कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता गठबन्धनबीच चुनावी तालमेल कति सम्भव ?

कांग्रेसमा देउवा पुनः सभापति भए सहकार्य सहज हुने बुझाइ माओवादी केन्द्र र एकीकृत समाजवादीको छ तर देउवाले एमालेका नेतासँग बढाएको संवादले उनीहरु सशंकित छन्
बबिता शर्मा

काठमाडौँ — प्रमुख विपक्षी एमालेको ‘अर्ली इलेक्सन’ माग र तीनै तहका चुनाव एकैपटक गर्ने माओवादी केन्द्रको प्रस्तावका बीच सम्भावित चुनावी गठबन्धनलाई लिएर सत्तारूढ दलहरूभित्र विमर्श सुरु भएको छ । अहिले अनौपचारिक छलफल भए यसलाई दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन एवं पार्टी निर्माण/पुनर्निर्माण अभियान सकिएलगत्तै निष्कर्षमा पुर्‍याउने योजनामा उनीहरू छन् । 

सत्ता गठबन्धनबीच चुनावी तालमेल कति सम्भव ?

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनलाई नै चुनावी गठबन्धनमा रूपान्तरण गर्नुपर्ने पक्षमा छन् । कांग्रेसमा भने पाँचदलीय चुनावी गठबन्धनका लागि त्यति जोडबल देखिएको छैन । गत स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गर्दा आफूलाई ‘खासै फाइदा नभएको’ निष्कर्ष कांग्रेसको छ । संघको निर्वाचनमा गठबन्धनका शीर्ष नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईका लागि तालमेलको प्रयास हुने माओवादीका एक वरिष्ठ नेताले बताए । ‘कम्तीमा शीर्ष नेताको साख जोगाउन तालमेलको प्रयास हुनेछ,’ उनले भने ।

नेताहरूका अनुसार पहिला कहिले र कुन तहको चुनाव गर्ने भन्नेमा सहमति भएपछि चुनावी गठबन्धनको विषय मुख्य हुनेछ । ‘संविधान र लोकतन्त्रविरोधी प्रवृत्तिविरुद्ध सँगै लड्यौं । अब पनि संविधान र लोकतन्त्र रक्षाका लागि चुनावसम्म सँगै जाने भन्ने सामान्य समझदारी गठबन्धन बनाउँदै बेला भएको हो,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने, ‘त्यसबाहेक यो विषयमा थप छलफल भएको छैन ।’

संसद्मा रहेका प्रमुख ६ दलमध्ये एमाले र कांग्रेस महाधिवेशन र माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी संगठन पुनर्निर्माणमा व्यस्त छन् । पुससम्म पार्टीको आन्तरिक कार्यसूची सक्ने त्यसपछि मात्र चुनावी गठबन्धनको बहसले मूर्त रूप लिने प्रमुख दलका नेताहरू बताउँछन् । महाधिवेशन/राष्ट्रिय सम्मेलनबाट कांग्रेस र माओवादीको आन्तरिक शक्ति सन्तुलन हेरफेरको सम्भावना छ । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार गठबन्धन बनाउने वा एक्लै चुनाव लड्ने भन्ने विषय औपचारिक रूपमा पार्टीमा प्रवेश भएको छैन । ‘आम निर्वाचन घोषणा हुने बेला वा भएपछि हरेक पार्टीले आ–आफ्नो मूल्यांकन गर्लान् ।

सबैले आफ्नो पार्टीको हित हेरेर तालमेल गर्ने हुन्,’ उनले भने, ‘निष्कर्षमा पुग्ने बेला भएको छैन ।’ चुनावी गठबन्धनप्रति सबैभन्दा धेरै चासो र पहल माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको छ । तर उनीहरू पनि महाधिवेशनबाट कांग्रेस र एमालेको आन्तरिक शक्ति सन्तुलनमा हेरफेर हुन सक्ने भएकाले त्यसपछि मात्रै भरपर्दो गठबन्धन बन्न सक्ने उनीहरूको बुझाइ छ । मंसिरमा १४ औं महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । सभापति देउवाले पुनः सभापति बन्न चाहेका छन् । ‘सभापति देउवा चुनावी गठबन्धनबारे अहिले मौन हुनुहुन्छ,’ देउवानिकट कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘पार्टीले एक्लै बहुमत ल्याउने–नल्याउने मूल्यांकन गरेपछि मात्रै उहाँ परिपक्व चुनावी गठबन्धनबारे अगाडि बढ्नुहुन्छ ।

त्यसैले कांग्रेस महाधिवेशन नसकिएसम्म चुनावी गठबन्धन चर्चा मात्रै हुन्छ ।’ कांग्रेसका अर्का एक केन्द्रीय सदस्य भने वाम गठबन्धन रोक्ने विषयमा सभापति देउवा सचेत रहेको बताउँछन् । ‘२०७४ मा जस्तै देशमा वाम ध्रुवीकरण नहोस् भन्नेमा सभापति सचेत देखिनुहुन्छ, यसबारे आवश्यक समयमा निर्णय लिनुहुन्छ होला,’ उनले भने । २०७४ मा वाम गठबन्धन हुँदा कांग्रेस संघ र सातै प्रदेशमा विपक्षी दल बनेको थियो । तत्कालीन नेकपाभित्रको विवादका कारण मात्र तीन वर्षपछि कांग्रेस संघ र प्रदेशमा सत्तारूढ बनेको छ ।

कांग्रेसमा देउवा पुनः सभापति भए सहकार्य सहज हुने बुझाइ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालको छ । प्रधानमन्त्री देउवाले विपक्षी दलका नेतासँग बढाएको संवादले भने उनीहरूलाई झस्क्याउने गरेको छ । दाहाल र नेपाल अहिले चुनावी गठबन्धनको अनौपचारिक चर्चा भए पनि ठोस छलफल भने कांग्रेस महाधिवेशनपछि मात्रै अगाडि बढाउने योजनामा छन् । ‘कांग्रेसको महाधिवेशन र माओवादीको राष्ट्रिय सम्मेलनपछि मात्रै चुनावी गठबन्धनका विषयमा ठोस छलफल अगाडि बढ्छ,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने । चुनावी गठबन्धनका लागि दाहाल र नेपाल एमालेको दसौं महाधिवेशन (मंसिर १०–१२) लाई पनि पर्खेर बसेका छन् । एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार महाधिवेशनसम्म पुग्दा एमालेमा तलैदेखि केन्द्रसम्म विवाद बढ्न सक्ने नेपालको बुझाइ छ ।

यस्तो अन्तरविरोध बढ्दा एकीकृत समाजवादीलाई फाइदा पुग्ने र त्यसको बलमा गठबन्धन बनाउन सहज हुने उनको विश्वास छ । ‘दसबुँदे सहमति कार्यान्वयनलाई लिएर एमालेमा विवाद सुरु भइसकेको छ । अब पालिकादेखि जिल्ला र प्रदेशदेखि केन्द्रसम्म नेतृत्व चयनमा झनै विवाद बढ्छ । त्यसबेला असन्तुष्ट नेताहरू हाम्रो पार्टीमा आउँछन्,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘ओलीले जिम्मेवारी नदिएपछि उनीहरू आउने हामीसँगै हो ।’

एकीकृत समाजवादीले पुससम्मका लागि संगठन पुनर्निर्माणको योजना बनाइसकेको छ । त्यसपछि चुनावी तयारी सजिलो हुने नेताहरूले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आगामी महाधिवेशनबाट झनै शक्तिशाली बन्ने र आफूअनुकूल केन्द्रीय पदाधिकारी बनाएर चुनावमा केन्द्रित हुने योजनामा छन् । त्यसो त एमालेले तीन साताअघि नै विधान महाधिवेशनबाटै चुनाव केन्द्रित कार्ययोजना बनाइसकेको छ । ओलीले प्रतिनिधिसभा प्रभावकारी नभएको भन्दै सार्वजनिक रूपमै ‘अर्ली इलेक्सन’ को माग गरिरहेका छन् ।

सत्ता गठबन्धनको दोस्रो ठूलो शक्ति माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्दै छ । माओवादीले आन्तरिक चुनावमार्फत चुस्त नेतृत्व चयन गर्ने कार्ययोजना बनाएको छ । माओवादी अध्यक्ष दाहालले तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धन दलका शीर्षहरूबीच राखिसकेका छन् । ‘निर्वाचन एकैपटक गर्दा राज्यको खर्च बचत हुन्छ । सुरक्षा पनि सहज हुन्छ । नेता–कार्यकर्ताको व्यवस्थापन पनि सहज हुन्छ । त्यसकारण यो अवधारणा अनौपचारिक छलफलमा छ,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पोखरेलले भने ।

पार्टी विभाजनपछि उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको जसपा पनि संगठनात्मक अभियानमा छ । जसपाबाट अलग भएको लोसपा पनि संगठन निर्माणमा छ । तराई–मधेसका जिल्लामा यी दुई दलको बलियो संगठन छ । जसपाको पहाडी जिल्लामा पनि उपस्थिति छ । ‘तराई–मधेसमा जसपा र लोसपा चुनावी हारजितका मुख्य फ्याक्टर हुन सक्छन् । त्यसैले गठबन्धनमा महत्व हुन्छ,’ जसपाका एक नेताले भने ।

प्रकाशित : कार्तिक ८, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?