कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद्को आकलन

विगतका चरम मौसमी गतिविधि विश्लेषण गर्दै मौसम विभाग
अब्दुल्लाह मियाँ

काठमाडौँ — बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् ।

बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद्को आकलन

‘पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउँछ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले कान्तिपुरसित भनिन्, ‘आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहन्छ ।’महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ । सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ । मनसुनपछि पनि केही स्थानमा आरीघोप्टे वर्षा भएको छ ।

हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । बाक्लो हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले सुझाएका छन् । सूदूरपश्चिमको डडेलधुरामा २४ घण्टामा मनसुन अवधिमाजस्तै वर्षा भएको छ । डडेलधुरामा २२०, दिपायलमा १८७.५, धनगढीमा १४०.२ मिमि वर्षा रेकर्ड भएको छ । प्रदेश १ का केही स्थानमा पनि भारी वर्षा भएको छ । सूदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना भएकाले सचेत रहन विभागले सूचित गरेको छ । कतिपय नदीमा जल सतह बढेको र अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराइएको छ ।

विभागले गत साता नै मुलुकबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो । मौसमविद्हरुले भने अहिलेको मौसमी प्रणालीलाई मनसुनपछिको मौसमी गतिविधि भनेका छन् । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन् ।

विगत विश्लेषण गर्दै विभाग

जलतथा मौसम विज्ञान विभागले विगतका अक्टोबर महिनामा भएका चरम मौसम (एक्स्टि्रम वेदर) बारे विश्लेषण सुरु गरेको छ । ‘अघिल्ला वर्षहरुमा यो महिनामा यस्तो मौसम कहिले कहिले थियो भनेर हामीले तथ्य केलाइरहेका छौं,’ विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन् ।

जलवायु परिवर्तनसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययनहरुले पनि केही वर्षयता वर्षाको चरित्र बदलिएको र चरम मौसमी गतिविधिहरु बढेको उल्लेख गरेका छन् । यो वर्षको मनसुनमा पनि विभिन्न स्थानमा आरीघोप्टे वर्षा भएको थियो र त्यसले ठूलो क्षति निम्त्याएको थियो ।

प्रकाशित : कार्तिक २, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?