२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

राजेन्द्र पाण्डे : शिक्षकदेखि मुख्यमन्त्रीसम्म

माओवादी, कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीका गरी कुल ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी
सुवास विडारी

मकवानपुर — नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । शाक्यको राजीनामालगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि बिहीबार ३ बजेभित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।

राजेन्द्र पाण्डे : शिक्षकदेखि मुख्यमन्त्रीसम्म

पाण्डेले माओवादी, कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीका गरी कुल ५९ सांसदको समर्थनसहित बुधबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

‘नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेसँगै हामीले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइसकेका छौं, बिहीबार दिउँसो ५ बजेभित्रमा नयाँ सरकारले शपथग्रहण गर्ने तयारी छ,’ नेता पाण्डेले भने । कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार गठबन्धन दलहरूबीच पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी छ । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस) का उपनेता कृष्ण खनालले शपथ लिने बुझिएको छ । ‘मुख्यमन्त्रीसहित पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्छौं, तिहारलगत्तै हामी विश्वासको मत लिन्छौं र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं,’ पाण्डेले भने । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस) ले सामाजिक विकास मन्त्रालय लिनेछन् ।

पाण्डेले सरकारले सदनबाट विश्वासको मत लिएपछि प्रदेशसभामा नयाँ नीति तथा कार्यक्रम र सरकारको योजना पेस गर्ने बताए । ‘समय थोरै भए पनि हामी काम गर्न सक्षम छौं, जनतालाई सरकारको अनुभूति दिलाउन सक्दो मिहिनेत गर्छौं,’ उनले भने । आवश्यकताका आधारमा मन्त्रालयको संख्या थप्ने उनले बताए । ‘हामी गठबन्धनमा छौं, आवश्यकताका आधारमा मन्त्रालय बढ्न सक्छ । हामी त्यसका लागि तयारी गर्नेछौं ।’ दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसकेको उनले बताए । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सहमतिअनुसार मन्त्रालयको भागबन्डा टुंगो लाग्ने बताए । ‘हामी छलफलकै क्रममा छौं, सरकारले सदनबाट विश्वासको मत लिएपछि मन्त्रालयको बाँडफाँट टुंग्याउँछौं,’ उनले भने ।

वाग्मती प्रदेशमा सत्तारूढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । शाक्य अल्पमतमा परेसँगै वाग्मतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु भएको थियो । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बाहिरिएकी हुन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेकी थिइन् ।

शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । उनले प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा रहेर पनि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाइन् । छोटो समयमा उल्लेख्य काम गर्न सक्ने भए पनि आफूले काम गर्न नपाएको भन्दै उनले समाजवाद उन्मुख कार्यक्रमको खाका आफूले ल्याएको बताइन् । उनले बुधबार नै प्रदेशको समाजवाद उन्मुख कार्यक्रमको खाका सार्वजनिक गरेकी छन् । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठकमा विश्वासको मत विभाजन गर्न सबै तयारी पूरा गरिसके पनि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

शिक्षकदेखि मुख्यमन्त्रीसम्म

प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर, एमालेभित्रको विवादका कारण उनी पछाडि परे । धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता भएका हुन् । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उनले भने ।

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष छन् ।

उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।

जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।

प्रकाशित : कार्तिक ११, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?