कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमबहादुरको हत्याका दोषीलाई कारबाही गर्न दलित मुक्ति संगठनको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल दलित मुक्ति संगठनले चितवनका भीमबहादुर विश्वकर्माको जघन्य हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले सोमबार विज्ञप्ति जारी गर्दै भीमबहादुरको आततायी हत्याराहरुमाथि कडाभन्दा कडा कारबाही गर्न र उनका परिवारलाई न्यायपूर्ण क्षतिपूर्तिको माग गरेका छन् ।

भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुरको २८ असोजमा स्थानीयको कुटपिटबाट मृत्यु भएको थियो । घटनाका सम्बन्धमा संगठनका केन्द्रीय उपाध्यक्ष तथा वागमती प्रदेश इन्चार्ज चक्र रुचालसहितले गरेको स्थलगत भ्रमणले स्थानीयवासीले जातीय विभेदको सोचकै कारण भीमबहादुरको हत्या गरेको निष्कर्ष निकालेको छ ।

‘दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने माग गर्दा सामन्य विवादमा कुटपिट गरी जघन्य हत्या गरेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो संगठन यो अमानवीय पासविक घटनाको घोर भर्त्सना गर्दछ,’ अध्यक्ष विकले विज्ञप्तिमार्फत् भनेका छन्, ‘दलितले पनि मन्दिरमा पूजा गर्न पाउनुपर्ने कुरा उठाएकै भरमा कुटीकुटी हत्या गर्ने अमानवीय राक्षसी प्रवृत्तिको जति विरोध गरे पनि कम नै हुन्छ ।’

संगठनले आफूहरुको स्थलगत अवलोकनका क्रममा दुर्गा मन्दिरको प्रांगणमा जम्मा भएका स्थानीयहरुका बीचमा गएर विश्वकर्माले मन्दिरमा हामीले पनि बोकाको बली दिन पाउने कि नपाउने ? भनेर प्रश्न गरेका थिए ।

त्यही विषयमा स्थानीय सीताराम बस्नेतले 'असम्भव कुरा गर्छस् !' भन्दै पाइपले कुटेर घाइते बनाएका थिए । कुटाइबाट घाइते भएका विश्वकर्मा स्थानीय पल्लवी फार्मेसीमा प्रवेश गर्न लाग्दा फार्मेसीका संचालक दीलिप श्रेष्ठले मुक्काले टाउकामा हिर्काएर बेहोस हुने गरी भुइँमा ढलाएका थिए । उपचारका लागि उनलाई अस्पताल लैजाने क्रममा चिकित्सकले विश्वकर्माको मृत्यु भएको घोषणा गरेका थिए । संगठनका अध्यक्ष विश्वकर्माले जातीय छुवाछुत र भेदभावका विषयमा विशेष कदम चाल्न पनि माग गरेका छन् ।

प्रकाशित : कार्तिक १, २०७८ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?