१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाए । 

ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : दाहाल

माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाएका हुन् । उनले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाए ।

‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नु पर्ने हो, त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनु पर्छ, धर्म निरपेक्ष पनि ठीक छैन, समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाति, मधेशी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो,’दाहालले भने, ‘ओली प्रवृति भन्छौँ नि हामी गत सालदेखि, नयाँ खालको एउटा कम्युनिस्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीविरुद्ध लड्न बाध्य भइयो हामी, उनले सधैँ भन्थे ‘मलाई यो संघीय लोकतन्त्र पनि मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन’, अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ, मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु ।’

अध्यक्ष दाहालले आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको बताए । माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताए । उनले जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्ने बताए ।

अध्यक्ष दाहालले काठमाडौं उपत्यकाको मुख्य समस्या स्ववासीहरुले लालपूर्जा नपाएको रहेको बताउँदै त्यो समस्या समाधानका लागि माओवादी लागि पर्ने र सम्बन्धित मन्त्रालयलाई पनि खबर गरिएको बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई भेटेर स्ववासीलाई लालपूर्जा दिने काम तत्काल गर्न आग्रह गरेको उनले बताए ।

प्रकाशित : कार्तिक १५, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?