कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
विवादमा प्रधानन्यायाधीश

जबराले राजीनामा ‘नगरे देशभर आन्दोलन’

न्यायालयको संकटलाई निकास दिन सक्रियतापूर्वक संलग्न हुनुपर्नेमा दलहरु पन्छिएको भन्दै आलोचना
जयसिंह महरा

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायपालिकालाई नेतृत्व गर्न अक्षम रहेको भन्दै नेपाल बार एसोसिएसन निरन्तर आन्दोलनमा छ । हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा विरोध जनाउने शुक्रबारको निर्णयअनुसार दुई दिनदेखि बार र सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायी आन्दोलनमा छन् ।

जबराले राजीनामा ‘नगरे देशभर आन्दोलन’

बुधबारसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बारले यसबीचमा प्रधानन्यायाधीशले राजीनामा नगरे मुलुकभरका नेपाल बारका इकाइमा पनि आन्दोलन विस्तार गर्ने जनाएको छ ।

‘प्रधानन्यायाधीशले राजीनामा गर्नुभएन भने देशव्यापी रूपमा बारहरूको आन्दोलन हुन्छ र हामी अगाडि बढ्छौं,’ बार अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले भने । राजीनामाभन्दा अर्को विकल्प प्रधानन्यायाधीशमा नरहेको उनको भनाइ थियो । नेपाल बारले ‘न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान, न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने ब्यानरसहित हातमा कालोपट्टी बाँधेर सर्वोच्च प्रांगणमा विरोध गरिरहेको छ । बिहान साढे १० देखि साढे ११ सम्म विरोध गरिरहेको बारले बुधबारसम्म निकास ननिस्किए थप आन्दोलनका कार्यक्रम ल्याउने बताएको हो ।

आन्दोलनमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता तथा पूर्वसभामुख दमननाथ ढुंगाना र कानुन व्यवसायी/राजनीतिज्ञ कमलप्रसाद कोइरालालगायतले निरन्तर साथ दिँदै आएका छन् । ९५ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले न्यायिक शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नआउन्जेलसम्म बारले आन्दोलन गर्नुपर्ने बताए । ‘जनतालाई न्याय दिन यो शुद्धीकरण अभियान हो,’ उनले भने । पूर्वसभामुख ढुंगानाले प्रधानन्यायाधीश जबराको व्यवहार आचारसंहितासम्मत नभएकाले राजीनामाको विकल्प नभएको बताए । व्यक्ति जबराविरुद्ध भन्दा पनि प्रधानन्यायाधीशको पदमा रहेका व्यक्तिको प्रवृत्तिविरुद्धको आन्दोलन भएको उनको भनाइ थियो ।

न्यायालय स्वतन्त्र, स्वच्छ, निर्भीक बनाउन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारका अध्यक्ष श्रेष्ठ बताउँछन् । यसबीचमा न्यायाधीशहरूको कदम र बारको आन्दोलनले प्रधानन्यायाधीश झुक्दै गएको संकेत मिलेको पनि उनले बताए । ‘राजीनामाका निम्ति हामीले अभियान चलाएका छौं । आज (सोमबार) बाट नै उहाँले बेन्च लिन छोड्नुभएको छ । यो पहिलो सुरुआत हो,’ उनले भने । पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीशका कदम र कार्यशैलीले दुःखद् दिन बेहोर्नुपरेको बताए । संविधान र देशको विश्वास प्रधानन्यायाधीशले कायम राख्न नसकेको उनको भनाइ थियो ।

‘सम्माननीयज्यूले ‘ग्रेसफुल’ बहिर्गमन भन्नुभएको छ । केही मान्छेलाई मण्डलतिर पठाएर, केहीलाई भाषण गर्न लगाएर, प्रधानन्यायाधीशजस्तो व्यक्तिले टेलिभिजनमा अन्तर्वार्ता दिएर मुद्दाको बचाउ गर्नु बहुत दुःखद् हो,’ कार्कीले आग्रह गरे, ‘सम्माननीयज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभएको छ । अब अदालतको सम्मान हुने गरी आफ्नैबारे फैसला गरेर स–सम्मान बिदा हुनुहोस् ।’

बारको सोमबारको विरोध प्रदर्शनपछि बोल्नेमध्येका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले भने राजनीतिक दलका नेताहरूप्रति आक्रोश पोखेका थिए । ‘सबैभन्दा दुःखलाग्दो कुरो राजनीतिक दलका नेताहरू बोल्न सकिरहेका छैनन् । त्यसको मूल्य उहाँहरूले चुकाउनुपर्ने हुन्छ,’ उनले भने, ‘एक नेताको अन्तर्वार्ता सुनेको थिएँ, उहाँले अदालतमा हस्तक्षेप गर्दैनौं भन्नुभयो । अदालतमा हस्तक्षेप नगर्ने भनेको त्यहाँको फैसलामा, नियुक्तिमा हस्तक्षेप नगर्ने हो । अदालतमा आगो लागेका बेला दमकल लिएर जानु हस्तक्षेप हुन्छ ?’ सर्वोच्च अदालतमा जारी विवाद समाधान गर्न सक्रियतापूर्वक संलग्न हुनुपर्नेमा राजनीतिक दलहरू पन्छिएको भन्दै खरेलले आलोचना गरे । ‘सहजतापूर्वक राजीनामा दिनु नै सम्मानजनक बहिर्गमन हो । प्रधानन्यायाधीशका लागि त्यो नै सर्वोत्तम उपाय हो,’ उनले भने ।

उच्च अदालत बार एसोसिएसन पाटनका अध्यक्ष रामचन्द्र सिम्खडाले प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले गरिरहेको विरोध कार्यक्रममा आफूहरूको पनि ऐक्यबद्धता रहेको बताए ।

प्रकाशित : कार्तिक १६, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×