कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

महाकालीमा उच्च बहाव, सतर्क रहन प्रशासनको आग्रह

मनोज बडू

काठमाडौँ — नेपाल–भारत सीमा नदी महाकालीको बहाव अत्यधिक बढेपछि सतर्कता अपनाउन प्रहरीले सचेत गराएको छ । महाकालीको बहाव मापन केन्द्र दत्तुमा रहेको मिटरमा ३.५ मिटर नाघेपछि खतरा मानिन्छ ।

महाकालीमा उच्च बहाव, सतर्क रहन प्रशासनको आग्रह

अहिले महाकालीको बहाव बढेर ४.६ मिटर पुगेको डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ब्यास गाउँपालिकादेखि तलसम्म नियमित वर्षा भइरहेको छ । ‘वर्षा नरोकिएकाले महाकालीको बहाव कतिबेला घट्छ भन्न सकिने अवस्था छैन । आइतबार रातिदेखि वर्षा रोकिएको अवस्था छैन । त्यसैले सतर्क रहनुपर्नेछ, ’ डिएसपी भट्टले भने।

महाकाली नदीमा पानीको सतह बढ्दा नद तटीय क्षेत्रमा कटान सुरु गरेको छ । यस्तै दुहु ब्यास क्षेत्रमा नियमित वर्षा भए महाकालीको बहाव अत्याधीक बढ्ने सम्भावना रहेको स्थानीयहरु बताउँछन् । महाकाली नगरपालिका–५ खेट्टेबगर, किम्तडी, धाप, दत्तु लगायत क्षेत्रका केही भागमा कटान सुरु गरेको खेट्टेबगरका स्थानीय विनोद भट्टले बताए । किम्तडी नजिक दार्चुला–गोकुलेश्वर खण्डको तलबाट पहिरो जान थालेपछि सडक भासिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त लोकमार्गका दुई-तीन ठाउँमा पहिरो खसेको छ । यस्तै जिल्ला सदरमुकाम बङ्गाबगर पारिपट्टी भारतीय खोतिला क्षेत्रको पहिरो खसिरहेको हुनाले समस्या आउनसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार पहिरो गएका क्षेत्रमा नदीले कटान गरिरहेको र माथिबाट माटो ढुङ्गा खस्ने क्रम जारी छ । सदरमुकाम क्षेत्रमा पक्की तटबन्ध बने पनि जिल्ला सदरमुकामदेखि तल्लो नदी तटीय क्षेत्रमा खोतिला पहिरोले जोखिम कायमै छ । एक्कासी माथिबाट सबै पहिरो एकैसाथ नदीमा खसे बाढीको जोखिम रहेको उनको भनाइ छ ।

यस्तै महाकाली नगरपालिका–२ बडालीगाउँका ५ घर पहिरोको जोखिममा रहेकाले उक्त परिवारहरुलाई सुरक्षित ठाउँमा सारिएको डिएसपी भट्टले बताए । उनीहरुको अन्न भकारीसहित अन्य ठाउँमा सारिएका छन् ।

प्रकाशित : कार्तिक २, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?