कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

तिहारमा विद्युत् माग १५ सय मेगावाट पुग्छ, सजिलै व्यवस्थापन गर्छौं : कुलमान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले तिहारको समयमा विद्युत् माग व्यवस्थापन गर्न गाह्रो नहुने जनाएको छ । मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढ्ने तिहारको समयमा लोड व्यवस्थापन चुनौतीपूर्ण नहुने  बताएका हुन् ।

तिहारमा विद्युत् माग १५ सय मेगावाट पुग्छ, सजिलै व्यवस्थापन गर्छौं : कुलमान

‘अहिले हाम्रो पिक समय तिहारमा होइन । भदौमा १ हजार ६ सय २० मेगावाटसम्म पुगेको थियो । तर, तिहारमा १५ सय पुग्‍न सक्छ,’ उनले भने, ‘तिहारमा लोडसेडिङ हुन्छ कि भन्ने पनि हल्ला सुने । तर बत्ती काट्नुपर्ने कारण नै छैन । १५ सय मेगावट क्षमता त आन्तरिक उत्पादनले मात्रै धान्छ ।’ अहिले नेपालको जडित क्षमता २ हजार मेगावाट छ ।

यसवर्षको तिहारमा कुलेखानी चलाउनु नपर्ने पनि प्राधिकरणले जनाएको छ । लामो समयपछि यसवर्ष कुलेखानीमा भरिएर पानी खेर ग‍इरहेको छ । प्राधिकरणका अनुसार अहिले दिउँसो २ सय र रातिको समय ५ सय मेगावाटसम्म विद्युत खेर गइरहेको छ ।

सहरी क्षेत्रमा पूर्वसूचना बिनै पटक–पटक विद्युत् काटिने समस्या बढेको भने घिसिङले स्वीकारे । उनले भने, 'केही ठाउँमा पोल सार्ने काम हुँदा समस्या देखिएको छ । लामो समय बत्ती कटौती भएका ठाउँमा भने हामीले समयमा किन रेस्पोन्स भएन भनेर अध्ययन गरिरहेका छौं ।'

प्राधिकरणका अनुसार अहिले वितरण प्रणाली सुधारको कामलाई प्राथमिककतामा राखिएको छ । जसकारण तर अर्को वर्ष विद्युत खेर जाने अवस्था नरहने घिसिङले दाबी गरे । ‘वितरण प्राणालीमा व्यापक सुधार गर्दैछौं । हामीलाई स्मार्ट मिटर, ट्रान्फर्मर आदीको समस्या छ,’ उनले भने, ‘१ लाख पुरानो मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्दैछौं । ७ लाख मिटर टेण्डरको प्रक्रियामा छ । ३ हजारको संख्यामा ट्रान्स्फर्मर आउने क्रममा छ । यो तत्कालको व्यवस्थापन हो ।’

विद्युत क्षेत्रको समस्या दीर्घकालसम्म समाधानका मुख्य उपाय भने नेपालमै खपत बढाउनु रहेको उनले बताए । आन्तरिक खपत बढाउनका लागि प्राधिकरणले योजना बनाइरहेको र अब उद्योगहरुलाई १३२ केभीको लाइनबाट सिधै विद्युत् दिन लागिएको लागिएको प्राधिकरणले जनाएको छ ।

‘एक–डेढ वर्षभित्र १ हजार मेगावाटसम्म औद्योगिक क्षेत्रमा मात्र माग आउने अनुमान गरेका छौं । विद्युतीय सवारी साधनलाई प्रवर्द्धन र सिँचाइका लागि वितरण प्रणाली निर्माणको काम उच्च प्राथमिकतामा छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब लोडसेडिङ हुँदैन र चाहिएजति विद्युत पाउन सकिन्छ भन्ने विश्वास उद्योगीहरूमा बन्दै गएको छ । माग बढाउनका लागि सिँचाइ अर्को क्षेत्र हो । अब खेत खेतमा विद्युत पुर्‍याउँछौं ।’ चार्जिङ स्टेसन बनाउनका लागि कार्यविधि बनाउने तयारीमा प्राधिकरण रहेको पनि उनले बताए ।

प्रकाशित : कार्तिक १६, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×