कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवा-मोदी भेटले विश्वासको वातावरण बन्ला ?

द्विपक्षीय भेटवार्ताले राजनीतिक र कूटनीतिक माध्यमबाट अघि बढ्ने संकेत 
जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार स्कटल्यान्डको ग्लास्गोमा गरेको द्विपक्षीय भेटवार्ताले नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक र कूटनीतिक माध्यमबाट अघि बढ्ने संकेत गरेको छ । भेटवार्ताका क्रममा आपसी सम्बन्ध बलियो बनाउन देउवा र मोदीले जनाएको प्रतिबद्धताले पनि सकारात्मक सन्देश दिएको कूटनीतिज्ञहरू बताउँछन् ।

देउवा-मोदी भेटले विश्वासको वातावरण बन्ला ?

सीमा विवाद, दार्चुलाको तुइन र हेलिकोप्टर उडान घटनालगायतका कारण नेपाल–भारत सम्बन्ध सौहार्द बन्न नसकिरहेकै बेला कोप–१६ को सन्दर्भ पारेर देउवा र मोदीले भेटवार्ता गरेका हुन् । देउवा सरकारको नेतृत्वमा आएपछि नेपाल र भारतका सरकार प्रमुखहरूबीच ग्लास्गोमा पहिलो पटक द्विपक्षीय भेटवार्ता भएको हो । दुवै मुलुकका सरकार प्रमुखले ग्लास्गोमा सहभागिता जनाउने भएपछि नेपालका तर्फबाट मोदीसँग भेटवार्ता गर्न पत्राचार गरिएको थियो, जसलाई मोदीले सहर्ष स्वीकार गरेका थिए ।

पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले दुई मुलुकका सरकार प्रमुखबीच भएको भेटवार्ताले कूटनीतिक माध्यमद्वारा संवाद गर्न विश्वासको वातावरण बनाउन सक्ने बताए । ‘भेटवार्ता हुनु सकारत्मक हो । यसले अन्तर्राष्ट्रिय सम्बन्धमा आत्मविश्वास र वातावरण निर्माण गर्छ,’ उनले भने, ‘यस्तो भेटवार्ता जति बढी भयो, एकअर्कालाई बढी बुझ्न र नजिक हुन सघाउँछ ।’ भेटवार्ता हुनासाथ सम्बन्ध सुधार भएको भनेर अथ्र्याउन भने नसकिने उनले बताए । ‘जतिसुकै नराम्रो भए पनि अन्तर्राष्ट्रिय फोरमहरूमा भेटवार्ता गर्दा सामान्य सौहार्दता देखिहाल्छ,’ उनले भने ।

ग्लास्गोमा करिब २० मिनेट लामो भेटवार्ता हुँदा देउवाले रेलमार्ग, पेट्रोलियम पाइपलाइन, भूकम्पपछिको पुननिर्माणलगायतका परियोजना, कोभिड–१९ महामारीविरुद्धको लडाइँमा सहयोग गरेकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले विगतमा जस्तै रासायनिक मल आपूर्तिमा भारतको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए । देउवाले महेन्द्रनगर, धनगढी, नेपालगन्ज र भैरहवा हुँदै थप हवाई उडान अनुमति दिन पनि भारत सरकारसँग आग्रह गरे । भारतका प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन आफ्नोतर्फबाट काम गर्ने उल्लेख गर्दै आवश्यकताअनुसार नेपाललाई सहयोग गर्ने आश्वासन दिएका थिए ।

देउवा र मोदीबीच मंगलबार द्विपक्षीय रूपमा भेटवार्ता हुनुअघि सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको रात्रिभोजमा जम्काभेट भएको थियो । उक्त जम्काभेटलाई पनि दुवै नेताहरूले प्राथमिकताका साथमा बाहिर ल्याएका थिए । ग्लास्गो भेटवार्ताले नयाँ नक्साका कारण बिग्रिएको सम्बन्ध, दार्चुलामा भएको तुइन घटनालगायतका द्विपक्षीय विषयमा कूटनीतिक संवाद गर्न बाटो खोल्ने अपेक्षा गरिएको छ । परराष्ट्र मामिला विज्ञ तथा देउवा चौथो पटक प्रधानमन्त्री रहँदा परराष्ट्र मामिला सल्लाहकारसमेत रहेका दिनेश भट्टराई दुई नेताबीच भेटवार्ता हुनु आफैंमा राम्रो रहेको बताए । ‘कुराकानी के भयो भन्ने आउँदै गर्लान् । तर भेट्नु आफैंमा सकारात्मक कुरा हो,’ उनले भने ।

देउवा र मोदीबीच चार वर्षपछि द्विपक्षीय भेटवार्ता भएको हो । चौथो पटक प्रधानमन्त्री भएका बेला देउवाले २०७४ भदौमा भारत भ्रमण गरेका थिए । त्यही बेला मोदीसँग दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको थियो । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतीय समकक्षीबाट बधाई आउने गरेकामा देउवा पाचौं पटक प्रधानमन्त्री हुदा भने एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएको दिन मात्र मोदीले फोन गरेर बधाई दिएका थिए ।

पार्टी नेतृत्वमा दोहोरिने आकांक्षा राखेका देउवाले भारतको सत्तारूढ भारतीय जनता पार्टीसँगै सम्बन्ध सुमधुर बनाउने प्रयास गरिरहेका छन् । देउवाले गत महिना पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय टोलीलाई भारत पठाएका थिए । उक्त भ्रमणको उद्देश्य पनि मोदीको साथ लिएर अघि बढ्न सहज वातावरण तयार गर्नु थियो । त्यसअघि उनले महतमार्फत भाजपाका विदेश विभागका प्रमुख विजय चौथाइवालेलाई निमन्त्रणा गरेर नेपाल भ्रमण गराएका थिए ।

दुई दक्षिण एसियाली छिमेकी मुलुकका सरकार प्रमुखहरूबीच यसअघि सन् २०१८ को मेमा भएको थियो । नेपालको धार्मिक भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले जनकपुरधाममा भेटवार्ता गरेका थिए । त्यसको अघिल्लो महिना अप्रिल ६ देखि ८ सम्म ओलीले भारतको राजकीय भ्रमण गरेका थिए । नयाँ राजनीतिक तथा प्रशासनिक नक्साले तिक्तता, कोभिड–१९ महामारीलगायतका कारण यसबीचमा उच्चस्तरीय भेटवार्ता हुन सकेको थिएन । कोरोना महामारीका बेला टेलिफोन संवाद र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भर्चुअल बैंठकमा भने दुई मुलुकका सरकार प्रमुखबीच कुराकानी भएको थियो ।

भारतले नेपाली भूमि समेटेर सन् २०१९ नोभेम्बरमा र नेपालले लिम्पियाधुरासम्मको भूभाग समेटेर त्यसको केही महिनापछि निकालेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साका कारण दुई मुलुकबीच सम्बन्ध बिग्रिएको थियो । नेपालले सन् २०१५ मा संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि बिग्रिएको सम्बन्ध सुधार उन्मुख रहेकै बेला सीमा विवादको कुरा उठेको थियो ।

नयाँ नक्सा प्रकाशनपछि दुई मुलुकबीच वार्ताको वातावरणसमेत बन्न सकेको थिएन । पछि भने नेपालमा परराष्ट्र सचिवस्तरीय संयन्त्र र त्यसपछि दिल्लीमा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो । ती बैठकले सम्बन्धमा उल्लेख्य सुधार गर्न सकेनन् । यही बीचमा मोदीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयललाई काठमाडौं पठाए । मोदीको रअद्वारा नेपाल सम्बन्धमा ‘इन्गेज’ हुने मोदीको नीतिलाई तत्कालीन प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका थिए ।

प्रकाशित : कार्तिक १८, २०७८ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?