कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

छठ पर्व अन्तर्गत आज ‘खरना’   

शंकर आचार्य

पर्सा — सोमबार ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छठ व्रतालुहरुले मंगलबार ‘खरना’ विधि गर्दै छन् । ‘रस्याउ रोटी’ समेत भनिने यो विधिमा व्रतालुहरुले मंगलबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खानेछन् । 

छठ पर्व अन्तर्गत आज ‘खरना’   

रस्याउ रोटीलाई प्रसादको रुपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत खुवाइन्छ । छिमेकीलाई अग्रिम निम्तो दिने चलन छ । रस्याउ रोटी खाने निम्तालुले दिन भरी मासुमाछा जस्ता तामसिक भोजन नगरी शुद्ध शाकाहारी बसेका हुन्छन् ।

व्रतालुहरुले मंगलबार साँझ रस्याउ रोटी आएपछि बुधबार दिनभरी निर्जल निराहार व्रत लिएर साँझ अस्ताउँदै सूर्य र बिहीबार बिहान उदाउँदो सूर्यको उपासना पछि प्रसाद खाएर मात्र व्रत तोड्ने छन् । बुधबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँनयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्रीहरु राखिएको बासको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ । विशेष गरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पुरा गर्दछन् ।

छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानिघाट, नगवा, मूर्ली आदिका घाटहरु सिंगारेर बेहुली झैं सिंगारिएका छन् । जिल्लाको ग्रामिण भेकका पनि सबै जसो गाउँमा छठ घाटहरु तयार पारिएका छन् । वीरगन्ज त्यसमा पनि घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले वर्षेनी राष्ट्रव्यापी चर्चा पाउने गरेको छ ।

प्रकाशित : कार्तिक २३, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?