कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

त्रिवि दीक्षान्तको आकर्षण घट्दै

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या बर्सेनि घट्दो छ । आगामी पुसमा हुने दीक्षान्तमा २९ हजार ७ सय ४९ जना विद्यार्थी सहभागी हुन पाउनेछन् ।

त्रिवि दीक्षान्तको आकर्षण घट्दै

यो संख्या पोहोरका तुलनामा आधा हो । गत वर्ष ५६ हजार ७ सय ३ जना विद्यार्थी ग्रेसलिस्टमा परेका थिए । त्रिवि सभाले यसपटकका लागि ५९ औं ग्रेस लिस्ट पारित गर्दै समारोहमा सहभागी हुन योग्य विद्यार्थीहरूको संख्या निश्चित गरेको हो । सूचीमा परेकाले त्रिविको ४७ औं दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन् ।

परीक्षा नियन्त्रण कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीलाई अनलाइनबाट फाराम भर्ने सुविधा दिँदै आएको छ । आगामी समारोहका लागि कात्तिक ५ सम्म अनलाइन फाराम भर्ने म्याद तोकेको छ । म्यादभित्र ४ हजार ५ सय जनाले अनलाइन फाराम भरेको नियन्त्रक जोशीले जनाएका छन् । गत वर्षको दीक्षान्त समारोहमा ६ हजार ९ सय ५९ जनाले फाराम भरेका थिए । तीमध्ये ८२ जनालाई मात्र प्रत्यक्ष कार्यक्रममा सहभागी गराइएका थिए ।

दीक्षान्त समारोहका सहभागी घट्नुको कारण कोरोना महामारी भएको त्रिवि पदाधिकारीको भनाइ छ । ‘गत वर्षझैं यो वर्ष पनि कोरोनाले उब्जाएको विषम परिस्थितिका कारण समयमा परीक्षा हुन नसक्दा र ट्रान्सक्रिप्ट लिन नसक्दा धेरै विद्यार्थीको नाम यो ग्रेस लिस्टमा परेको छैन,’ रजिस्ट्रार प्राध्यापक पेशल दाहालले त्रिवि सभामा ग्रेसलिस्ट प्रस्तुत गर्दै भनेका छन् ।

यो त्रिविको व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र र कानुन संकाय, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्साशास्त्र, कृषि तथा पशुविज्ञान र वनविज्ञान अध्ययन संस्थामा अध्ययन गरेका विद्यार्थीको आँकडा हो । २०७७ असारदेखि २०७८ जेठ मसान्तभित्र स्नातक, पीजीडीएस, स्नातकोत्तर, एमफिल र पीएचडीको परीक्षा उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीको हो । यसमा साधारण शिक्षातर्फ ८०.२२ प्रतिशत र प्राविधिक शिक्षातर्फ १९.७८ प्रतिशत छन् ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्ष लकडाउनका कारण परीक्षा समयमा नभएका कारण पनि नतिजा आउन ढिलाइ भएको र त्यसले पनि दीक्षित हुने विद्यार्थीको संख्या घटेको बताए । ‘हामीले रोकिएको परीक्षा साउनमा लियौं र त्यसको नतिजा प्रकाशन ढिलो भयो,’ नियन्त्रक जोशीले भने, ‘त्यसैले गर्दा यो वर्षको दीक्षान्तमा सहभागी संख्या घटेको हो । यो पटक सबैभन्दा कम देखियो । अर्को साल बढ्छ । त्यतिखेर एक लाखभन्दा बढी हुनेछन् ।’ शिक्षाविद्हरू भने दीक्षित हुनेको संख्या घट्दै जानुलाई युवापुस्तामा विश्वविद्यालयको प्रमाणपत्रले मात्र केही हुँदैन भन्ने धारणा विकास हुँदै जानुको परिणाम ठान्छन् । शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइमा त्रिविको आँकडाले तत्कालका निम्ति कोरोनाको कारण देखिए पनि उच्च शिक्षाप्रति युवापुस्ताको आकर्षण घटेको संकेत गर्छ ।

‘युवापुस्तामा उच्च शिक्षा पढेर सर्टिफिकेटले मात्रै के हुन्छ भन्ने गरी खाने शिक्षा आवश्यक रहेछ भन्ने महसुस गरेका छन्,’ प्राध्यापक कोइरालाले कान्तिपुरसित भने, ‘सकारात्मक कोणबाट हेर्ने हो भने विद्यार्थीले खोजको गरेर खाने सीपसहितको शिक्षा हो । अन्तर्राष्ट्रिय रूपमा बिक्ने ज्ञान सीपयुक्त उच्च शिक्षा आवश्यक छ । त्यसतर्फ विश्वविद्यालयको पदाधिकारीदेखि क्याम्पसका पदाधिकारीसम्मले मनन गर्नुपर्ने देखिन्छ ।’ विश्वविद्यालय शिक्षाप्रति विद्यार्थीमा नकारात्मक दृष्टिकोण पैदा हुनु दुःखद हुने उनले बताए ।

प्रकाशित : कार्तिक २३, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×