१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

माधव नेपालबाहेकका साथीहरु एमालेमा फर्किए हुन्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले पार्टीबाट केही अनुशासनहिन र अराजक तत्वहरुमात्रै बाहिरिएको बताएका छन् । उनले आगामी चुनावमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरे ।

माधव नेपालबाहेकका साथीहरु एमालेमा फर्किए हुन्छ : ओली

‘हाम्रो पार्टीबाट केही अनुशासनहिन, अराजक तत्वहरु बाहिरिएका छन् । बिग्रिएको आलुलाई बोराभित्र राख्नुहुँदैन । सबैलाई कुहाउँछ । त्यसकारण कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेजस्तै हो । माधव नेपालबाहेक अरु साथीहरु पार्टीमा फर्किए हुन्छ,’ आइतबार झापामा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘बिग्रिएका तत्वहरु थुपारेर काम छैन । त्यसकारण मैले भनेको हो, माधव नेपालजस्ता अपराधी तत्वलाई फेरि एमालेले ठाउँ दिँदैन । अरु साथीहरु फर्किए हुन्छ ।’

उनले एमालेले मात्रै देश बनाउन सक्ने दाबी गरे । ‘हामी फेरि चुनाव जित्छौँ । हामी देश बनाउन सक्छौँ,’ उनले भने, ‘अहिले संसद्मा‌ जे फुर्ती–फार्ती छ, त्यो हामीले गर्दा भएको हो । आगामी चुनावमा माधव नेपालले जितेर देखाउन्, प्रचण्डले चुनाव जितेर देखाउन् ।’

अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तारमै ३ महिना लगाउने दलहरुबाट अब नेपाली जनताले कुनै अपेक्षा नराख्न आग्रह गरे । ‘अहिले प्रचण्डले जे फुर्ती लगाइरहेका छन्, त्यो हामीले जोगाइ दिएको हो । अब त समानुपातिकमा बस्छन्, आउँला र खाउँला भनेर, तर त्यो हुनेवाला छैन,’ उनले भने, ‘जनस्तरमा जाँदा यिनीहरुलाई मोर्चा बनाउन् कि मर्चा हालुन् कि जेसुकै गरुन् । कसले भोट दिन्छ ? यी विनाशकारी, विध्वंशकारी, भड्काउने तत्व हुन् । यी अस्थिरता ल्याउने तत्व हुन् । स्थिरता बनाउने तत्व होइनन् ।’

उनले जनताले अब सत्तारुढ दलहरुलाई भोट माग्न जाँदा परमादेश माग्न अदालत जाऊ भनेर पठाइदिने बताए । ‘अब यिनलाई जनताले भोट दिँदैनन् । अब त भन्छन्, जाऊ न अदालत, परमादेश लिएर आऊ भनेर । किनकि यो जनताले बनाइदिएको सरकार नै होइन ।’

प्रकाशित : कार्तिक ७, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?