नका निम्ति प्रभावकारी कार्य गर्ने नेतृत्व अब चुन्नुपर्नेछ,’ कार्यक्रममा बोल्दै पौडेलले भनेका छन्, ‘आसन्न महाधिवेशनमा म कांग्रेसको महामन्त्रीमा उठ्दैछु । तपाईंहरुकै गाउँ/ठाउँको, तपाईंको छोरा, भाइ, साथी कांग्रेसको महामन्त्रीमा उठ्दैछ । तपाईंहरु सबैको सहयोग र सद्भावको अपेक्षा गरेको छु ।’

नेता पौडेलले आसन्न महाधिवेशनले सबै जातजाति, क्षेत्र, वर्ग र समुदायलाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिमा एजेन्डा प्रस्तुत गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए । ‘यो महाधिवेशनले नयाँ नेतृत्व त चयन गर्छ नै, त्यससँगै राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने गरी पार्टीको विचार पनि निर्माण गर्नुपर्नेछ,’ उनले भनेका छन् ।

पौडेलले आफुले २१ औँ शताब्दी सुहाउँदो संगठन बनाउन पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताए । ‘पार्टी संगठनभित्र देखिएका अराजकता र विधिविपरीत हुने कार्यको अन्त्य गर्नुपर्नेछ । पार्टी संगठन बलियो भएमात्र निर्वाचन जित्न सकिन्छ । विधि र व्यवस्थामा पार्टी चल्यो भने संगठन बलिया हुन्छ,’ उनले भने, ‘त्यसैका लागि मेरो उम्मेदवारी हो ।’ पौडेलले महाधिवेशनले सबल नेतृत्व चयन गरेर संगठन सुदृढिकरण गर्न सकेको अवस्थामा कांग्रेसले आगामी निर्वाचनबाट सजिलै बहुमत प्राप्त गर्ने दाबी गरे ।

पौडेलले १३ औँ महाधिवेशनमा खुलातर्फ छैटौँ नम्बरमा केन्द्रीय सदस्य जितेका थिए । यसबेला उनले एक हजार सात सय नौ महत पाएका थिए । १२ औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्यमा पराजित भए । उनलाई तत्कालिन सभापति सुशील कोइरालाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

पार्टीभित्र युवा र विद्यार्थीमाझ लोकप्रिय नेता पौडेलले अमृत साइन्स क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । उनी स्ववियू सभापति समेत भए । नेविसंघमा केन्द्रीय सदस्य, उपसभापति हुदै केन्द्रीय अध्यक्षसमेत बने । तनहँ–२ (क) बाट ०७४ को प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेल नेकपाकी उम्मेदवार आशा कोइरालासँग पाँच मतले पराजित भएका थिए ।

प्रकाशित : कार्तिक २५, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?