तलेजु भवानी मन्दिर आज मात्र खुल्ने- समाचार - कान्तिपुर समाचार

तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

रासस

काठमाडौँ — हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

मन्दिरमा भक्तजनको घुइँचो लाग्ने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी भएको अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

प्रकाशित : आश्विन २८, २०७८ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत

रासस/सिन्ह्वा

काठमाडौँ — संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत  गरेको छ । मालीमा यसअघि भएको शान्ति सम्झौता बमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन् । उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस फाइल तस्बिर : रोयटर्स

यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् ।

उक्त शान्ति सम्झौता र पछिल्लो समयमा यसबमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले मंगलबार सो कुराको जानकारी दिएका हुन् ।

महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि सो सम्झौताबमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गरेको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मालीको सरकारले त्यहाँका पूर्व लडाकूहरुलाई करिब १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुन:स्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्नेगरी सम्झौता गरेका छन् ।मालीमा विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । सो विद्रोहले कैयौँ मानिसको ज्यान पनि गएको छ

प्रकाशित : आश्विन २८, २०७८ ०६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×