कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंभरी ३६ सय आन्तरिक उडान 

सबैभन्दा धेरै १७६८ उडान गर्ने बुद्ध, सबैभन्दा कम १०० उडान गर्नेमा निगम
निजी क्षेत्रका वायुसेवाले १ लाख ८५ हजार यात्रु उडाउँदा सरकारी वायुसेवा निगमले १३ सय यात्रु मात्रै उडायो
सुरज कुँवर

काठमाडौँ — कोरोना विरुद्ध खोप लगाउनेको संख्या वृद्धि तथा संक्रमण खुकुलो भएसँगै यसपटक घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट जाने र फर्किने गरी ३६ सय ७१ वटा आन्तरिक उडान भए । यो अघिल्लो वर्ष (२०७७ )को दसैंमा भएका उडानहरुको दाँजोमा चार गुणाले बढी हो ।

दसैंभरी ३६ सय आन्तरिक उडान 

कोरोना त्रास कायमै भएको र कोटा प्रणालीका कारण गत वर्ष दसैंमा (कात्तिक १ देखि १४ गतेसम्म) ९ सय २२ वटा आन्तरिक उडान भएका थिए ।

काठमाडौं विमानस्थलस्थित आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडालका अनुसार, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको भएका ३६ सय ७१ वटा उडानबाट कूल १ लाख ८५ हजार ६ सय ८३ यात्रुले ओहोरदोहोर गरे । दसैंको यो अवधिमा आन्तरिक टर्मिनलबाट दैनिक ११ हजारदेखि १५ हजारसम्म यात्रु आवागमन भयो । काठमाडौं विमानस्थलबाट दैनिक ३ सय हाराहारी आन्तरिक उडान भएका थिए । यसपटक दसैंमा भएका उडानबाट ९६ हजार २ सय १८ यात्रु काठमाडौंबाट बाहिरिएका थिए भने मोफसलबाट ८९ हजार ३ सय ९५ यात्रु काठमाडौं आएका थिए ।

काठमाडौंबाट दैनिक सबैभन्दा धेरै उडान हुने प्रमुख सहरहरुमा पोखरा, विराटनगर, भैरहवा र नेपालगन्ज थिए । तथ्यांक अनुसार, दसैंमा काठमाडौंबाट दुईतर्फी उडान पोखरामा दैनिक ४६, विराटनगर ४४, भैरहवा ४० र नेपालगन्जमा २२ हाराहारी भएका थिए ।

बुद्ध एयरको काठमाडौं विमानस्थल प्रमुख दिलिप खड्काका अनुसार, अधिकांस यात्रुले कोरोना विरुद्धको खोप लगाइसकेकाले यसपटक गत वर्ष जस्तो आन्तरिक उडानमा फेस सिल्ड लगाउनु पर्ने कोभिड भए/नभएको स्वास्थ्य फारम भर्नुपर्ने नियम पनि थिएन । उनका अनुसार उडानमा खुकुलो हुँदै गएकाले यसवर्ष आन्तरिक यात्रुको संख्या वृद्धि भएको हो । यसपटक गतवर्ष जस्तो दसैंमा नागरिक उड्डयन प्राधिकरणले उडान संख्याको कोटा पनि तोकेको थिएन ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भएका ३६ सय ७१ वटा आन्तरिक उडानमा निजी क्षेत्रको बुद्ध एयरले १७ सय ६८ वटा उडान गर्‍यो । बुद्धपछि धेरै यति एयरलायन्सले ५ सय ७४, श्री एयरलायन्सले ३ सय ९४ वटा उडान गरे । त्यस्तै, असोजबाटमात्रै ५ वटा विमानबाट उडान थालेको गुणले २ सय ४५ उडान गरे । तर, सरकार स्वामित्वको नेपाल वायुसेवा निगमले यो दसैंमा दुईटा ३० वर्ष पुराना टुइनअटरबाट १ सय वटा मात्रै उडान गर्‍यो । काठमाडौंबाट नेपालगन्ज र पोखरालाई पनि हब बनाउँदै त्यहाँका विमानस्थलबाट दुर्गम तथा हिमाली भेगमा उडान गर्दै आएका तारा, समिट र सिताले पनि निगमको दाँजोमा दसैंमा धेरै उडान गरे ।

दसैंमा सबैभन्दा धेरै १७ सय ६८ उडान गर्ने बुद्ध थियो भने सबैभन्दा कम १ सय उडान गर्नेमा नेपाल वायुसेवा निगम थियो । दसैंमा निजी क्षेत्रका वायुसेवाले १ लाख ८५ हजार यात्रु उडाउदा सरकारी वायुसेवा निगमले १३ सय यात्रु मात्रै उडायो ।

चुडालका अनुसार दसैंमा बुद्धले १५, सौर्यले २, श्रीले ५, सीताले २, समिटले ४, गुणले ५, यतिले ५, ताराले ३ र निगमले २ वटा गरी ४३ वटा जहाज आन्तरिक रुटमा उडाएका थिए । आन्तरिक उडानमा रहेका नौवटा वायुसेवा कम्पनीसँग १९ देखि ७२ सीट क्षमतासम्मका ५० वटा जहाज छन् । देशभर ३४ वटा विमानस्थल सञ्चालनमा छन् । काठमाडौं विमानस्थलबाट हाल दुई दर्जन आन्तरिक विमानस्थलमा सिधा उडान हुन्छ ।

प्रकाशित : कार्तिक १०, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?