महाकालीमा नौ दशकयताकै ठूलो बाढी- समाचार - कान्तिपुर समाचार
बेमौसमी वर्षाको असर

महाकालीमा नौ दशकयताकै ठूलो बाढी

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा मंगलबार नौ दशकयताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् ।

ती कर्मचारीका अनुसार मंगलबार दिउँसो २ बजे महाकालीमा पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक मापन गरिएको छ । यसअघि २०७० मा ५ लाख ४४ हजार ४७६ क्युसेक मापन गरिएको थियो । नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्तीहरु जलमग्न बनेका छन् ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका दुवैतर्फका नदी किनारका बस्तीहरुमा बाढी पसेको छ । भीमदत्त नगरपालिका ११, १२ र १३ का आधा दर्जन बढी बस्तीहरु डुबेका छन् । यसैगरी दोधारा चाँदनी वडा नं. ८ सुन्दरनगर र वडा नं. १० कुतियाकभर डुबानमा परेका छन् ।

सन् १९२८ मा निर्माण भएको शारदा ब्यारेजमा १९३४ मा महाकालीमा ठूलो बाढी आएको थियो । त्यतिबेला पानीको बहाव ५ लाख २२ हजार क्युसेक पुगेको थियो । दिउँसो पछि भने बाढी घट्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३ बजेको मापनअनुसार पानीको बहाव ५ लाख ३३ हजार क्युसेक पुगेको छ ।

शारदा ब्यारेजका क्षमता ६ लाख ४४ हजार क्युसेक हो । बाढी खतराको सतह पार गरेपछि शारदा ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । सर्वसाधारणलाई हिँड्डुल बन्द गरिएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

भारतको नेशनल डिफेन्स कोर्सका सदस्यहरु सैनिक मुख्यालयमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतको नेशनल डिफेन्स कोर्स–२०२१ का सदस्यहरुले सैनिक मुख्यालयमा मंगलबार भेटवार्ता गरेका छन् । जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले भ्रमण दलका प्रमुख रिअर एड्मिरल धीरेन भिजसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरे । लगत्तै नेपाली सेनासम्बन्धी विषयहरुमा प्रस्तुतीकरण र अन्तरक्रिया भएको सेनाले जनाएको छ । 

कार्यक्रमको सुरुवातमा प्रधानसेनापति शर्माले यस्तो भ्रमणबाट दुई देशका सेनाबीचको सम्बन्ध सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । भ्रमण दलले मंगलबारै सैनिक श्रीमती संघको कार्यालयमा पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।

भ्रमण दलले रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । कोर्समा अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश छन् । टोली कात्तिक ६ गते फर्कने कार्यक्रम छ ।

प्रकाशित : कार्तिक २, २०७८ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×