संसद चलाउनेबारे सबैले आत्मसमिक्षा गरौं: सभामुख सापकोटा- समाचार - कान्तिपुर समाचार

संसद चलाउनेबारे सबैले आत्मसमिक्षा गरौं: सभामुख सापकोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने उल्लेख गरे ।

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समिक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

‘म अझै के भन्छु भने पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ,अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन, ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ’ सभामुख सापकोटाले भने । उनले संसदको गरिमा बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै रहेको उल्लेख गरे । ‘के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसावले सभामुखको नै हो, के गर्नुपर्छ त्यसको लागि म तयार छु, तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरुको सबै दायित्व हुन्छ’ उनले भने ।

उनले सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि आफूले पनि तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेलेको बताए । ‘मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समिक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समिक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समिक्षा गरौं र सकारात्मक सोचका साथ संवाद थालौं, जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो’ सभामुख सापकोटाले भने । संसदमा अहिलेका समस्या समाधान गर्नका लागि १५ दिनको समय रहेकाले त्यतिन्जेल सम्म सकारात्मक वातावरण बन्नेमा आफू आशावादी रहेको उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वमा दसैंको खुशी

जितेन्द्र साह

(विराटनगर) — दसैँ, वडादसैं, विजया दशमी, दशमी, दशहरा, दूर्गा पूजा वा दुर्गोत्सव । बोलिने एवं बुझिने शब्दहरु फरक भए पनि हिमाल, पहाड र तराईका विभिन्न वर्ग, उमेर तथा समुदायका लागि यो महापर्वको आ–आफ्नै महत्व छ । जसरी र जुन शैलीमा मनाए पनि दसैंले खुशी र उमंगका साथ समाजलाई जोडिरहेको हुन्छ ।

‘अरु बेला अध्ययन एवं गृहकार्यले समय मिल्दैन, दसैंको विदामा मित्र, परिवारजन र आफन्तसँग घुम्न पाउँछौं,’कक्षा–८ की शायरा राजवंशी भन्छिन् । उनी विराटनगरमा साथीहरुसँग प्रफुल्ल मुद्रामा मन्दिर दर्शन गर्न र तस्बिर खिच्नमा व्यस्त भेटिइन् ।


कक्षा–७ मा अध्ययनरत विराटनगर मुनालपथका सम्राट दाहालका लागि दसैं भनेको नयाँनयाँ लुगा र जुत्ता लगाउने, मिठो परिकार खाने र परिवारजनसँग आनन्दले समय बिताउने समय हो । ‘दर्सै आयो भन्ने सुन्नसाथ खुशी लाग्छ, परिवारसँग किनमेलका लागि बजार जान र साथीहरुसँग पिङ खेल्दै रमाउन पाइन्छ,’उनी भन्छन् ।


कक्षा–१२ मा अध्ययनरत सिजन निरौलालाई धेरै दिन अगावैदेखि दसैंको पर्खाइ हुन्छ । ‘अध्ययनको भारले अरु बेला आराम समेत गर्न पाइन्न, विदाले गर्दा दसैंको बेला राहत हुन्छ, छुटाएको कामहरु गर्न पाइन्छ, परिवारजन, आफन्त एवं साथीभाइसँग मजाले बस्न पाइन्छ,’उनी भन्छन् ।


विराटनगरदेखि १२ किमी पश्चिमस्थित सुनसरीको गढी गाउँपालिका–४ का युवा विशाल उराँवका लागि यो सांस्कृतिक अवसर हो । पुर्खौंदेखि भदौ पूर्णिमादेखि विजया दशमीसम्म मनाइने कर्मा–धर्मा झाँगड (उराँव) समुदायको ठूलो पर्व हो ।


‘आदिवासी जनजाति झाँगड समुदायका महिलापुरुषले भदौ पूर्णिमादेखि असोज पूर्णिमा सम्म सिठीको धुनमा प्रेम, विहे युवायुवतीको सम्बन्धको बारेको लोकगीत गाउँदै परम्परागत नृत्य गर्छन्,’ उनी भन्छन्, ‘दसैंमा हुने भेला र मेलाले आ–आफ्नो संस्कृति उजार गर्ने मौका पनि दिन्छ ।’


मोरङको जहदा गाउँपालिका–४ स्थित सन्थाल बस्तीका ५० वर्षीय लखिराम बास्केका लागि यो पर्वले कुनै उत्सव जतिकै महत्व राख्छ । ‘टिकाजमरा र परम्परागत पहिरनमा ठाटिएका आदिवासी सन्थाल समुदायका पुरुषले दसैंमा माता दूर्गाको दर्शन पछि मन्दिर परिसर र मेलामा नृत्य गर्छन्,’उनी भन्छन्,‘मलाई त्यति राम्ररी नाँच्न आउँदैन तर हेर्न जान्छु ।’

विराटनगरका ज्येष्ठ नागरिक ७३ वर्षीय मणिकुमार अर्ज्यालका लागि जमघट एवं सहभोज गर्ने ठूलो अवसर हो दसैं । ‘स्वदेश एवं विदेशमा छरिएर बसेका परिवारजन र मित्रसँग दर्सैमा भेट हुन्छ,’ उनी भन्छन्, ‘सम्बन्धको नवीकरणसँगै शुभकामना र आशीष वचनको आदानप्रदान हुन्छ ।’


विभिन्न पेसा एवं व्यवसायमा संलग्नलाई दसैंले उत्साह एवं उमंग दिन्छ । शुभकामनाको साटासाटसँगै जनसम्पर्क एवं व्यवसाय विस्तारको यो ठूलो मौका भएको विराटनगरका बैंकर प्रशुन्न कोइराला बताउँछन् । ‘दसैंले परिवार र उपभोक्तासँग सुमधुर सम्बन्ध बनाउने माहोल खडा गर्छ,’ उनी भन्छन् ।


स्थानीय मुस्लिम समुदायका ३४ वर्षीय मोहम्मद मुन्नाका लागि यो पर्व भनेको अतिरिक्त आम्दानीको अवसर हो । ‘अरु बेला मजदुरी गरेर गुजारा गरे पनि दसैं सम्म बैलुन बेच्छु,’ उनी भन्छन्, ‘एक जनाले ४/५ बैलुन किन्छन्, दिनभरि बसेर बेच्छु, मेरो लागि यो दसैं मनाउनु सरह हो ।’


विराटनगरको प्रसिद्ध काली र हनुमान मन्दिर बीचको चिया पसलमा कार्यरत युवा २४ वर्षीय शेर अली खानले आफूलाई कहिल्यै पनि दशमी हिन्दुको मात्र पर्व नलागेको बताउँछन् । ‘पूजाआजा नगरे पनि दसैंको भरपुर आनन्द लिन्छु, हिन्दु मित्र र परिवारलाई शुभकामना दिन्छु,’ उनी भन्छन्, ‘हिन्दु दोस्तहरुबाट भोजको निमन्त्रणा पनि आउँछ ।’


सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २८ वर्षीय सुखराम यादवले दशहरालाई गरिबका लागि गरिखाने अवसरको रुपमा हेर्छन् । वर्षभरि राजमिस्त्रीको काम गर्ने उनी दसैंभरी विराटनगरको काली मन्दिर अघिल्तिरको फुटपाथमा खेलौना बेच्छन् । ‘दिनहुँ माताको दर्शन पनि हुन्छ, खेलौना बेचेर आएको आम्दानीले परिवारसँग दसैं मनाउने खर्च जुट्छ,’उनी भन्छन् ।


स्थानीय बाटा रोडका कपडा व्यवसायी ५४ वर्षीय श्रीनारायण गुप्ताले यतिखेर ५० प्रतिशतले ब्यापार बढ्ने बताउँछन् । ‘दसैंमा नयाँ लुगा पहिलो प्राथमिकतामा पर्छ,’ उनी भन्छन्, ‘कोरोनाले गर्दा दुई वर्षदेखि ब्यापार सखाप छ तर वर्षको अन्य दिनहरुको तुलनामा यो बेला भनेको व्यापारीका लागि दशहरा नै हो ।’


स्थानीय मिठाई पसले युवक रमेश पण्डितले दसैंलाई समाजलाई जोड्ने धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व मान्छन् । ‘भक्तजनले मातालाई शुद्ध मिठाइ अवश्य चढाउँछन,’ उनी भन्छन्, ‘दसैंदेखि मिठाइ बिक्रीको क्रम बढ्दै गएर छठ सम्म कायम रहन्छ, शुभकामना आदान–प्रदानमा पनि मिठाइको प्याकेट दिने चलन छ ।’


स्थानीय सरोचिया बस्तीका ६० वर्षीय आशाराम मण्डलले घटस्थापनादेखि पूर्णिमा सम्म टीका लगाइ दिएर दिनहुँ ५ सय रुपैयाँ आम्दानी गर्छन् ।

‘सधैं यो काम गर्दिन, दसैंमा मात्र मन्दिरहरुको अघिल्तिर डुल्दै भक्तजनलाई टीका लगाइ दिन्छु, उनीहरुले दिएको दक्षिणा लिन्छु,’ उनी भन्छन्, ‘यतिखेर भक्तजनले खुशीसाथ दान दिन्छन्, त्यो रकमलाई कुनै पनि काममा लगायौं भने शुभ र समृद्धि ल्याउँछ ।’

टीका एवं आशीषको माध्यमबाट नयाँ एवं पुराना पुस्ता बीचको सम्बन्धलाई दसैंले जीवन्तता प्रदान गरिरहेको समाजशास्त्री मुकेश सिंह बताउँछन् । ‘दसैंको सामाजिक माहोलले सबै वर्गकालाई तान्छ ,’ उनी भन्छन्, ‘रातो टीका तथा जमरा नथाप्नेहरु पनि भेटघाट र भोजमा सहभागि भइरहेकै हुन्छ ।’ यो पर्वले समाजको आर्थिक, सांस्कृतिक, धार्मिक र पम्परागत पक्षलाई सन्तुलनमा राख्ने गरेको समाजशास्त्री सिंह बताउँछन् ।

प्रकाशित : आश्विन २७, २०७८ १३:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×