बाढीपहिरोले बझाङ तहसनहस- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले बझाङ तहसनहस

१२ जनाको मृत्यु, १९ बेपत्ता, ८८६ परिवार विस्थापित
जयपृथ्वी राजमार्गसहित सबैजसो ग्रामीण सडक ठप्प, विद्युत् अवरुद्ध हुँदा सदरमुकाम चैनपुरबाहेक जिल्ला नै अन्धकारमा
२ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको प्रारम्भिक अनुमान
वसन्तप्रताप सिंह

बझाङ — ‘२०२३ सालमा भूकम्प गएको बेला जहाजबाट चामलका बोरा खसालेर बझाङका जनतालाई राहत वितरण गरिएको थियो । अहिलेको बाढीपहिरोले त्योभन्दा पनि नाजुक अवस्था भएको छ,’ सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पूर्वजिविस सभापति चेतराज बजालले सम्झिए, ‘६० वर्षको जीवनकालमा यस्तो विपद् देखेको थिइनँ ।’

सेतीको बाढीले घरबार बगाएपछि त्रिपालमुनि बसिरहेका बझाङको थलारा—९ सेलाबगरका पीडितहरू । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

पूर्वसभापति बजालले यस्तो सुनाइरहँदा बैठकस्थल जिल्ला प्रशासन कार्यालय हातामा वडा कार्यालयको सिफारिस र राहतका लागि अनुरोध गरेर लेखिएका निवेदन च्यापेकाहरूको भीड थियो । जिल्लाका सबै स्थानीय तह र वडा कार्यालयहरूमा राहतका लागि पीडितहरूको यस्तै लाम लागिरहेको जनप्रतिनिधि बताउँछन् ।

गत असोज ३१ देखि कात्तिक ४ सम्मको बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले बझाङमा अत्यधिक क्षति पुगेको छ । प्रशासन कार्यालयको सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार जिल्लाभर १२ जनाको मृत्यु र १९ जना अझै बेपत्ता छन् । ८ सय ८६ परिवार विस्थापित, १ सय ५८ घरमा पूर्ण क्षति, ३ सय ६४ चौपाया मरेका, २ सय ४० घर जोखिममा छन् । ६ पुल, १० सरकारी कार्यालय र ७ सडक पनि क्षतिग्रस्त बनेको कार्यालयले जनाएको छ । जिल्लाका १२ वटै स्थानीय तह र प्रहरीको टोली विपद्ले निम्त्याएको क्षतिको तथ्यांक लिन गाउँगाउँमा परिचालन गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । यो साताभित्र क्षतिको यकिन विवरण आउने उनको भनाइ छ ।

क्षतिको आँकडा अझै बढ्न सक्ने जनप्रतिनिधिहरू बताउँछन् । ‘खप्तड छान्ना गाउँपालिकामा मात्रै २ सयभन्दा बढी घरमा क्षति पुगेको छ । एक/डेढ हजार परिवारको धानखेत बगाएको छ,’ गाउँपालिका अध्यक्ष बर्क रोकायाले भने, ‘सडक, पुल, स्वास्थ्यचौकी, विद्यालय, विद्युत्, खानेपानी, सिँचाइ क्षेत्र पनि तहसनहस भएको छ । हिँड्ने बाटोसमेत बचेको छैन ।’ पीडितहरू तरकारीका टनेल हाउस, गोठ र त्रिपालमुनि बसिरहेको उनले बताए । जयपृथ्वी नगरपालिकाको अवस्था पनि उस्तै छ ।

‘जता गयो त्यतै जमिन छियाछिया भएको मात्र देखिन्छ । नदी किनारका ज्युला (धानका फाँट) सबै बगर भए, कैयौं घर भत्किए,’ नगर प्रमुख वीरेन्द्र खड्काले भने । उनले नगरपालिकाको टोली क्षतिको विवरण संकलन गर्न गाउँगाउँमा पुगेको र पीडितलाई राहत वितरण र पुनःस्थापनाको प्रयास भइरहेको जानकारी दिए ।

बाढीपहिरोका कारण बझाङलाई अन्य जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग दर्जनौं ठाउँमा भासिएको छ, कहीं सडकको नामोनिसान छैन । तमैल–जाल्याबगर खण्ड सेती नदीले बगाएको छ । यो राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्न महिनौं लाग्न सक्ने प्राविधिकहरू बताउँछन् । नदीले धार परिर्वतन गरेर सडक बगाएकोले जलस्तर घटेपछि मात्रै मर्मतको काम अघि बढ्ने पूर्वाधार विकास कार्यालय बझाङका प्रमुख धीरेन्द्र भट्टले बताए । ‘जडार—कोइरालकोट सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न कोसिस गरिरहेका छौं,’ भट्टले भने, ‘सडक बन्द भएकाले इन्धन आपूर्ति नहुँदा एक्स्काभेटर चलाउन पनि डिजेल अभाव छ । सडक खोल्न कति समय लाग्छ केही भन्न सकिने अवस्था छैन ।’ जिल्लाका ग्रामीण सडक पनि अझै सञ्चालनमा आएका छैनन् ।

बाढीपहिरोले कैयौं विद्युत्का पोल ढलेका छन् । दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको विद्युत्गृह, बाँध, प्रसारण लाइनलगायत संरचनामा क्षति पुगेकाले जिल्लाका सबैजसो गाउँ अन्धकारमा छन् । सदरमुकाम चैनपुरमा मात्रै सुर्मादेवी जलविद्युत् आयोजनाबाट विद्युत् उपलब्ध गराइएको छ । विद्युत् नहुँदा जिल्ला अस्पतालको उपचार सेवा प्रभावित भएको छ । सबैजसो उद्योग ठप्प छन् । स्वास्थ्य चौकी नै बगाएपछि कतिपय गाउँमा प्राथमिक उपचार सेवा पनि छैन । दर्जनौं विद्यालय बगाएको र कतिपय जोखिममा छन् । प्रारम्भिक तथ्यांकअनुसार २ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको कृषि ज्ञान केन्द्र प्रमुख टेकबहादुर विष्टले बताए ।

विपद् प्रभावित केही ठाउँको स्थलगत निरीक्षण गरेकी प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले स्थानीयको घरबास तथा विकासका पूर्वाधारमा ठूलो क्षति पुगेका कारण बझाङ विकासका दृष्टिकोणले १५ वर्षपछि धकेलिएको बताइन् ।

विपद्ग्रस्त घोषणा गर्न माग

सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले बझाङलाई विपद्ग्रस्त घोषणा गर्न र राहत तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ ।

‘यहाँ अकल्पनीय मानवीय र भौतिक क्षति भएकोले मौजुदा बजेट रजनशक्तिको भरमा पुनर्निर्माण र पुनःस्थापना असम्भव छ,’ प्रजिअ अधिकारीले भने, ‘जिल्लालाई विपद्ग्रस्त घोषणा गरी छुट्टै योजना ल्याउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’ प्रारम्भिक अध्ययनअनुसार १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको उनको आकलन छ । पीडितलाई तत्कालका लागि राहत उपलब्ध गराउन थालिएको उनले बताए ।

प्रकाशित : कार्तिक ९, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

सुडानमा ‘कु’ को विरोधमा प्रदर्शन, सेनाले गोली चलाउँदा ७ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — सुडानमा सैन्य ‘कु’ को विरोधमा प्रदर्शनमा उत्रिएकामाथि सेनाले गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ भने करिब १४० जना घाइते भएका छन् ।

सुडानको सेनाले सोमबार अन्तरिम सरकारलाई अपदस्थ गर्दै मुलुकको सत्ता हातमा लिएको थियो । साथै सेनाले संकटकाल घोषणा गर्दै प्रधानमन्त्री अब्दुल्लाह हमदोक र अन्य नेतालाई गिरफ्तार गरेको छ ।

सैन्य कुको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तुमका सडकमा आएका प्रदर्शनकारीलाई पक्राउ गर्न सेना घर–घरमा गएको बताइएको छ । विश्वका विभिन्न मुलुकले सुडानको सैन्य कुको आलोचना गरेका छन् । यसैबीच अमेरिकाले पनि सुडानलाई दिने भनेको ७० करोड अमेरिकी डलर सहयोग रोकेको छ ।

सेना प्रमुख जनरल अब्देल फतह अल बुरहानले राजनीतिक झगडाका कारण सैन्य कारबाही गरिएको बताएका छन् । सन् २०१९ मा राष्ट्रपति उमर अल बशिरलाई सत्ताबाट हटाएसँगै त्यहाँको राजनीतिक नेतृत्व र सैनिक अधिकारीबीच मनमुटाव देखिँदै आएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक ९, २०७८ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×