कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त’ नगरे इजलास बहिष्कार गर्ने १४ न्यायाधीशको चेतावनी

सर्वोच्च अदालतका एक न्यायाधीशले भने– ‘न्यायपालिकाको स्वतन्त्रता नै खतरामा परेको अवस्थामा वरिष्ठ अधिवक्ताको लाइसेन्स बाँड्ने विषय प्रधानन्यायाधीशले वकिलहरूलाई अल्मल्याउन ल्याएका हुन् । त्यसैले हामीले बहिस्कार गर्ने निर्णय गरेका छौं ।’
तुफान न्यौपाने

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएको फूलकोर्ट बहिष्कारको निर्णय गरेका सर्वोच्च अदालतका १४ न्यायाधीशले इजलास समेत बहिष्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकामा आँच पुर्‍याएको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । उनीहरूले  प्रधानन्यायाधीश जबराले सोमबारका लागि बोलाएको फूलकोर्टको बैठक बहिस्कार गर्ने निर्णय गरिसकेका छन् ।

प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त’ नगरे इजलास बहिष्कार गर्ने १४ न्यायाधीशको चेतावनी

आइतबार सर्वोच्च अदालतमा उपस्थित भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका १४ जना नेपाल बार एसोसिएसनका पदाधिकारीसमेत संलग्न हुनेगरी प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

आइतबारको बैठमा सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने अन्य चार जना न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल आइतबार काठमाडौंमा थिएनन् । १४ जना न्यायाधीशहरूले खाजा ब्रेकपछि इजलास नबसेर संयुक्त बैठक बसेका थिए ।

प्रधानन्यायाधीश जबराले आइतबार दिउँसो नेपाल बार एसोसिएसनको टोलीसँग छलफल गरेर सोमबारका लागि फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन र वकीलहरूलाई वरिष्ठ अधिवक्ताको लाइसेन्स वितरणका लागि निर्णय गर्ने एजेण्डा राखेर आइतबार पौने पाँच बजे न्यायाधीशहरूलाई फूलकोर्ट बैठकका लागि सूचना पठाइएको थियो । ‘प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने वा संघीय संसद्ले महाअभियोग लगाउनेसम्मको विषय आइरहेका बेला जबराले वकिलहरूलाई वरिष्ठ अधिवक्ताको लाइसेन्स बाँड्ने एजेण्डा ल्याएर विषयान्तर गर्न खोजे, ’ बैठकपछि सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘न्यायपालिकाको स्वतन्त्रता नै खतरामा परेको अवस्थामा वरिष्ठ अधिवक्ताको लाइसेन्स बाँड्ने विषय प्रधानन्यायाधीशले वकिलहरूलाई अल्मल्याउन ल्याएका हुन् । त्यसैले हामीले बहिस्कार गर्ने निर्णय गरेका छौं ।’

जबराले सोमबार साढे १ बजेका लागि फूलकोर्टको बैठक डाकेका थिए । त्यसअघि बिहान ११ बजे सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरू फेरि बैठक बस्ने निर्णय गरेका छन् । ‘अहिले काठमाडौंमा १४ जना मात्र उपलब्ध भएकाले हामी बैठक बसेका हौं,’ अर्का एक न्यायाधीशले भने, ‘प्रधानन्यायाधीश बाहेक अहिले सर्वोच्चमा बहाल रहेका सबै १९ जना न्यायाधीश उहाँले सही गर्नुभएन भन्ने कुरामा सहमत छौं ।’

बैठकमा न्यायाधीश हरि फुयालले आफूले संवैधानिक इजलास गठनबारे संविधानमा भएको व्यवस्था र अदालतमा विचाराधीन विषयमा कुन हदसम्म बोल्न पाइन्छ भन्नेबारे पनि व्याख्या होस् भनेर आदेश गरेको, त्यसबाहेक आफ्नो अन्य मनसाय नभएको बताएका थिए । उनको भनाइ उद्धृत गर्दै सर्वोच्चका एक न्यायाधीशले भने, ‘मैले उक्त मुद्दाका लागि इजलास बस्ने मिति नै तोकेर आदेश गरेको थिएँ । उक्त मितिमा सुनुवाइ हुन सकेन । त्यसमा म होइन प्रधानन्यायाधीश जिम्मेवार छन् । स्वतन्त्र न्यायापालिकाको पक्षमा म तपाईंहरूसँगै छु । वरिष्ठ न्यायाधीशहरूले गर्ने निर्णयमा मेरो सहमति छ ।’

एकपछि अर्को विवादास्पद निर्णयका कारण तीव्र ओलाचना भोगिरहेका प्रधानन्यायाधीश जबराप्रति बार एसोसिएसन नरम भइरहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशहरूले कडा कदम उठाउन लागेका हुन् । सर्वोच्चका अर्का एक न्यायाधीशले भने, ‘बारका पदाधिकारीलाई प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि दिने प्रलोभन दिएछन् । उनले मार्गप्रशस्त गर्नुपर्नेसम्मको कुरा आइरहेका बेला हामी न्यायलयमा थप क्षति नहोस् भनेर यस्तो कदम उठाउन बाध्य भएका हौं ।’ ती न्यायाधीशका अनुसार सर्वोच्चका सबै न्यायाधीशहरू प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गर्नेसम्मको मनस्थितिमा पुगेका छन् । ‘प्रधानन्यायधाधीशले मार्गप्रशस्त गर्नुपर्छ । गरेनन् भने सोमबार बिहान ११ बजे बस्ने बैठकबाट थप निर्णय गर्छौं । अब स्थिति ‘क्लाइमेक्स’ मा पुगेको छ,’ ती न्यायाधीशले भने ।

प्रकाशित : कार्तिक ७, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?