भिसाको म्याद सकिँदा ३२ नेपाली अफगानिस्तानमै अड्किए- समाचार - कान्तिपुर समाचार

भिसाको म्याद सकिँदा ३२ नेपाली अफगानिस्तानमै अड्किए

राजेश मिश्र

नयाँदिल्ली — तालिवानले अन्तिम समयमा रोक्दा अफगानिस्तानको काबुलमा अलपत्र परेका ३२ नेपाली स्वदेश फर्किनबाट वञ्चित भएका छन् । रोजगारीका लागि अवैधानिक तरिकाले अफगानिस्तान पुगेका ३४ नेपालीमध्ये दुई जना भने बुधबार काठमाडौं ओर्लिएका छन् । भिसाको म्याद सकिएको पाइएकाले अरूलाई विमानस्थलबाट फर्काइएको छ ।


तालिवानले गत अगस्ट १५ मा सत्ता कब्जा गरेयता उनीहरू काबुलमा अलपत्र थिए । ८ ठाउँमा छरिएर रहेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेर एक ठाउँमा जम्मा पारेको थियो ।

महिनौंदेखि उनीहरू सबै अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय निकायलाई सुरक्षाकर्मी आपूर्ति गर्ने बेलायती संस्था आईडीजीको संरक्षणमा छन् । आईडीजीले नेपालबाट पनि सुरक्षार्की आपूर्ति गर्ने गरेको छ । दिल्लीस्थित दूतावासको आग्रहमा उनीहरूलाई आईडीजीले आवास तथा खाना दिइरहेको छ ।

आईडीजीले नै उनीहरूलाई चार्टर्ड विमानबाट काठमाडौं पुर्‍याइदिने आश्वासन दिएको थियो । राष्ट्रसंघीय निकायमा कार्यरत नेपाली सुरक्षाकर्मीमध्ये ८६ जना बिदामा काठमाडौं आउने भएपछि उनीहरूसँगै अलपत्रहरूलाई पनि ल्याउने तयारी गरिएको थियो । आईडीजीले चार्टर गरेको इरानको महान एयर बुधबार नै काबुलबाट काठमाडौं पुगेको थियो । त्यसमा ८८ नेपाली र अन्य भारतीय नागरिक गरी १ सय ५ जना थिए ।

दिल्लीस्थित नेपाली नियोगका निमित्त प्रमुख रामप्रसाद सुवेदीले महिनौंदेखिको प्रयास अन्तिम समयमा सफल हुन नसकेको बताए । ‘विमानस्थलमा रहेका तालिवानी अथोरिटीले भिसाको म्याद सकिएकालाई रोक्यो,’ उनले भने, ‘उहाँहरूका लागि फेरि प्रयास थालिएको छ । आईडीजीमार्फत नै हामी निरन्तर सम्पर्कमा छौं ।’

जरिवाना तिरेर भिसाको प्रक्रिया पूरा गरिएपछि अर्को कुनै उडानबाट नेपाल ल्याइने तयारी रहेको उनले जानकारी दिए । आईडीजीले पनि अलपत्र परेकाहरूलाई नेपाल पुर्‍याउन प्रतिबद्ध रहेको दूतावासका अधिकारीलाई बताएका छन् । नेपाल सरकारले उनीहरूलाई नेपाल ल्याउन लाग्ने खर्चको सोधभर्ना गर्ने प्रतिबद्धता आईडीजीलाई दिएको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

परिवार खुसी त सबै खुसी

रूपा पुरी

समाजका विभिन्न क्षेत्रमा विभिन्न परिवर्तन भइरहेका हुन्छन् । तीमध्ये कति सकारात्मक हुन्छन् भने केही नकारात्मक । प्राकृतिक वा स्वाभाविक रूपमा भएको परिवर्तनलाई विकास मान्न सकिन्छ । सामान्यतया समाज परिवर्तन वा निर्माणमा व्यक्ति तथा परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ ।

मदर टेरेसाले कुनै बेला भनेकी थिइन्, ‘यदि तपाईं संसार बदल्न चाहनुहुन्छ भने घर जानुस् र आफ्नो परिवारलाई खुसी पार्नुस् ।’ यो भनाइले परिवार र व्यक्तिको महत्त्व दर्शाउँछ ।

व्यक्तिव्यक्तिबाट परिवार, परिवार–परिवारबाट समाज हुँदै देश बन्ने हो । एउटा व्यक्तिले परिवारबाट बाँच्नका लागि चाहिने कति धेरै सीप सिकेको वा पाएको हुन्छ । परिवारबाटै पाएको अनुभवले व्यक्तिलाई अघि बढ्न सघाउँछ, उसले गर्ने व्यवहारलाई पनि परिवारले निर्देश गर्ने गरेको हुन्छ । व्यक्तिको आनीबानी तथा क्रियाकलापसँग उसको पारिवारिक, सामाजिक एवम् सांस्कृतिक पृष्ठभूमि जोडिएको हुन्छ । समाजमा हुने विभेद, विसंगति, विकृति, ईर्ष्या, घृणाले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उसलाई असर गरिरहेको हुन्छ । अनुशासन, संयम, सकारात्मक सोचलगायत पनि व्यक्तिले परिवारबाटै पाउँछ । परिवारमा पाइने माया, स्नेह, सद्भाव, प्रेम तथा करुणा देखावटी हुन्न, प्रेरणादायी हुन्छ । परिवारबाटै व्यक्ति नयाँ काम गर्न प्रेरित हुन्छ ।

हामीले देखेकै छौं, समाजका केही अगुवा अरूलाई काम अह्राउन सिपालु हुन्छन्, आफू भने सिन्कोसम्म भाँच्दैनन् । उनीहरू बिर्सन्छन्— परिवार र समाजमा अरूलाई सिकाउनु छ भने आफैं उदाहरण बन्न सक्नुपर्छ, आफैंले काम गरेर देखाउनुपर्छ । यसो भए मात्र अन्य व्यक्तिले त्यसको अनुसरण गर्छन्, प्रेरणा पनि लिन सक्छन् । हरेक व्यक्ति प्रायः अग्रजबाटै प्रभावित हुने हो । अनि परिवारको मूलीको स्वभाव र काम गर्ने तरिका कस्तो छ भन्नेले पनि अन्य सदस्यको सोच्ने तरिका निर्धारण गर्छ ।

परिवारमा हरेक सदस्यले आफूलाई सुरक्षित महसुस गरेका हुन्छन् । सन्ततिले पुर्खादेखि बुबाआमाको पालासम्मका र आफू पनि संलग्न हुँदाको पारिवारिक संघर्ष वा स्थितिबारे थाहा पाउँछन् । परिवारमा विभेद भए त्यसलाई हटाउन गरिएको संघर्षको ज्ञान हुन्छ । परिवारले समाजमा पारेको प्रभावबारे पनि परिचित हुन्छन् । पुस्तौंदेखि सञ्चित विभिन्न ज्ञान, सीप र कलाले परिवारको सदस्यको दैनिकी सहज बनाएको हुन्छ । विगतबाट पाठ सिक्दै भविष्यमा कस्तो काम गरे आफू र आफ्नो परिवार, समाजका साथै देशकै विकास हुन्छ भन्ने राम्ररी थाहा हुन्छ । निर्णय क्षमताको पनि विकास हुन्छ ।

आजकल संयुक्त परिवारमा धेरै विकृति आएका छन्, त्यसमध्ये एउटा हो– वृद्धवृद्धा सदस्यको हेरचाहमा आएको कमी । उनीहरूको संरक्षणका नाममा वृद्धाश्रम खुल्ने क्रम बढेको छ । विकासका नाममा खुलेका वृद्धाश्रमले समाजमा राम्रै गरेको जस्तो देखिए पनि कालान्तरमा यसले परिवारका सबै सदस्य सँगै रहने, ज्ञान–अनुभव साटासाट गर्ने नेपाली संस्कृतिलाई नै कमजोर बनाउँछ । हाम्रो चलनमा पाहुनालाई भगवान्को रूप र आमाबुवालाई साक्षात् भगवान् मानिन्छ । तर, यसरी सोच्ने चलन हराउँदै गएको छ । पुरानो पुस्ताबाट नयाँ पुस्तामा अनुभव र ज्ञान हस्तान्तरण हुने प्रक्रिया पनि अवरुद्ध छ । सानो परिवारलाई समाज विकसित हुनुको एउटा सूचक मानिएकाले पनि अहिले धेरै व्यक्ति यतातिर बढी आकर्षित छन्, जुन हाम्रो जस्तो समाजका लागि उपयुक्त छैन । यसले कतिपय अवस्थामा व्यक्ति, परिवार, समाज र समग्र देशकै विकासमा बाधा पुर्‍याइरहेको छ ।

नयाँ पुस्ता पारिवारिक वातावरणमा भन्दा एक्लै बस्न मन पराउने, समाजमा घुलमिल हुनुको सट्टा मोबाइलमा मात्र रमाउने गरेको छ । यसले कालान्तरमा परिवारलाई विखण्डनतिर धकेल्छ, दुर्बल बनाउँछ । परिवार दुर्बल हुनु भनेको समाज नै कमजोर हुनु हो । त्यसैले परिवारमा देखिएका यस्ता समस्या समाधानका लागि परिवारभित्रैबाट कोसिस गर्नुपर्छ ।

प्रकाशित : कार्तिक ५, २०७८ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×