कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

बाढी-पहिरोबाट डोटीमा ९ को मृत्यु, १ जना बेपत्ता, ६५ भन्दा बढी घरपरिवार विस्थापित 

मोहन शाही

डोटी — लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोका कारण डोटीका बिभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको छ । घटनामा एक जना बेपत्ता छन् । 

प्रहरीले सायल गाउँपालिका वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको जानकारी दिएको छ ।

बाढी-पहिरोबाट डोटीमा ९ को मृत्यु, १ जना बेपत्ता, ६५ भन्दा बढी घरपरिवार विस्थापित 

त्यस्तै जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको खबर छ । जोरायलको वडा नं ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराको भनाइ उदृत गर्दै स्थानीय तारा कपड्यालले जोगी सार्कीकी श्रीमतीको उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको खबर दिएका छन् । त्यस्तै जोरायल गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पबित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।

त्यस्तै शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ । घाइते भएकी बलायरको उपचारका क्रममा सुजंग अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार सायल गाउँपालिकाको वडा नं १ मा छत्रेश्वर खोलाले बगाउँदा ७४ वर्षीय बिरे रोकाया बेपता भएका छन् । उनीहरूको अस्थायी प्रहरी पोष्ट छपालीको प्रहरी टोलीले खोजबिन गरिरहेको जनाएको छ । डोटीमा बिभिन्न ठाउँका ६५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित : कार्तिक २, २०७८ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?