कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपा नेतालाई दाहालको प्रस्ताव- 'ढिला नगर्नुस्, पार्टी एकता गरौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग प्रस्ताव राखेका छन् । सर्लाहीमा शनिबार भएको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न दाहालले अपील गरेका हुन् ।

जसपा नेतालाई दाहालको प्रस्ताव- 'ढिला नगर्नुस्, पार्टी एकता गरौं'

'क्षेत्रीय पार्टीबाट मधेसी जनताको पनि मुक्ति हुन्न । पहाडीया जनताको पनि मुक्ति हुन्न । महासागर बनाऔं, गहिरिएर हेरौं । अलग-अलग पार्टी बनाउनै पर्दैन', दाहालले भने, 'महेन्द्रजी, उपेन्द्रजी सबैलाई हार्दिकतापूर्वक भन्छु, गठबन्धन त हामीले गरेकै छौं । अब एउटै पार्टी बनाऔं । सबाल सिद्धियो ।'

दाहालले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमी नहुने आश्वासन दिए । 'तपाईंहरुलाई चाहिने सम्मान । चाहिने अधिकार दिन हामी कन्जुस्याइँ गर्ने छैनौं,' दाहालले भने, 'तपाईंहरु ढिला नगर्नुस् । हामी सबै पार्टी एकता गरौं ।'

यादवद्वयले आफू र माओवादीलाई राम्रोसँग चिनेको दाबी गर्दै दाहालले जनकपुरमै एकता घोषणासभा राख्नसमेत अपिल गरे । 'मलाई उपेन्द्रजी र महिन्द्रजीले राम्रो चिन्नु हुन्छ कस्तो मान्छे हो भनेर । हाम्रो पार्टी कस्तो हो भनेर । नडराइकन पार्टी एउटै बनाऔं । सिद्धियो,' उनले थपे, 'म जनकपुर आउँछु । जनकपुरमा घोषणा गरौं । एउटा राम्रो सन्देश जान्छ । अर्को चुनावमा मधेसमा लहर आउँछ । हामीले सरकार बनाउँछौं । टेन्सन लिन किन पर्‍यो ?'

यसअघि मधेसी जनतालाई अन्य दलहरुले झुक्याइएको आरोप लगाउँदै दाहालले अब मधेसलाई माओवादीसँग जोड्न कुनै तागतले रोक्न नसक्ने बताए ।

प्रकाशित : कार्तिक १३, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?