कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

एमालेमा नयाँ दृश्य : वडा अधिवेशनमा सर्वसम्मतिको संकेत के हो ? 

एमालेमा माधवकुमार नेपाल समूह बाहिरिएपछि अब भीम रावलसहितका केही नेतामात्र केन्द्रमा अध्यक्ष ओलीविरुद्ध फरक मत राखिरहेका छन् । त्यसबाहेकका नेताहरू ओलीले जसो भन्यो त्यसै गर्ने खालका छन् । त्यसको प्रारम्भिक प्रभाव अहिले वडा अधिवेशनमा देखिएको हो ।
मणि दाहाल

काठमाडौँ — एमाले शनिबार झण्डै ६ हजार वडाको अधिवेशन गर्‍यो । लामो समय आन्तरिक विवाद गुज्रेर विभाजनको समेत पीडा खेपेको एमालेको वडा अधिवेशनमा भने अधिकांश ठाँउमा सर्वसम्मत भयो । नवौं महाधिवेशनमा प्यालन बनाएपछि बढेको तीब्र गुटबन्दीले चिरा परेको एमालेको सबै भन्दा तल्लोतहको कमिटीको नेतृत्व छनौटमा छिटपुट बाहेक विवादका बाछिटा नदेखिनुको संकेत के हो ? नेताहरू भन्छन्–  ‘अब  धेरै विवादको अवस्था पार्टी भित्र छैन, त्यसैको संकेत हो ।’

एमालेमा नयाँ दृश्य : वडा अधिवेशनमा सर्वसम्मतिको संकेत के हो ? 

मंसिर दोस्रो साता राष्ट्रिय महाधिवेशन मार्फत् नयाँ नेतृत्व चयनमा जुटेको एमालेमा माधवकुमार नेपाल समूह बाहिरिएपछि अब भीम रावलसहितका केही नेतामात्र केन्द्रमा अध्यक्ष ओलीविरुद्ध फरक मत राखिरहेका छन् । त्यसबाहेकका नेताहरू ओलीले जसो भन्यो त्यसै गर्ने खालका छन् । त्यसको प्रारम्भिक प्रभाव अहिले वडा अधिवेशनमा देखिएको हो ।

वडा अधिवेशन भएपनि एमालेले यसलाई आगामी निर्वाचनको तयारी र विभाजनपछि असर कम भएको देखाउने अवसरको रुपमा प्रयोग गरेको छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास भन्दै यसअघि एमालेमा सबै जस्तो कमिटीहरूको नेतृत्व छनोटका लागि प्यानलसहितको निर्वाचन हुने गरेको थियो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भएको वडा अधिवेशनले केन्द्रीय कमाण्डमा एमाले एउटै लयका साथ परिचालन भएको सन्देश दिएको बताउँछन् । ज्ञवालीका अनुसार पार्टीमा एकता, उत्साह र साझा संकल्प तीन विषयलाई प्रतिविम्बित गरेको छ ।

‘अहिलेसम्म सबै तथ्यांकहरू आइपुगेको छैन जानकारी तर साढे ५ देखि ६ हजार वडाको अधिवेशन एकै पटक छनोट भएको छ । अधिकांश स्थानमा सहमतिका साथ नेतृत्व छनोट भएको छ’ एमालेका प्रवक्ता ज्ञवालीले भने, ‘राष्ट्रव्यापी रुपमा एकै स्थानमा पार्टी सञ्चालन गर्न सकिन्छ । पार्टीको केन्द्रीय कमाण्डमा सिंगो पार्टीको एउटै लय, एकसाथ परिचालन गर्नसक्ने हाम्रो सामर्थ्य यसले प्रकट गरेको छ ।’

एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तल्लो तहबाट निर्वाचित नेतृत्वको नाम केन्द्रमा आइरहेको र त्यसलाई पार्टीको आधिकारिक वेबपेजमा राख्ने गरि तयारी भइरहेको बताए । एमालेले शनिबार एकै पटक ६ हजार ७ सय ४३ वडा अधिवेशन गर्ने घोषणा गरेको थियो । एमालेको वडा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका हुन् । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

शनिबार अधिवेशन हुन नसकेको अधिकांश वडाहरू बाढी पहिरोका कारण रोकिएको दावी तामाङले गरेका छन् । पार्टीभित्रको बिबादको कारण सुनसरीका केही वडा सहित केही स्थानमा मात्र नेतृत्व छनोट हुन सकेको छैन ।

प्रवक्ता ज्ञवालीले वडा अधिवेशनले एमाले विभाजनको असर कम भएको देखाएको बताए । ‘विभाजनको असर आधारभूत तहमा खासै छैनन् भन्ने विषयको संकेत पनि वडा अधिवेशनले गरेको छ’ ज्ञवालीले भने, ‘जसरी सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ यसले पार्टीमा विधान महाधिवेशनमा विचारको एकतालाई देखाएको थियो तर वडा अधिवेशनले नेतृत्वको एकता पनि देखाएको छ । अहिलेको जुन चुनौति छ त्यसलाई चिर्नका लागि एकतावद्ध भएर अघि आवश्यक रहेको आधारभूत तहमा अनुभूति गर्नु गरेको देखिन्छ ।’

पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको २ महिना नहुँदै एमाले बडा अधिवेशन गरेको छ । जसको कारण एमालेले केन्द्रदेखि प्रदेसहरूमा सरकार गुमाएको छ । एमाले सचिव गोकर्ण विष्टले वडा अधिवेशनमा भएको सर्वसम्मतीले पार्टीमा हार्दिकता, समन्वय र एकता बढ्दै गएको देखिएको बताए ।

‘वडा र गाउँका संगठनहरू आधारभूत तहको संगठन, पार्टीको जग र महत्वपूर्ण आधार हो’ विष्टले भने, ‘यो स्थानमा सर्वसम्मत हुनुभनेको पार्टीमा हार्दिकता, समन्वय र एकतावद्ध वातावरण निर्माण भैरहेको छ भन्ने संकेत हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुने कुराले पार्टीलाई थप बलियो बनाउँछ ।’ विभाजन, एमालेमाथि भैरहेको चौतर्फी हमला र घेराबन्दीको कारण कार्यकर्ताहरुले पार्टीलाई एकतावद्ध बनाउनु पर्छ भन्नेर सर्वसम्मत नेतृत्व छनोट गरेको विष्ट बताउँछन् ।

‘एमालेमाथि जुन रुपमा चौतर्फी हमला, घेराबन्दी भइरहेको छ यसबाट पार्टी जोगाउन एकतावद्ध हुनुपर्छ र सहमति गरिनुपर्छ एउटा पक्ष हुनसक्छ’ विष्टले भने, ‘एमाले केही समयमा जुन रुपमा अन्तरविरोध देखा परे त्यो जारी रहे थप समस्या आउँछ । पार्टीको जग कमजोर हुन्छ भन्ने प्रकारको महसुश पनि गरेको हुनुसक्छ । पार्टी र आन्दोलन जोगाउनका लागि आधारभूत तहको संवेदनशीलता र गम्भीरताले यस्तो परिणाम आएको छ ।’

उनले तल्लो तहमा भएका सर्वसम्मत नेतृत्वको छनोटले एमालेलाई मजबुत बनाउने बताउँछन् । विष्टसिहत लामो समय माधवकुमार नेपालसँग रहेका नेताहरू र अध्यक्ष केपी शर्मा ओली पक्षबीच पार्टी एकताका लागि दस बुँदे सहमति भएको थियो । तर अध्यक्ष ओली पक्ष १० बुँदे सहमति पूर्णतया लागू नगरेको भन्दै असन्तुष्टी रहँदै आएको छ ।

'अहिले अन्तर विरोध गर्दा त्यसले पार्टीभित्र कुनै न कुनै रुपमा नकारात्मक प्रभाव पर्छ भन्ने कार्यकर्तामा मनोविज्ञान विकास भएको कारणले पनि सहमतिममा नेतृत्व छनोट भएको हो, ' केन्द्रीय सदस्य विष्णु रिजालले भने, 'अर्कोतर्फ विभाजनको कारण विवाद गर्नेहरुको समूह पनि बाहिरिएको छ त्यसले गर्दा सर्वसम्मत भएको देखिन्छ । विवाद भएपनि स्थानीय समस्याको कारण केही स्थानमा मात्रै देखिन्छ । अहिले मूलधार त्यो होइन । केही स्थानमा कार्यान्वयन गर्न समस्या भयो होला । तर १० बुँदे सहमतिले एमालेको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।'

असोज १५–१७ विधान महाधिवेशन गरेका वैचारिक र विधानको विषयलाई छलफल गरेको एमालेले मंसिर १०–१२ चितवनमा नेतृत्वमा छनोटका लागि महाधिवेशन गर्दै छ । त्यसैको तयारीको रुपमा एमाले तल्लो तहको अधिवेशन गरेको छ । एमाले प्रवक्ता ज्ञवालीले वडा अधिवेशन जस्तै केन्द्रमा पनि सर्वसम्मत छनोट तयारी भैरहेको बताए ।

‘आगामी महाधिवेशनमा मुल र आम नेतृत्व सहमतिका साथै निर्वाचित हुने देखिन्छ । केही केही पदहरुमा मात्रै प्रतिस्पर्धा हुन्छ’ ज्ञवालीले भने ’केही पदहरूमा साथीहरूले आकांक्षा व्यक्त गर्नुहोला त्यस्तो हुनु स्वभाविक हो र हामीले स्वच्छ रुपमा भएको प्रतिस्पर्धालाई अन्यथा पनि ठान्नु हुँदैन ।’

प्रकाशित : कार्तिक ७, २०७८ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?