२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त 

देवनारायण साह

विराटनगर — प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त 

प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीमा शपथ ग्रहणका लागि २ बजेको समय निर्धारण गरे पनि आफू भने ३ बजे जाने राईले बताए ।

प्रदेश १ का एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेको पत्र बुझाएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए । सरकार गठनका लागि आह्वान गरिएपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दाबी पेस गरेको पत्र बुझाएका थिए ।

राई मुख्यमन्त्रीमा नियुक्त भए पनि पाँच दलीय गठबन्धनलाई मन्त्री छान्न भने सकस भएको छ । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडानमा छन् ।

यता कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उप नेता हिमाल कार्कीलाई दिनुपर्ने अडानमा छन् । जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निश्चित भएको गठबन्धन दलका एक नेताले बताए ।

यस्तै, एकीकृत समाजवादीका प्रदेश सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालय दिने सम्भावना छ । लिम्बू प्रदेश १ मा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल निकट एक मात्र प्रदेश सांसद हुन् ।

को हुन् राई ?

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राई राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका हुन् । २०२७ असार १५ मा भोजपुरको साबिक किमलुङ गाविसको सुर्के र हालको षडानन्द नगरपालिका–१० मा जन्मिएका उनी गाउँकै विद्यालयबाट विद्यार्थी राजनीतिमा होमिएका थिए । अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिक जीवन सुरु गरेका उनले विद्यार्थी संगठनमा २० वर्षसम्म काम गरे । २०५५ सालमा उनी केन्द्रीय महासचिवमा निर्वाचित भए । राई रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सभापतिमा समेत निर्वाचित भए ।

पञ्चायती शासनविरुद्ध लागेका राई ७ महिना केन्द्रीय कारागारमा बसे । तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्धको आन्दोलनमा पनि उनी ४ महिना प्रहरी तालिम केन्द्रमा बन्दी भए । २०६० सालमा माओवादीले घरबाटै एक सातासम्म उनलाई अपहरण गरेको थियो । राईले काठमाडौं जिल्ला कमिटीबाट एमालेको पार्टी राजनीति सुरु गरेका हुन् ।

पार्टीको २०६८ मा सम्पन्न आठौं महाधिवेशनबाट पार्टी विभाजनसम्म केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए उनी । हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्यको भूमिकामा छन् । २०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुर १ (क) बाट जनप्रतिनिधिमा निर्वाचित भएका राई पाँच दलीय गठबन्धनको सहयोगमा मुख्यमन्त्री बन्दै छन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राई राजनीतिक सल्लाहकारको जिम्मेवारीमा थिए । राईका ‘विचारको खेती’ र ‘आयु’ नामक विद्यार्थी आन्दोलनसम्बन्धी दुई पुस्तक प्रकाशित छन् ।

प्रकाशित : कार्तिक १६, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?