कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुस्तामा जंगे पिलर कायम गरी नेपाल-भारत सीमा छुट्टयाउन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — 'सुस्ता बचाऊ' अभियानले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल-भारत सीमा छुट्टयाई जंगे पिलर कायम गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

सुस्तामा जंगे पिलर कायम गरी नेपाल-भारत सीमा छुट्टयाउन माग


मंगलबार गृहमन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्तावासीहरूको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गा जमिन प्रमाणपत्र वितरण गर्न माग गरिएको छ ।

संविधानसभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनालको सक्रियतामा आएको टोलीले गृहमन्त्री खाँणलाई बुझाएको ज्ञापनपत्रमा नेपाल भारतको सिमाना छुट्टयाउन, सुस्तावासीहरूले जोतभोग गर्दैआएको जग्गाको लालपूर्जा वितरण गरी राजश्व संकलन गर्ने व्यवस्था मिलाउन, त्यहाँका बासिन्दालाई नागरिकता प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले मागबारे आफू सकारात्मक रहेको भन्दै अन्य मन्त्रालयसँग सरोकार राख्ने विषयमा सम्बन्धित मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाउन आग्रह गरे । सीमांकन गर्ने विषय, सशस्त्र प्रहरी परिचालन गर्ने र भूमि बचाउने विषयमा आफू सकारात्मक रहेको गृहमन्त्री खाँणले बताए ।

प्रकाशित : कार्तिक ९, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?