२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

मधेसमा मातृभाषा राजनीति : मैथिलीको विकल्प खोज्दै मन्त्रीहरु

श्याम सुन्दर शशि

जनकपुर — गत श्रावण २ गते शनिबार प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह र राज्यमन्त्री रुवी कुमारी कर्णको शपथ ग्रहण समारोह झण्डै डेढ घन्टा ढिलो सुरु भयो । समारोह ढिलो हुनुको कारण थियो – दुवै मन्त्रीले मातृभाषा मैथिलीमा शपथ लिन चाहेका थिए ।

मधेसमा मातृभाषा राजनीति : मैथिलीको विकल्प खोज्दै मन्त्रीहरु

उनीहरुले शपथको मैथिली अनुवाद पनि सँगै लिएर गएका थिए । प्रदेश कानूनका कारण उनीहरुले मातृभाषामा शपथ लिन भने सकेनन् । दुवैले शपथपत्रको मैथिली अनुवाद मुख्यमन्त्री लालबाबु राउतलाई बुझाए अनि मञ्चबाटै घोषणा गरे – ‘पहिलो कैविनेटमै मातृभाषामा शपथ सम्बन्धी बिल लैजानेछु ।’

साह मन्त्री बनेको ठ्याक्कै तीन महिना पुगेको छ । मातृभाषामा शपथ सम्बन्धी कानून बन्नु कता हो कता, शपथ लिएको २३ औं दिन श्रावण २५ गते आफ्नो उनले पुरानो स्टेण्ड पनि बिर्से । र सगौरव घोषणा गरे – 'मेरो मातृभाषा मगही हो । मगही फाउण्डेशनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका मन्त्री भरत साहले आफूहरुको मातृभाषा मैथिली नभई मगही भएको दावी गरे । उनको भनाइ थियो – ‘मगहीलाई समाप्त पार्न केही सम्भ्रान्त वर्गका मानिसहरु बलजफ्ती मैथिली भन्न थालेका छन् । लेखाउन थालेका छन् ।’

मन्त्री साह यतिमै थामिएनन्, आफूहरु मगध मूलका भएकाले जन्मजात मगहीभाषी भएकोसमेत दावी गरे । आफ्ना पुर्खाले जानकारीको आभावमा मातृभाषा मैथिली लेखाएको उनको तर्क थियो । स्मरणीय के भने प्रदेश २ मा मैथिलीभाषीको संख्या २ प्रतिशतमात्र भएको उद्घोष गर्ने मन्त्री साह उक्त भाषण भने मैथिली भाषामै गरेका थिए । मन्त्री साहले राष्ट्रिय जनगणना २०७८ मा मातृभाषा कोलममा मगही लेखाउन अपिलसमेत गरे ।

मिथिलाञ्चलमा विभिन्न मूल (मूल थातथलो) का मानिसहरुको बसोवास भए पनि मूलतः मिथिला मूलका मैथिल, उत्तर प्रदेशको कनौजमूलका कनौजिया, अयोध्या मूलका अयोधिया तथा मगध (गंगापारी) मूलका मगहियाहरुको बसोवास उल्लेख्य संख्यामा छ ।

मन्त्री साहको उक्त अभिव्यक्तिलाई स्थानीय युवा क्लवहरुले संयुक्त रुपमा निन्दा गर्दै मुख्यमन्त्री लालबाबू राउत तथा मन्त्री साहलाई पनि ध्यानाकर्षण पत्र बुझाएका थिए । प्रतिउत्तरमा मुख्यमन्त्री राउतले मन्त्री साहको अभिव्यक्ति निजी भएको भन्दै त्यसतर्फ अन्य टिप्पणी गर्न चाहेनन् ।

राष्ट्रिय जनगणनाको क्रममा मातृभाषा सम्बन्धी विवाद भएको यो पहिलो भने होइन । यसअघि २०५८ र २०४८ को जनगणनामा पनि मैथिली विरुद्ध षड्यन्त्र भएको मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनील मिश्र बताउँछन् ।

‘यसअघि पनि यस्तै हल्ला फैलाइएको थियो तर मैथिलीभाषीको संख्यामा कुनै फरक परेन,’ मिश्रले कान्तिपुरसँग भने । समाजशास्त्रका जानकार मानिने पूर्वमन्त्री रामचन्द्र झा मिथिलाञ्चलमा बसोवास गरेको झण्डै २ सय वर्षपछि मगधमूलका व्यक्तिहरु आफ्नो पहिचानको खोजी गर्दै मातृभाषा मगहीको वकालत गर्न लागेको बताउँछन् ।

कान्तिपुरसँग उनले भने – ‘मगही पनि भाषा हो । तर बोल्ने मैथिली अनि भन्ने वा जनगणनामा लेखाउने चाहिँ मगही ? यो नैतिक कार्य हुन सक्दैन । ’

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी सबभन्दा पहिले सिकेको, सबभन्दा बढी सीप भएको र परिवेश तथा संस्कृतिको आधारको रुपमा रहेको भाषा मातृभाषा भएकाले जनगणनामा सही कुरा मात्र लेखाउनुपर्ने सुझाव दिन्छन् ।

‘तथ्यांक विभागले जनगणनामा सही तथ्यांक आओस् भन्ने लक्ष्य राखेको छ । गलत सूचना दिनु भनेको राज्यप्रतिको दायित्व निर्वाह नगर्नु हो । प्रत्येक व्यक्तिले आफ्नो विवेकको प्रयोग गरेर इमानदारीपूर्वक जानकारी दिनुपर्छ । ’ कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने ।

भाषा वैज्ञानिक प्रा.डा.रामावतार यादवका अनुसार आफूलाई पढेलेखेका तथा उच्च वर्गमा राख्नेहरुको एकाधिकारका कारण मैथिलीभाषीहरु आक्रोशित बन्न थालेका छन् । जनकपुरमा हालै आयोजित एक साहित्यिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन् –‘दुई जनाबीच भएको वार्ता दुवैले बुझ्छ भन्ने उनीहरु एउटै भाषा बोलेको ठहर्छ । तर केही उच्च वर्गका व्यक्तिहरु मानकीकरणको नाममा मैथिलीलाई आफ्नै ठान्दछन् जो आक्रोशको कारण बनेको छ ।’

जनगणनालाई प्रभावित पार्न यसअघिका जनगणनाहरुमा मैथिली मातृभाषा लेखाएका तथा अझै पनि मातृभाषाको रुपमा मैथिली बोल्ने केही व्यक्ति अन्य भाषालाई मातृभाषाको रुपमा लेखाउने अभियान सुरु गरेका छन् । जसलाई प्रदेश २ का केही वर्तमान र पूर्वमन्त्रीहरु पनि सघाउँदैछन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार – प्रदेश २ मा मैथिलीभाषीको संख्या ४५ दशवलव ३०, भोजपुरीभाषीको संख्या १८ दशवलम ५८ तथा बज्जिकाभाषीको संख्या १४ दशमलव ६७ प्रतिशत छ । २०७५ माघ ७ गते प्रदेशसभा सदस्यहरुको सम्पन्न शपथग्रहण समारोहमा कुल १ सय ७ प्रदेशसभा सदस्यमध्ये ४७ जनाले मैथिलीमा, २५ जना भोजपुरीमा, २४ जना नेपालीमा तथा राजपाका २५ मध्ये ११ जना प्रदेशसभा सदस्यले हिन्दीमा शपथ लिएका थिए । तर मैथिलीमा शपथ लिने केही मन्त्रीहरु पछिल्लो समय अन्य भाषालाई मातृभाषा भन्न थालेका छन् ।

भाषा वैज्ञानिक प्रा.डा.योगेन्द्रप्रसाद यादव पछिल्लो मातृभाषाको नाममा राजनीति र सामाजिक दवाव सृजना हुन थालेको टिप्पणी गर्छन् । भाषामाथि जातीयता र क्षेत्रीय हावी हुन लागेको उनको भनाइ छ । भूगोल, समुदाय तथा विद्यालयका साथीहरुले बोल्ने भाषाको कारण मातृभाषा थपिनसक्ने उनले बताए । ‘भूगोल, शिक्षा तथा परिवेसको कारणले मातृभाषा एक भन्दा बढी पनि हुनसक्छ । तर मातृभाषा परिवर्तन हुँदैन,’ उनले भने ।

प्रकाशित : कार्तिक १, २०७८ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?