कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायका लागि ४९ दिनदेखि अनवरत संघर्ष, तर सरकार सुन्दै सुन्दैन

८ दिनदेखि आमरण अनशनमा रहेकी रुबीको स्वास्थ्य अवस्था बिग्रिँदो
प्रकाश धौलाकोटी

काठमाडौँ — एकपछि अर्को गरी भएका महिला हिंसा र हत्याका घटनामा दोषीलाई कारवाहीको माग गर्दै बाँकेका महिला ४९ दिनदेखि अनवरत संघर्षमा छन् । उनीहरुको नारा छ, ‘महिलाको हत्या, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार !’ 

न्यायका लागि ४९ दिनदेखि अनवरत संघर्ष, तर सरकार सुन्दै सुन्दैन

महिलामाथि भएका ज्यादतिका घटनामा सरकारको मौनता तोड्न उनीहरुले नेपालगञ्जमै जिल्ला प्रहरी कार्यालय अगाडि १९ दिनसम्म धर्ना दिए । जिल्लाका प्रशासकले माग नसुनेपछि उनीहरु प्रदेश सरकारसम्म पनि पुगे । त्यसपछि २० दिनसम्म रातदिन पैदल हिँडेर भोकैतिर्खै काठमाडौं आइपुगे, २१ असोजमा । त्यसयता उनीहरु दिनहुँ माइतीघर पुगेर सरकारलाई घच्घच्याइरहेका छन् । तर सरकारले उनीहरुका मागबारे अझैपनि चासो देखाएको छैन ।

बरु प्रहरीले उनीहरुको आवाजलाई दबाउन धरपकड र पक्राउ गरी हिरासतमा लिने र झुटो मुद्दा चलाउनेसम्मको कोशिस गरिरहेको छ । प्रहरीले २२ असोजमा माइतीघरबाट उठाएर उनीहरुलाई एक रात हिरासतमा राख्यो । आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खानलाई त माइतीघरबाट धरपकड गरेर नेपालगञ्ज पुर्‍यायो । झुटो मुद्दा लगाउन उद्धत प्रहरीले सर्वोच्च अदालतको आदेशपछि हिरासतमा लिएको ६ दिनपछि शुक्रबार छाडेको छ ।

नेपालगञ्जदेखि न्यायका लागि पैदलै हिडेर आइपुगेका उनीहरुको न बस्ने ठाउँ छ, न खाने ठेगान । एकातिर प्रहरीको धरपकड, अर्कोतिर पैदल हिँड्दा खुट्टामा उठेका फोका फुटेर चहर्‍याईरहेको घाउ । तर पनि उनीहरुले नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि सरकारलाई खबरदारी गर्न छाडेका छैनन् । ११ महिलासहित १४ जनाको टोली छ उनीहरुको । बिहान ११ बजेदेखि ५ बजेसम्म माइतीघरमा धर्ना दिन्छन्, त्यसपछि साँझ कलंकी पुगेर बास बस्छन् ।

आन्दोलनको चाँजोपाँजो महिला अधिकार मञ्चले मिलाएको हो । ०६१ सालमा स्थापित मञ्च ४४ जिल्लामा सक्रिय छ । तर यो गैरसरकारी संस्था होइन । आन्दोलनमा १८ वर्षकी बब्ली धोबीदेखि झण्डै ५० वर्ष पुग्न लागेकी आवाजा दर्जीसम्म सामेल छन् ।

आन्दोलनको नेतृत्व गरिरहेकी महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य रुबी खानले प्रहरी हिरासतबाटै भोक हड्ताल थालेकी थिइन् । उनले अहिले पनि त्यसलाई निरन्तरता दिएकी छिन् । उनीहरुको माग यत्ति हो कि नन्कुन्नी धोबी र निर्मला कुर्मी मृत्यु प्रकरणको गहन अनुसन्धान गरी दोषीमाथि कारवाही होस् । तर कानुनीरुपमा स्वतः गर्नुपर्ने यी कार्यबाट प्रहरी भने भागिरहेको छ ।

‘रुबी दिदी ८ दिनदेखि आमरण अनशनमै हुनुहुन्छ । केही खानुभएको छैन । बस्न नसक्ने, बोल्न नसक्ने अवस्था बनिरहेको छ,’ महिला अधिकार मञ्च बाँकेकी सदस्य सकिना तेलीले भनिन्, ‘उहाँको स्वास्थ्य बिग्रिँदो छ, हामीलाई कसैले चासो दिएको छैन ।’

उनले आफूहरुको आन्दोलन र मागका बारेमा संघीय सरकारले कुनै चासो नदिएको बताइन् । ‘हामी १० दिनदेखि यहाँ माइतीघरमा बसेर धर्ना दिइरहेका छौँ । तर, सरकारले कुनै चासो दिएको छैन । कुनै पहल गरेको छैन । दिनभरि यहाँ बस्छौँ । बेलुकी कलंकीमा सुत्ने प्रबन्ध मिलाइदिनुभएको छ, त्यहाँ अरुले नै खानेकुराको पनि जोहो गरिदिनुभएको छ,’ उनले भनिन्, ‘तर सरकारले हामीलाई सुनेको छैन, सुनेन । जबसम्म हाम्रो माग पुरा हुदैन, तबसम्म हामी निरन्तर आन्दोलन जारी राख्छौँ ।’

उनले दोषीहरु खुलेआम हिँड्ने र तिनलाई कारवाहीको माग गर्दा आफूहरुमाथि धरपकड र झुटो मुद्दाको प्रयास भएको भन्दै गुनासो गरिन् । ‘दोषीहरु खुलेआम हिडिरहेका छन् । सरकार उनीहरुलाई कारवाही गर्दैन, बरु उल्टै हामीलाई यहाँबाट हटाउन लागिपरेको छ, । तर हामी दोषीलाई कारबाहीको प्रक्रिया अघि नबढाएसम्म आन्दोलन रोक्दैनौँ,’ उनले भनिन् ।

२२ असोजमा धर्नारत सबैलाई प्रहरीले पक्राउ गरेको थियो । अर्को दिन सबै छुटे । तर, आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खानलाई भने प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रबमोजिम भन्दै नेपालगन्ज पठायो । तर, सर्वोच्च अदालतले नै प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर गर्दै रिहा गर्न आदेश दिएपछि उनी बिहीबारै छुटेकी थिइन् । अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् । त्यही रिटको सुनुवाइका क्रममा न्यायधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार नै खानलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

बीहीबारमात्रै ६ दिनपछि प्रहरी हिरासतबाट छुटेकी खानले प्रहरीले आफूहरुको माग सम्बोधन गर्नुको सट्टा आफुहरुमाथि झुटो मुद्दा लगाउने प्रयास गरेको बताएकी थिइन् । ‘ममाथि प्रहरीले झुटो मुद्दा लगायो । आन्दोलन रोक्नका लागि जालझेल गर्‍यो । ममाथि जबरजस्ती मुद्दा लगाउने कोसिस गरिएको छ । पक्राउ पुर्जीसमेत नदिई ६ दिनसम्म कसरी मान्छेले थुनेर राख्न मिल्छ ?,’ खानले भनिन्, ‘मलाई अझै पनि प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्छ । जति पटक पक्राउ गरे पनि मलाई केही छैन । हामी न्याय नपाएसम्म नेपालगन्ज फर्किदैनौं ।’

उनले आफूहरुको आन्दोलन सुरु भएपछि प्रहरीले नन्कुन्नी धोबीको हत्यामा संलग्न केहीलाई समातेर मुद्दा अदालत पुगिसकेको भनेर प्रचार गरेको बताइन् ।

‘प्रहरीले हामीलाई, आमनागरिकलाई भ्रम पार्ने कोशिस गरिरहेको छ, मुद्दा अदालतमा पुगिसक्यो भनेर उता हल्ला गरेको छ,’ खानले भनिन्, ‘हामीले आन्दोलन थालेपछि नन्कुन्नी धोबी हत्याका अभियुक्त मात्र समातिएका छन् । तर, अहिलेसम्म पनि प्रहरीले अपहरण शरीर बन्धक, कर्तव्य ज्यान गरी हत्या गरिएकी निर्मला कुर्मीका दोषीहरु समातिएका छैनन् । बरु उनीहरु बाहिर खुलेआम हिँडेर भएका प्रमाण पनि नष्ट पारिरहेका छन् ।’

नन्कुन्नी धोबी गत ५ साउनमा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनका भाइ माताप्रसादका अनुसार विवाहको झन्डै सात वर्ष भएपछि पनि नकुन्नीको सन्तान भएको थिएन ।

‘छोराछोरी नभएपछि भिनाजुले दाइको छोरालाई गोद लिन खोजेका थिए । तर दिदी त्यो पक्षमा थिइनन्,’ माताप्रसादले कान्तिपुरसँग भनेका छन्, ‘भिनाजु रामकुमारको पहिलो श्रीमतीबाट एक छोरी थिइन् । पहिलो श्रीमती बितेपछि उनले दोस्रो विवाह गरेका थिए । दोस्रोबाट पनि सन्तान नभएपछि नकुन्नीसँग तेस्रो विवाह गरेका थिए ।’ त्यही विषयमा नकुन्नी र रामकुमारबीच खटपट चलिरहेको थियो ।

रामकुमारले नकुन्नीलाई कुटपिट समेत गर्थे । उनीमाथि निरन्तर हिंसा हुँदै आएको थियो । नकुन्नीले ५ असारमा आफुमाथि हिंसा भएको भन्दै स्थानीय महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन् । त्यसबारे प्रहरीले समेत थाहा पाएपनि चासो नदिएको माइतीपक्षको गुनासो छ ।

उनीहरुले निर्मला कुर्मीको मृत्यु प्रकरणमा समेत दोषी पहिचानका लागि आग्रह गरिरहेका छन् । कुर्मी गत वर्षको मंसिरदेखि बेपत्ता छिन् । दुई छोरीकी आमा निर्मलालाई किन र कसले बेपत्ता पार्‍यो? अहिलेसम्म प्रहरीसँग जवाफ छैन । कुमीका आफन्तले गत मंसिर १६ मै किटानी जाहेरी दिएपनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरु सन्तुष्ट छैनन् ।

प्रकाशित : आश्विन ३०, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?