कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेतृत्वकै कारण पार्टीको अस्तित्व संकटमा : प्रकाशमान सिंह

राजकुमार कार्की

सिन्धुली — कांग्रेस नेता प्रकाशमान सिंहले गएको निर्वाचनमा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्वका कारण पहिलेभन्दा भोट घटेको बताएका छन् ।

नेतृत्वकै कारण पार्टीको अस्तित्व संकटमा : प्रकाशमान सिंह

'देउवाको नेतृत्व असक्षम भएकाले ०७४ सालको निर्वाचनमा पहिलेभन्दा भोट घट्यो,' उनले भने, ‘मतदाताले त ठाडै भोट दिन्न पो भन्ने अवस्था आएछ ।’ कांग्रेसलाई वर्तमान नेतृत्वले लथालिंग बनाएकाले विधि, पद्धति र प्रक्रियामा लगेर काम गर्नेलाई आगामी महाधिवेशनबाट चयन नगरे फेरि पनि भद्रगोल अवस्था हुने उनले जिकिर गरे । अब यो वा त्यो नभनी राम्रोलाई चयन गर्नुपर्ने नेता सिंहको सुझाव थियो ।

नेता सिंहले तल्लो स्तरबाट काम गर्दै खारिएर आएको तथा जेलनेल भोगेकाले आगामी महाधिवेशनबाट सभापतिमा आफूलाई चयन गर्न पनि आग्रह गरेका थिए । साथै वर्तमान नेतृत्वकै कारण पार्टीको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको उनको आरोप थियो ।

‘नातागोता, लाइन भनेर भोट हाल्ने बेलामा महाधिवेशन प्रतिनिधिहरूले विवेक गुमाउँदा खराब व्यक्ति नेतृत्वमा पुग्ने भएकाले सचेत हुनुपर्छ । यो पटक त्यस्तो नहुनेमा म ढुक्क छु’ नेता सिंहले भने ।

सोमबार सिन्धुली कांग्रेसका सभापति उज्ज्वल बरालको आमाको शोकसभामा उपस्थित हुन रानीवासमा पुगेका नेता सिंहले महाधिवेशनको तिथि मिति तोकिएर पनि महाधिवेशन हुन नसक्दा बेथिति बढेको बताएका थिए । अब वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबाट कांग्रेसको नेतृत्व नहुने सिंहले जिकिर गरे ।

प्रकाशित : कार्तिक २२, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?