कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले स्थायी कमिटी : वडा अधिवेशनको पूर्वसन्ध्यामा १० बुँदेको विवाद चर्कियो

जयसिंह महरा

काठमाडौँ — पार्टीको आधार संगठन मानिने वडाको अधिवेशन सुरु हुने एक दिनअघि एमाले बैठकमा पार्टीको विवाद बल्झिएको छ । स्थायी कमिटीको शुक्रबारको बैठकमा १० बुँदे सहमति गर्नेमध्येका एक उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका निर्णयमा फरक मत राखेका हुन् ।

एमाले स्थायी कमिटी : वडा अधिवेशनको पूर्वसन्ध्यामा १० बुँदेको विवाद चर्कियो

असार २७ गते गरेको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष ओली नै असहमति भएको भन्दै रावल असन्तुष्ट बनेका हुन् । रावललाई उपमहासचिव घनश्याम भुसालले साथ दिएका छन् ।

स्थायी कमिटीको दोस्रो दिन शुक्रबारको बैठकमा १० बुँदेको कुरा उपमहासचिव भुसालले उठाएका थिए । एक स्थायी कमिटी सदस्यकाअनुसार अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनदेखि नेताहरूलाई पटक–पटक कारबाही गरेको र २०७७ फागुन २८ गतेका निर्णयलाई लिएर आत्मआलोचना नगरेको भन्दै भुसालले कुरा उठाएका थिए । ‘भुसालले सुरुमा १० बुँदे कार्यान्वयन र त्यसलाई लिएर अध्यक्षले दिनुभएका अभिव्यक्तिबारे कुरा उठाउनुभयो । प्रतिनिधिसभा विघटन, फागुन २८ को कुरा स्वीकार गर्नुस् भन्नुभयो,’ भुसालले भनेका कुराबारे ती सदस्यले थपे, ‘उपमहासचिवले अध्यक्षले नै हामीलाई ह्युमिलिएट हुने गरी १० बुँदेबारे यस्ता अभिव्यक्ति दिने ? भनेर प्रश्न पनि गर्नुभयो ।’

त्यसपछि अध्यक्ष ओलीले ‘लेखराज भट्टलगायतलाई कसरी घोक्र्याउने ?’ भनेर भुसाललाई प्रश्न गरेका थिए ।

भुसाललाई ओलीले दिएको जवाफ सुनेपछि उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा दिने घोषणा गरेका थिए ।

१० बुँदेलाई अक्षरश : कार्यान्वयन गर्नका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा नदिन रावललाई सुवासचन्द्र नेम्वाङ र शंकर पोरखेलले आग्रह गरेका थिए । ‘उहाँले ५ पन्नाको फरकमत पहिल्यै लेखेर ल्याउनुभएको रहेछ । त्यसलाई राख्नुभएको थियो,’ ती स्थायी कमिटी सदस्यले भने ।

स्थायी कमिटी सदस्य रघुजी पन्तले अहिलेसम्म भएका कुराको जस र अपजस अध्यक्ष ओलीले नै लिनुपर्ने धारणा राखेका थिए ।१० बुँदे सहमतिलाई ‘एकतारे’ भनेको प्रति उपाध्यक्ष रावल र उपमहासचिव भुसालले प्रश्न उठाएपछि अध्यक्ष ओलीले विवादलाई सधैंभरी बल्झाइरहन नहुने जवाफ दिएका थिए । उनले केही ठाउँमा मात्रै बाँकी रहेको विवादलाई लिएर ‘सबैतिर बाजा बजाउन हुँदैन’ भनेका थिए । देशभरी मिलेको छ । सुदूरपश्चिम लगायतमा केही जिल्लामा विवाद छ । अब बाहिर मिलेर गएको म्यासेज जानुपर्छ, हल्ला भएको जस्तो गर्नुभएन,’ ओलीको भनाइ थियो ।

रावलले भने १० प्रतिशत केन्द्रीय कमिटी सदस्य थप्ने लगायतका जिम्मेवारी पाएको कार्यदलले काम गरिनसक्दै विभिन्न लान्छना लगाउने काम अध्यक्ष निकटका नेताहरूले गरेकाले संयोजक भएर बसिरहन उचित नठानेको बताए । त्यस्तै, निष्कर्ष सुनाउने क्रममा प्रभु साहलाई मनाउन २ जनालाई केन्द्रीय कमिटी सदस्य बनाउने अध्यक्षको कुरा आफूलाई चित्त नबुझेको रावलको भनाइ थियो । ‘कार्यदलमाथि प्रश्न उठ्ने कुरा भएकाले मैले कार्यदलको संयोजक र त्यसको सदस्य समेत नरहने गरी राजीनामा दिने घोषणा गरेको छु,’ उनले भने, ‘१० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने र तत्सम्बन्धमा कार्यदलले गृहकार्य गर्ने भनेर निर्णय गरेको थियो र त्यो पार्टीव्यापी रुपमा जुन निर्देशन जारी गरेको थियो त्यतातर्फ कुनै ध्यान नदिने तर उहााले २ जना केन्ऽीय सदस्य मनोनयन गर्ने, प्रभु साहको समस्या समाधान गर्ने भन्ने कुरा ल्याउनु भएकाले त्यसप्रति पनि मेरा विमती छ । पार्टीको अपानी, पद्धति, प्रक्रिया र निर्णय विपरीत भएकाले फरक मत राखेका हुँ ।’

स्थायी कमिटीका निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले भने १० बुँदे कार्यान्वयन गर्ने निर्णय भएको बताएका थिए । ‘१० बुँदे कार्यान्वयन आम रुपमा भएको तर एकाध ठाउँमा समस्या रहेको हुँदा ती कार्यान्वयन हुन बाँकी रहेका ठाउँमा केन्द्रीय कमिटीको आगामी बैठकसम्ममा यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ । तद्अनुरुप सम्बन्धित कमरेडहरूलाई यससम्बन्धि निर्देशन दिने काम भएको छ ।’

वडा अधिवेशनमा कस्तो सन्देश जाला ?

अध्यक्ष ओलीले एकताको सन्देश जाने गरी प्रस्तुत हुन आग्रह गरे पनि वडा र पालिका अधिवेशनको पूर्वसन्ध्यामा बल्झिएको विवादले एमालेको आन्तरिक राजनीति तरंगित भएको छ ।

अध्यक्ष ओली पक्षका नेताहरूले विवाद उत्पन्न गर्नेमा उपाध्यक्ष रावल र उपमहासचिव भुसाल मात्रै भएकाले पार्टीको तल्लो तहसम्म धेरै प्रभाव नपर्ने दाबी गरेको छ । ओली निकट एक स्थायी कमिटी सदस्यले भने, ‘लोकतान्त्रिक पार्टीमा यस्तो विवाद हुनु सामान्य हो भन्ने कार्यकर्तामा परेको छ । यसले ठूलो प्रभाव पार्दैन ।’

ओली निकट अर्का स्थायी कमिटी सदस्यले भने,‘यो विवादले नराम्रो नै सन्देश जान्छ जस्तो लाग्दैन । रावल र भुसाल मात्रै भएकाले केही केही हल्ला त हुन्छ तर आमरुपमा यी दुई जनाले गर्दा माहोल बन्दैन ।’

उपाध्यक्ष रावलले भने महाधिवेशन र अधिवेशनमा कस्तो सन्देश जान्छ भन्ने कुराले आफूलाई प्रभाव नपार्ने बताए । मूल्य र मान्यताको राजनीति गर्ने भन्दै उनले आफ्ना कुरा राख्ने बताएका थिए ।

एमाले नेता कृष्णभक्त पोखरेलले भने १० बुँदे कार्यान्वयन गरेर जानुबाहेक अर्को विकल्प नभएको बताए । ‘१० बुँदेको हकमा सहमतिबाट जानुबाहेक अर्कोले आन्दोलनलाई फाइदा गर्दैन,’ उनले भने, ‘पार्टी एकताको भावनालाई सबैले पालना गर्नुपर्छ । एकताको मूल भावनालाई नकारात्मक प्रभाव पार्ने कुराले कम्युनिस्ट आन्दोलनलाई राम्रो गर्दैन ।’

प्रकाशित : कार्तिक ५, २०७८ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?