कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातै प्रदेशमा खुल्दै स्वास्थ्य अनुसन्धान परिषद्को शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — अब सातै प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌को शाखा खोलिने भएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले परिषद्लाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको बताउँदै काम अघि बढिसकेको बताए । 

सातै प्रदेशमा खुल्दै स्वास्थ्य अनुसन्धान परिषद्को शाखा

उनका अनुसार हेटौँडामा सेटअप तयार भइरहेको छ र बुटवल तथा पोखरामा पनि छिट्टै विस्तार हुने सम्भावना रहेको छ । ‘शाखा खोलेर हरेक रिसर्चलाई अपडेट गरेर प्रदेश स्तरीय संयोजन गर्ने गरी अगाडि बढ्ने योजना छ,’ उनले भने ।

सरकारले स्वास्थ्य अनुसन्धानमा एकदम कम बजेट छुट्याइएको बताउँदै कम बजेटका कारण अझै पनि पर्याप्त अनुसन्धानमा काम नभएको उनले बताए ।

सोमबार परिषद्ले आयोजना गरेको एक कार्यक्रमा बोल्दै उनले कोरोनासँग सम्बन्धित ४० वटा अध्ययनहरु परिषदले पूरा गरिसकेको बताएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपालमा मृगौला तथा क्यान्सरको रोगहरु बढिरहेको बताउँदै उपचार महँगो भएका कारण सबैको पहुँचमा नपुगेको बताए ।‘ परिषद्ले विभिन्न रोगको सरल तरिकाले कसरी उपचार हुने र रोग लाग्न नदिन कस्तो उपाय अपनाउने भन्ने अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भने । उनले नेपालमै विभिन्न बहुमूल्य जडिबुटीहरु रहेको तर कच्चा पदार्थका रुपमा बाहिर जाने र पछि महँगो औषधिको रुपमा किन्नुपर्ने भन्दै यसमा ध्यान दिन जरुरी रहेको बताए ।

स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले राष्ट्रिय महत्त्वका विषयहरुमा अध्ययन अनुसन्धान गरिरहेको भएपनि हाल परिषद्‌मा २४ जना मात्रै स्थायी कर्मचारी रहेको भन्दै थप्नुपर्ने आवश्यकहता रहेको औंल्याए । उनले कर्मचारी थप्नुपर्ने विषय क्याबिनेटमा पठाएको ७–८ महिना भएपनि काम नभएको भन्दै १०० जना जति कर्मचारी भएमा आवश्यक विषयमा राम्ररी अध्ययनका काम हुने बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?