कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवा र पौडेलबीच बैठकमै चर्काचर्की

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न मंगलबार केन्द्रीय निर्वाचन समितिको आह्वानमा बैठक बस्यो । महाधिवेशनको बाँकी कार्यतालिका तयार गर्ने विषयमा सोमबार समितिको बैठकमा छलफलपछि निर्वाचन समितिले नेताहरुको समय मागेका थिए । साढे ३ बजेदेखि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठक करिब डेढ घण्टासम्म चल्यो । बैठकमा धेरै नेता सहभागी नभए पनि बैठक लामो समयसम्म चल्यो ।

देउवा र पौडेलबीच बैठकमै चर्काचर्की

बैठकमा निर्वाचन समितिका पदाधिकारीले नेताहरुका कारण महाधिवेशनको प्रक्रिया अघि बढाउन ढिलाइ भएको गुनासो गरेका थिए । ‘तपाईंहरुले नरोकेको भए जिल्ला तहसम्मको अधिवेशन भइसक्थ्यो । तपाईंहरुकै कारण अधिवेशन रोकियो । लामो समयसम्म यो रहिरहृयो भने यसले राम्रो सन्देश दिँदैन,’ बैठकमा नेताहरुलाई भनेको सुनाउँदै समितिका एक सदस्यले भने ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि आक्रोश प्रस्तुत गरेका थिए । ‘तपाईं जथाभावी बोल्दै हिँड्नुहुन्छ ? मैले कहाँ महाधिवेशन नगरौं भनेको छु ? तपाईं जे पायो त्यही बोल्नुहुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

प्रतिवाद गर्दै वरिष्ठ नेता पौडेलले भनेका थिए, 'महाधिवेशन त समयमै गर्नु पर्‍यो नि ! विधान त मान्नु पर्‍यो नि ! तपाईं त्यस्तै चरित्र देखाउनुहुन्छ ।' यसअघि पनि पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा सभापतिले महाधिवेशन गर्न नचाहेको र चुनावपछि मात्रै महाधिवेशन गर्ने गरी सार्न चाहेको अभिव्यक्ति दिएका थिए ।

देउवा–पौडेलको भनाभन सकिएपछि नेता कृष्णप्रसाद सिटौलाले नेताहरुको झगडा हेरेर निर्वाचन समितिलाई अलमलमा नपर्न भनेका थिए । ‘तपाईंहरु हाम्रो झगडा नहेर्नुस् । आफ्नो काम अघि बढाउनुस् । हामीले भनेको मान्नैपर्छ भन्ने पनि छैन । एउटा विधिअनुसार अघि बढ्नुस्,’ सिटौलाले भनेका थिए ।

‘पहिले उहाँहरुको अलिअलि भनाभन भयो । तर, सभापतिज्यूले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेताज्यूले पनि सहमति जनाउनुभयो,’ बैठकमा सहभागी एक नेताले भने ।

बैठकपछि वरिष्ठ नेता पौडेलले आफूले महाधिवेशनको तयारी र कार्यतालिकाका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल गरेर टुंगोमा पुग्नुपर्ने भनेको बताए । ‘हामी मंसिरभित्रै महाधिवेशन गर्नुपर्छ भन्नेमा सहमत भयौं । तर, मैले केन्द्रीय समितिको बैठक बोलाउन भनेको छु । महाधिवेशनको तयारीका लागि पनि, र कार्यतालिकालाई अन्तिम रुप दिन पनि केन्द्रीय कार्यसमिति बैठक आवश्यक छ,’ पौडेलले भने ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिलबहादुर थापालगायत सहभागी थिए ।

बैठकपछि सहमहामन्त्री महतले महाधिवेशनको कार्यतालिका तोकेर प्रक्रिया अघि बढाउन आवश्यक गृहकार्य गर्ने जिम्मा निर्वाचन समितिलाई दिइएको बताए । ‘बैठक अधिवेशनको प्रक्रियालाई अघि बढाउने कुरामा केन्द्रित भयो । सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईंहरुले अधिवेशनको प्रक्रियालाई चाँडोभन्दा चाँडो अघि बढाउनुस् । मंसिरभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्छ । त्यहीअनुसार कार्यतालिकाका लागि गृहकार्य गर्नुस् । प्रक्रिया अघि बढाउनुस् भनेर निर्देशन गर्नुभयो । त्यो विषयमा सबैको साझा सहमति बन्यो,’ महतले भनेका छन् ।

उनकाअनुसार बैठकमा नेताहरुले निर्वाचन समितिलाई अर्को पनि निर्देशन दिए- ‘बाँकी रहेका जिल्लामा छठपछि मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउनू ।’ त्यसका आधारमा निर्वाचन समितिले फेरि पनि महाधिवेशन गराउनका लागि जम्मा ३५ दिनमात्रै पाएको छ । गएको २२ महिनादेखि प्रयास गर्दा पनि गर्न नसकेको महाधिवेशन अब ३५ दिनमा कसरी सम्भव होला त ? जबकि यसअघि निर्वाचन समितिले नै सात तहको अधिवेशन गराउन ५१ दिनको समय मागेको थियो । समितिले नेताहरुले फेरि पनि छोटो समय दिएर अफ्ठ्यारोमा पारेको गुनासो गरेका छन् ।


प्रकाशित : कार्तिक ९, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?