२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जब निगमको जहाज ७ यात्रु छाडेरै उड्यो

दसैंको टीका थाप्न र बिरामी अभिभावकलाई भेट्न हिँडेका यात्रु समयमै विमानस्थल पुगे पनि जान पाएनन्
सुरज कुँवर

काठमाडौँ — माइतीको हातबाट दसैंको टीका लगाउने खुसी मनमा साँचेर शारदा राउत आइतबार बिहान सानो काखे बाबुसहित भोजपुर जान काठमाडौं विमानस्थल पुगिन् । उनको टिकटमा काठमाडौं–भोजपुर समय बिहानको ८:३० बजे लेखिएको थियो । उनी एक घण्टाअघि अर्थात् ७:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक ट्रमिनल भवनमा पुगिसकेकी थिइन् । टिकट थियो, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ।

जब निगमको जहाज ७ यात्रु छाडेरै उड्यो

निगमको काउन्टरमा जब उनी बोर्डिङ पास लिन पुगिन् । त्यहाँ निगमका कोही कर्मचारी थिएनन् । लगत्तै उनी ३ महिनाको सानो छोरा र झोलातुम्बा बोकेर निगमको टर्मिनल भवनभित्रै रहेको विमानस्थल कार्यालयमा पुगिन् । उडानबारे त्यहाँ रहेका कर्मचारीले दिएको खबरले माइती घरमा दसैं मनाउने उनको योजना क्षणभरमै भताभुंग भयो । उनले टिकट काटेको जहाज त एक घण्टाअघि नै भोजपुरका लागि उडिसकेछ ।

निगमको टुइनअटर जहाजले शारदालाई मात्रै होइन उनी जस्तै दसैंको टीका थाप्न घर फर्किन लागेका र बिरामी अभिभावकलाई भेट्न जाँदै गरेका ७ जना यात्रुलाई छाडेर बिहान ६:४५ बजे नै उडिसकेको रहेछ । जहाज उडिसकेको खबर थाहा पाएपछि त्यहाँ छुटेका यात्रु र कर्मचारीबीच भनाभन चल्यो । कर्मचारी पन्छिए । ‘हामी केही गर्न सक्दैनौं । न्युरोड हेड अफिस जानुहोस् । टिकटमा समय जसले लेखेको उसैलाई भन्नुहोस् भनी सेवाग्राहीसँग पन्छिए,’ राउतले भनिन्, ‘झन्डै हात हालाहालको अवस्था आइपर्‍यो ।’

निगमको जहाजले काठमाडौं–भोजपुर यात्रामा ४० मिनेट समय लगाउँछ । यो रुटमा निगमले प्रतियात्रु ५ हजार ३ सय रुपैयाँ भाडा लिन्छ । ‘अरू बेला समय सारिएको फोन आउँथ्यो, यसपटक त्यस्तो केही खबर गरिएन,’ राउतले भनिन् । उडानमा रहेका चालक दलले भोजपुर पुगेर काठमाडौं फर्किने बेलामात्रै यात्रु छुटेको खबर पाएका थिए । ‘भोजपुरबाट उडेको केही समयपछि एटीसीले तपाईंहरूले काठमाडौंमा ७ जना यात्रु छाडेर आउनुभएको रैछ भने,’ उक्त उडानमा रहेका क्याप्टेन रचित मल्लले कान्तिपुरसँग भने ।

टर्मिनलमा रहेको निगमको कार्यालयबाट सहयोग नपाएपछि उडान छुटेका ७ यात्रु निगम मुख्यालय पुगे । त्यहाँ टिकटमा साढे ८ बजे लेख्ने अधिकृत ओमप्रकाश ठाकुरसँग निकै भनाभन चल्यो । लामो वादविवादपछि उनीहरूलाई सोमबारको ९ बजेको उडानको टिकट बनाइयो । यो घटनाबारे यात्रुले आइतबारै पर्यटन मन्त्रालयमा पनि उजुरी दिए । यात्रुको उजुरीपछि पर्यटन मन्त्री प्रेमबहादुर आलेले निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई घटनाका सम्बन्धमा छानबिन गर्न भनेका छन् । मन्त्रीको निर्देशनपछि निगमको वाणिज्य विभागका निर्देशक जनकराज कालाखेतीले टिकट बिक्री गर्ने अधिकृत ओमप्रकाश ठाकुरलाई ४८ घण्टाको स्पष्टीकरण सोधेका छन् । ‘काठमाडौं–भोजपुर यात्रा गर्ने यात्रुहरूलाई मर्का पर्न गएको र ७ यात्रुको राजस्व गुम्नुका साथै निगमको साखमा समेत गम्भीर असर पर्न गएको हुँदा के कति कारणले यस्तो लापरबाही भएको हो सोमबार कार्यालय समयभित्र स्पष्टीकरण पेस गर्नू,’ अधिकृत ठाकुरलाई लेखिएको स्पष्टीकरणमा उल्लेख छ ।

प्रकाशित : आश्विन ३१, २०७८ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?