२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

सानो राष्ट्रको जमिन ठूलोकोमा पर्‍यो भने हालत खराब हुन्छ : दाहाल 

'नेपालको राष्ट्रिय चासोमा बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहालले ठूलो राष्ट्रले सानो राष्ट्रको जमिन मिच्‍न नहुने बताएका छन् । उनले सानो राष्ट्रको जमिन ठूलो राष्ट्रले मिचेमा दुई मुलुकबीच समस्या उत्पन्न हुने बताएका हुन् ।

सानो राष्ट्रको जमिन ठूलोकोमा पर्‍यो भने हालत खराब हुन्छ : दाहाल 

दाहालले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताए । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा दाहालले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा दाहालले भौगोलिक रूपमा ठूलो राष्ट्रले सानो राष्ट्रको जमिन मिच्न नहुने बताएका थिए । उनले भने, 'ठूलो राष्ट्रको जमिन पनि धेरै छ । जनसंख्या पनि धेरै छ । ठूलो राष्ट्रले सानो राष्ट्रलाई थोरै-थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन । सानो ठूलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त ।'

भारतीय नेतृत्वले नेपालको जमिन मिच्न नहुने कुरा बुझ्नुपर्ने दाहालको भनाइ थियो । उनले भने, 'यो संवेदनशीलतालाई पनि भारतीय नेतृत्वले, भारतीय बुद्धिजिवीहरूले गहिरो गरी समीक्षा गर्नुपर्दछ भन्ने मलाई लाग्छ । सिमानाका जे-जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरू छन् । ती संवादको तरिकाद्वारा, उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् ।'

नेपाल र भारतबीच इतिहास, भूगोल, संस्कृति, अर्थतन्त्र, जनता जनताको सम्बन्धले जोडेको दाहालको भनाइ थियो । त्यसलाई दुवै मुलुकको नेतृत्व मिलेर एक अर्काको संवेदनशीलतालाई ध्यान दिएर सकरात्मक र रचनात्मक ढंगले समाधान गर्दै अगाडि जानुपर्ने उनको भनाइ थियो ।

दाहालले भारतले नेपालको राष्ट्रिय चासोमा बाधा नभई सहयोग पुर्‍याएमा राम्रो मित्रता हुने पनि बताए । उनले भने, 'यदि नेपालको राष्ट्रिय चासोमा भारतले बाधा होइन, सहयोग पुर्‍याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ ।'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्‌मा सम्बोधन गर्दै नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र भन्दा ताली बजेको पनि दाहालले स्मरण गरे । 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरी ताली बज्यो । यसो हेर्दा त ताली लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्र हो । उहिले नि थियो, अहिले नि छ र भोली नि हुन्छ,' उनले भने, 'तर हामीले ताली लगाइयो । बडो उत्तेजित भइयो, खुसी भइयो । यो कुराको हिसाबचाहिँ अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ ।'

भारतले बुद्ध भारतमा जन्मिएको भनेर तथ्य बंग्याउन नहुने पनि दाहालले बताए । उनले बुद्ध भारतमा जन्मिएका हुन् भन्दा राम्रो नलाग्ने धारणा राखे । उनले गौतम बुद्धले बुद्धत्व भारतमा पाएको भएपनि नेपालमा जन्मिएको कुरालाई बंग्याउन नहुने बताए ।

दाहालले नेपालमा चलेको दस वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा रहेको बताए । 'माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो । हाम्रा छिमेकीहरूको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपर्थ्यो, भयो । त्यसकारण हामी अहिले यहाँ छौँ,’ उनले भने । माओवादी 'जनयुद्ध' भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको पनि उनले उल्लेख गरे । माओवादी 'जनयुद्ध'लाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारेका थिए ।

प्रकाशित : कार्तिक ८, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?