कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला बेपत्ता घटनामा प्रमाण जुटाउँदै प्रहरी

मधु शाही

बाँके — बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटनामा छानबिन समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि आरोपित पक्राउ गर्न प्रहरीले प्रमाण संकलन गर्दैछ । अभियुक्तलाई प्रमाणसहित तिहारलगत्तै पक्राउ गर्ने योजना बनाइएको प्रहरीले जनाएको छ ।

निर्मला बेपत्ता घटनामा प्रमाण जुटाउँदै प्रहरी

नेपालगन्ज–१७ परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो । गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वको समितिले आइतबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको पुष्टि गरेको छ ।

२०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौं पर्ने जग्गा हिनामिना भएको थियो । २०७७ मा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अभियुक्तमध्ये बादशाहबाहेक अरू कोही पनि प्रहरीको सम्पर्कमा आएका छैनन् ।

मुद्दा दर्ता भएको एक वर्षसम्म प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थिएन । असार १३ मा कार्यवाहक सम्हालेलगत्तै एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुधन न्यौपानेले निर्मलाको उजुरीमा प्रारम्भिक अध्ययन सुरु गरेको हो । दोषीलाई पक्राउ गर्न यथेष्ट प्रमाण चाहिने हुँदा यसैको अध्ययनका लागि तीन महिना समय लागेको डीएसपी न्यौपानेले बताए ।

भदौ ३ मा अदालतबाट ८ जना अभियुक्तलाई पक्राउ गर्न आदेश दिइएको थियो । गत भदौ १० मा पूर्वसांसद कुर्मीमात्रै प्रहरीसमक्ष उपस्थित भएर बयान दिए । उनलाई हाल हाजिरी जमानीमा छोडिएको छ । अरू अभियुक्तलाई भने प्रहरीले बलियो प्रमाणसहित पक्राउ गर्ने बताएको छ । डीएसपी न्यौपानेका अनुसार बैंकिङ स्टेटमेन्टलगायत विषयमा अध्ययन भइरहेको छ । घटनाको प्रारम्भिक अनुसन्धान सकिएकाले तथ्यप्रमाणका आधारमा अभियुक्तलाई तुरुन्तै पक्राउ गर्ने उनले बताए । ‘तिहारलगत्तै हामी प्रमाणसहित समाउँछौं,’ उनले भने, ‘अनुसन्धानको केही गोप्य आधार भएकाले खुलाउन मिल्दैन ।’

पति महलु कुर्मीको २०६२ सालमा मृत्यु भएपछि निर्मला छोराहरूसँग बस्दै आएकी थिइन् । दुवै छोराको २०६६ मंसिरमा १० दिनको अन्तरालमा बिरामी परेर उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि निर्मलाका पति र छोराका नाममा भएको घरजग्गाको लालपुर्जा र नागरिकता पूर्वसभासद कुर्मीले जिम्मा लिएपछि उनीविरुद्ध चर्को धर्ना र विरोध भएको थियो । विरोधपछि उनले जिल्ला प्रशासनलाई सबै जग्गाको लालपुर्जा जिम्मा दिएका थिए । निर्मलाले आफूबाट विभिन्न समयमा ऋण लिएको देखाई उनले अदालतमा मुद्दा हाली नेपालगन्ज धम्बोजी बस्ने पार्वती बिष्टका नाममा जग्गा नामसारी गरेको देखिन्छ । २०६९ भदौ ६ मा जग्गा नामसारी गराएको र त्यसपछि बिष्टका नामबाट रत्ना थापाको नाममा सारिएको छ ।

जानकी गाउँपालिका–२ की मृतक नन्कुन्नीको घटनामा भने जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबी, रामकुमार धोबी, इतवारी धोबी र लक्षितराम धोबीउपर जाहेरी दिएको उल्लेख छ । जाहेरीपछि अनुसन्धान भएर अभियुक्तउपर बाँके जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र पेस गरिएको छ । गत भदौ १९ गतेको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा छन् । मुद्दा हाल विचाराधीन छ ।

प्रकाशित : कार्तिक १६, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?