महाकाली पुलको डिजाइनमै प्रश्न
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
कञ्चनपुर — असार पहिलो साता महाकालीमा सामान्य बाढी आउँदा निर्माणाधीन चार लेनको पुलछेउको ग्राभेल पहुँचमार्ग भत्कियो । सय मिटर पहुँचमार्ग भत्किँदा पुलको डिजाइन इस्टिमेटका विषयमा व्यापक चर्चा भयो । दुवैतिर महाकाली र बीचमा पुल रहने अवस्था आउन सक्ने भएकाले डिजाइन परिवर्तन गर्नुपर्ने आवाजसमेत उठ्यो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![महाकाली पुलको डिजाइनमै प्रश्न](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/badhi-20102021060920-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
अहिले पनि महाकालीको एउटा भँगालो पुलभन्दा पूर्वतिरबाट बगिरहेको छ । महाकालीमा ९ दशकयताकै ठूलो बाढीले ६ लेनको कालोपत्रे सडक बगाएको छ । सडक बगाएर बाढी बस्तीमा पस्ने जोखिम बढेको छ । फेरि एकपटक पुलको डिजाइन र निर्माणाधीन संरचनाका विषयमा चर्को आवाज उठ्न थालेको छ ।
स्थानीयले पुल साँघुरो भएर बाँधको जस्तो काम गरेको बताएका छन् । ‘दुई/अढाई किलोमिटरमा बगिरहेको नदीलाई आठ सय मिटरमा थुन्न खोजिएको छ,’ भीमदत्त नगरपालिका– १२ ऐरीका भवानीप्रसाद पन्तले भने, ‘पुलको दुवैतर्फ निर्माण भएको पहुँचमार्गले बाँधको काम गरेको छ, जसका कारण नदी बग्न नपाई बस्तीतर्फ बगेको छ ।’
‘महाकालीको बहावका आधारमा पुलको लम्बाइ निकै कम हो,’ उनले भने, ‘पुलको डिजाइनमा पुनर्विचार आवश्यक छ ।’ उनले भुजेला खोलाको निकासका विषयमा पनि विकल्प खोज्नुपर्ने बताए । महाकालीमा सामान्य बाढी आउँदा पनि भुजेला खोला भएर नदी बस्तीमा पस्ने गरेको छ । महाकालीभन्दा भुजेला खोला गहिरो हुने भएकाले यसको व्यवस्थापन आवश्यक रहेको उनले बताए ।
महाकाली नदीमा निर्माणाधीन पुलको लम्बाइ ८ सय मिटर छ । जबकि उक्त क्षेत्रमा महाकालीको चौडाइ झन्डै अढाई किलोमिटर छ । अढाई किलोमिटरमा बगिरहेको नदीलाई ८ सय मिटरमा बगाउँदा जोखिम हुने स्थानीयको भनाइ छ । तर, पुल निर्माण कम्पनी र पुल आयोजनाका कर्मचारी भने यस विषयमा सहमत छैनन् ।
महाकालीको बहावलाई ८ सय मिटरमा बगाउन पुलछेउमै बनाउने भनिएको साइड बन्ड नबनेका कारण अहिलेको क्षति भएको प्राविधिकहरूले बताए । ‘यो त सामान्य सडक मात्रै हो, महाकाली बहाव रोक्ने गाइड बन्ड निर्माण हुन बाँकी नै छ,’ पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इनिजनियर किशोर पाण्डेले भने, ‘गाइड बन्डले नै हो नदीको बहाव रोक्ने ।’
पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाइका पोखरी निर्माण गरिनेछन् । नदी किनारमा ठूलो ढुंगा (२५७ किलोग्रामभन्दा बढी तौलको) ले गाइड बन्ड निर्माण गरिनेछ । यसका लागि झन्डै डेढ लाख घनमिटर ठूलो ढुंगा आवश्यक भए पनि हालसम्म उपलब्ध हुन सकेको छैन । पछिल्लो समय गाइड बन्डको डिजाइन नै परिवर्तन गर्ने विषयमा पनि छलफल भइरहेको इन्जिनियर पाण्डेले बताए ।
ठूलो ढुंगा प्रयोग गरी निर्माण हुने गाइड बन्डले महाकालीको ६ लाख क्युसेकसम्मको बहाव धान्न सक्ने उनको भनाइ छ । निर्माणाधीन पुलको क्षमता पनि यही हो । ‘सडक त पहुँचमार्ग मात्रै हो, बाढीको दबाब धान्न सक्ने होइन,’ उनले भने, ‘हालसम्मकै ठूलो बाढी आउँदा सडक भत्किनु स्वाभाविक मान्न सकिन्छ, गाइड बन्ड निर्माण हुन सकेको भए सडकमा दबाब पर्ने थिएन ।’
अहिले महाकालीको पूरै बाढी छ लेनको सडकतिरै सोझिएको छ । यसले समेत बढी क्षति पुर्याएको महाकाली पुल आयोजनाका इन्जिनियर वीरेन्द्र चन्दले बताए । गाइड बन्डका लागि आवश्यक ठूलो ढुंगा ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)