३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

देश बनाउने होइन, साठगाँठ जोगाउने चिन्ता छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको बताएका छन् । उनले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको बताए ।

देश बनाउने होइन, साठगाँठ जोगाउने चिन्ता छ : ओली

बुधबार काठमाडौंमा एमालेको वाग्मती प्रदेश अधिवेशन आयोजक समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारको त कुरै नगरौँ । यत्ति बेहाल, यस्ता मान्छे त यो कुनै कालमा पनि देखिएन । यत्ति साह्रो बेहाल भएको छ कि सरकार देश बनाउने होइन, ध्यान नै साठगाँठ जोगाउने कुरामा मात्रै छ ।’

उनले साठगाँठ नगरीकन आगामी चुनावमा एउटा वडा पनि जित्ने अवस्था नरहेको बताए । ‘लडाइँ एमाले र कांग्रेसका बीचमा मात्रै हो । अरुले त साठगाँठ नगरीकन एउटा वडा पनि जित्दैन । हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग मात्रै हो । कांग्रेसले जनताका बीचमा गएर के गरेँ भन्ने ? के देखाउने ? त्यो नै छैन,’ ओलीले प्रश्न गर्दै भने, ‘अहिले कांग्रेस नेतृत्वको सरकार छ, तर यो सरकार आलोचना गर्न पनि लायक छैन । टिप्पणी गर्न पनि लायक रहेन । साँच्ची यो सरकार कसले चलाएको छ ? भनेर कसैले भन्न सक्छ ?’

अध्यक्ष ओलीले एमालेलाई देखेर अरु सबै पार्टीहरु हडबडाएको अवस्थामा रहेको बताए । ‘अरु सबै पार्टीहरु हडबडाएका छन् । एमालेमात्रै ढुक्क छ । हामी चुनौतीरहित छौँ त भन्दैनौँ । तर, हामीसँग ती चुनौतीहरु पार लगाउने स्पष्ट योजना छ,’ उनले भने ।

अध्यक्ष ओलीले अहिले राज्य जनताप्रति इमान्दार रहेको अवस्था नरहेको बताए । उनले अदालतले समेत जनताको विश्वास गुमाउँदै जानु दुखद् भएको बताए ।‘अदालत अत्यन्तै मर्यादित हुनुपर्ने हो । जनताले विश्वास गर्नुपर्ने हो । तर, हेर्नुस् त, अदालतप्रति जनविश्वास कसरी खस्किएको छ ? त्यो धरासायी भइसकेको छ । हामी मुद्दा जित्छौँ, हार्छौं भन्ने कुरा मुख्य होइन । यी सबै अस्थायी कुरा हुन् । यी ठूला कुरा होइनन्,’ ओलीले भने, ‘तर, न्यायिक निकायको, अर्धन्यायिक निकायहरुको विश्वासमा लोकतन्त्र अड्याउनुपर्नेछ । कानुनको राज छ भन्ने कुरामा लोकतन्त्र जीवित राख्नुपर्नेछ । जनताप्रति सरकार इमान्दार छ भन्ने कुरामा जनता विश्वस्त हुनुपर्छ । तर, अहिले यो स्थिति छैन ।’

प्रकाशित : कार्तिक ३, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?