नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् । 

उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’मार्फत बिहीबार बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन् ।

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

प्रकाशित : आश्विन २८, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा लोपोन्मुख नगराको रौनक

आश गुरुङ

लमजुङ — दसैंको घटस्थापना सुरु भएदेखि गाउँघरमा एउटा बाजा बज्ने गर्छ । दमाह जस्तै देखिने यो बाजालाई ‘नगरा’भनिन्छ । यो नेपाली बाजा हो ।

डुमडुम आवाज आउने यो बाजा बजाउने चलन लोप हुँदै गए पनि बेंसीसहर नगरपालिका १, उदिपुर क्षेत्रमा भने हराएको छैन । २ वटा स–साना लौरोले ठोकेर बजाउने यो बाजा बजाउने चलन प्रायः गाउँघरमा हराइसकेको छ । उदिपुरको परियार परिवारका केहीले भने यसलाई बचाएर राखेका छन् । उनीहरु दसैंमा घरघरै गएर नगरा बजाउँछन् ।

हाल कोरोना संक्रमण जोखिमका बीच घरघरै गएर बाजा बजाउँदा थप जोखिम हुने डरले उनीहरु मास्क लगाएरै नगरा बजाउने गरेका छन् । नगरा बजाउन बालक (किशोर) देखि महिलासमेत हिँडेका छन् । घटस्थापनाको दिनदेखि नवमीसम्म घरघरै गएर यो बाजा बजाएवापत उनीहरुले टीकाको दिनदेखि पूर्णिमासम्म दक्षिणा, खाद्यान्नलगायत पाउँछन् ।

नगरा बजाउँदै हिँडेकी उदिपुरकी कमला परियार भन्छिन् 'नगरा लगाएपछि मात्रै दसैं आए जस्तो लाग्छ । सुन्ने र सुनाउने दुवैलाई दसैं आएको महसुश हुन्छ । यो त हाम्रो पुर्ख्यौली चलन हो । दसैं आएजस्तो भएन, छोड्नु हुँदैन भनेर हामीले बजाउँदै हिँडेका छौं ।’

उनका पतिको ४ वर्षअघि निधन भयो । ससूराले बजाएपछि जेठो छोरा, माइलो र कान्छोले बजाउँदै आएकोमा अहिले ११ वर्षीय नातीलेसमेत बजाउन थालेको उनी बताउँछिन् ।

उदिपुर कालिका मन्दिरमा नगरा बजाउने जिम्मा अहिले उनकै छ । मन्दिरमा बजाउनु पर्ने भएकाले पनि यो चलन छोड्न नसकेको उनले बताइन् । ‘सबैतिर लोप हुँदै गयो । हाम्रोमा अहिले ३ घरपरिवारले नगरा बजाउँछन् । दुर्गा स्थापना (घटस्थापना) पछि नगरा बजाउने चलन सुरु हुन्छ’ उनले भनिन्, ‘अहिले नगरा मात्रै लगाउने हो, दसैंपछि हामी फेरि घरघरै आउँछौं । अलिअलि दिन्छन् गाउँघरमा ।’

उदिपुरकी अम्बिका खतिवडा पनि दसैंमा नगरा बजेपछिमात्रै घरआँगनमा उमंग आएको जस्तो महसुश हुने गरेको बताउँछिन् । पूर्व धरान माइत बताउने उनी काभ्रेमा सेवारत छिन् । पति उदयपुरमा कार्यरत छन् । ‘हामी उतै बस्छौं । दसैंमा घर आउँछौं । बिहे भएको १५ वर्ष भयो । सधैं नगरा सुन्छौं । मेरो लागि यो नौलो पनि हो’ उनले भनिन् । नगरा लगाएपछि गाउँघरमा दसैंको रौनक छाउने उनले बताइन् ।

बेंसीसहर नगरपालिका १, उदिपुरका अध्यक्ष बलराम श्रेष्ठले उदिपुरमा नगरा लगाउने चलन वर्षौंदेखि रहँदैआएको बताए । ‘नगरा लगाउने चलन परियार जातिले गर्दैआएको छ । यो उहाँहरुको परम्परा हो । हामीले यसलाई सम्मानका साथ सहर्ष स्वीकार गरेका छौं’ उनले भने, ‘कतिपय ठाउँमा यो हराइसक्यो । नगराको आवाज दसैंमा सुनिँदैन ।’

लमजुङ कालिका मन्दिरका मूल पूरोहित माधव बरालका अनुसार नगरा बजाउने चलन यशोब्रम्ह शाहको पालादेखि सुरु भएको मानिन्छ । गाउँसहर कालिका मन्दिरमा घटस्थापनाको पूजा गर्ने क्रममा नगरा बजाइने उनले बताए । उनका अनुसार साँझको पूजापाठको समयमा पनि नगरा बजाइन्छ । घरघरमा भने बिहानमात्रै नगरा बजाइन्छ । वि.सं. १५५० देखि यो चलनको सुरुआत भएको उनले बताए । ‘के कारणले बजाउँछन् भन्ने कुरा त थाह भएन । तर, पूजापाठ र चाडपर्वको रौनक भने नगरा बजाएपछि भित्रिन्छ ।’

नेपाली विकिपिडियाका अनुसार नगरा एक प्रकारको नेपाली बाजा हो । नगरा पिँध तीखो भएको भिउँट जस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजोले बजाइने एक पुरानो तालबाजा हो । यो ठूलो दमाहा हो । यसलाई दुई वटा गजोले ठोकेर बजाइन्छ । नगरा तामाबाट बनेको हुन्छ । मन्दिरहरूमा आरती गर्ने बेलामा यो बाजा बजाउने चलन छ । विभिन्न चाडपर्वमा यो बाजा बजाउने चलन थियो । यस बाजालाई डङ्का पनि भनेको सुनिन्छ ।

नेपालका विभिन्न स्थानमा विशेष पर्वहरूको समयमा बजाइने एक प्रकारको बाजा हो । नेपालका विभिन्न जिल्लामा अहिले पनि दसैँ सुरु भएको संकेत नगराले गर्छ । नगराको एकोहोरो आवाज सुन्न थालेपछि दसैं सुरु भयो भनेर गाउँवासीलाई सूचना दिने परम्परागत चलन अझै कायमै रहेको पाइन्छ । यो चलन लमजुङको गाउँसहर, बेंसीसहर, चण्डीस्थान, सिम्पानी, चन्द्रेश्वर, दुराडाँडालगायत क्षेत्रमा भने हराउँदै गएको छ ।

डुमडुम आवाज सुन्न नपाएपछि दसैंको रौनक नै नआएको जस्तो भएको चन्द्रेश्वरका अर्जुन अधिकारीले बताए । घटस्थापनादेखि दशमीसम्म प्रत्येक घरमा गएर नगरा बजाउने चलन तुलनात्मक रूपमा कम हुँदै गएको उनको भनाइ छ । परियार जातिमा युवाले नगरा लगाउने पेशा अंगाल्न छाडेपछि संस्कृति नै लोप हुन लागेको हो । नगरा लगाउनेलाई समाजमा हेयको दृष्टिकोणले हेरिने भएकाले पनि यो पेशा लोप हुने अवस्थामा पुगेको रेशम परियारले बताए ।

प्रकाशित : आश्विन २८, २०७८ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×