कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ सभा बैठक राेक्न कांग्रेस र एमालेकाे माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश १ मा सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवैले संसद् बैठक स्थगित गर्न माग गरेका छन् । मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची भएपनि दुवै दलले बैठक स्थगित गर्नका लागि माग गरेका हुन् । 

प्रदेश १ सभा बैठक राेक्न कांग्रेस र एमालेकाे माग

एमाले विभाजन भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सुरुमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेको थियो । प्रधानमन्त्री देउवा बाढी पहिरोले गरेको क्षति निरीक्षण गर्नका लागि पूर्वी क्षेत्रको भ्रमणमा रहेका छन् ।

त्यस लगत्तै सत्तारुढ एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेका हुन् ।

एमालेको पालिका अधिवेशन मंगलबार एकै पटक हुँदैछ । त्यसैगरी, एमालेको दसौं महाधिवेशनको विषयमा छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक हुँदैछ ।

दुवै दलको लिखित रुपमा बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका छन् ।

स्रोतहरुले नयाँ बन्न लागेको गठबन्धनमा भागबाण्डको विषय अन्तिम टुंगो नलागेको कारण कांग्रेसले आइतबारको बैठक सार्न खोजेको हो । सो प्रदेशमा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी पाउने विषयमा विषयमा केन्द्रमा सहमति भएपनि प्रदेशका नेताहरुले वाग्मती प्रदेशको जस्तै आलोपालो नेतृत्व खोजेको बताइएको छ । 'वाग्मती प्रदेशमा जस्तै यहाँ पनि कांग्रेसले आलोपालो सत्ताको नेतृत्व खोजेको छ,' एक नेताले भने ।

प्रकाशित : कार्तिक ७, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?