कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चाडबाडमा लापरबाही नगरौं’

विज्ञहरु भन्छन्– ‘कोभिडको जोखिम कायमै छ, पूर्ण मात्रा खोप लगाएकाहरुमा पनि संक्रमण देखिँदै छ’
अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोभिड–१९ को दोस्रो लहर मत्थर देखिएको बेला दसैंको रमझम छ । चाडपर्वको उल्लासबीच स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा मानिस केही लापरबाह देखिएका छन् । कोभिडको पूर्ण मात्रा खोप लगाएकाहरू त त्यसमा झन् अगाडि छन् ।

‘चाडबाडमा लापरबाही नगरौं’

विशेषज्ञहरूले कोभिडको जोखिम कायमै रहेकाले खोप लगाएका वा नलगाएका सबैले चाडपर्वमा बढी सावधानी अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले पनि संक्रमणबाट जोगिनका लागि मापदण्ड पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले पूर्ण मात्रा खोप लगाएकाहरूमा समेत जटिल कोभिड संक्रमण देखिएकाले सबैले स्वास्थ्य मापदण्ड अपनाउनु अत्यावश्यक रहेको बताए । उनले चाडपर्वमा पनि मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न र हातको सफाइमा सावधानी अपाउन आग्रह गरे ।

सरकारी तथ्यांकमा नेपालमा कोभिड संक्रमण घट्ने क्रम देखिए पनि कोरोनाको नयाँ भेरिएन्ट आउने जोखिम कायमै देखिन्छ । कोभिडको दोस्रो लहरको सुरुवातपछिकै सबैभन्दा कम गत आइतबार दैनिक संक्रमण दर अर्थात् ५ प्रतिशत थियो । केही दिनयता दिनहुँ सरदर १०–१२ जना जतिको मृत्यु कोभिडले भइरहेको छ । हाल देशभरिमा १४ हजार ७ सय ४७ सक्रिय संक्रमित छन् ।

‘हाल चाडपर्वको मौसममा भीडभाड हुने भएकाले कोभिडबाट जोगिन खोप लगाएका वा नलगाएका सबैले स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘कोभिडले दिनहुँ मृत्यु भइरहेको छ र नयाँ संक्रमित थपिने क्रममा कमी आए पनि रोकिएको छैन ।’

डा. पौडेलले हाल परीक्षण गरिएकामा संक्रमण दर करिब ७–८ प्रतिशत देखिने गरेको बताए । उनका अनुसार दिनहुँ करिब १० देखि १४ हजारको परीक्षण भइरहेको छ । मुलुकको प्रवेश बिन्दुमा परीक्षण गर्दा हाल हाल २–३ प्रतिशतमा पोजिटिभ देखिएको छ ।

‘पूर्ण मात्रा खोप लगाएकाहरूमा पनि कोभिडको संक्रमण भई नै रहेको छ,’ डा. पौडेलले भने, ‘त्यसैले खोप लगाएकाहरूले पनि मास्क, दूरी, हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड कडाइ साथ पालना गर्नुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सीमा आउने कोभिड बिरामीमध्ये ३० देखि ४० प्रतिशतसम्म खोप लगाएका हुने गरेका छन् । इमर्जेन्सीमा आएका खोप लगाएका कुल बिरामीमध्ये करिब ३० देखि ४० प्रतिशत अस्पतालमा भर्नासमेत हुने गरेको टेकु अस्पतालका निर्देशक डा. बाँस्तोलाले बताए ।

उनका अनुसार एक वा पूर्ण मात्रा खोप लगाएर अस्पताल भर्ना हुनेहरूमा धेरैजसो पाका उमेरका छन् । हाल मुलुकमा १८ वर्षमाथिका करिब ३८ प्रतिशतले कोभिडविरुद्घको खोपको पहिलो मात्रा र ३० प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।

ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दसैं–तिहारमा बढी जोखिम रहेकाले घर आएका परिवारको सदस्यलाई कोभिड परीक्षण गर्ने व्यवस्था मिलाउन जरुरी रहेको बताए । ‘यस्ता व्यक्तिलाई कम्तीमा एन्टिजेन परीक्षण गराउनुपर्छ,’ उनले भने, ‘कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाहरूले पनि परीक्षण गराउनुपर्छ ।’

एन्टिजेन परीक्षणको रिपोर्ट छिटो आउने भएकाले संक्रमणबारे जान्न यो महत्त्वपूर्ण हुने उनले बताए । डा. बाँस्तोलाले बूढापाकामा कोभिड संक्रमणको बढी जोखिममा हुने भएकाले दसैंमा उनीहरूबाट टीका थाप्दा थप स्वास्थ्य सावधानी अपनाउनुपर्ने बताए ।

‘धेरैजसो टीका थाप्ने वृद्घवृद्घाबाट हो, उनीहरूले खोप लगाए पनि प्रतिरोधी क्षमता नबनेको हुन सक्छ,’ उनले भने, ‘टीका थाप्न गएका युवाले बूढापाकालाई संक्रमण सार्ने उच्च जोखिम रहेकाले मास्क, हातको सरसफाइ र सकेसम्म सामाजिक दूरी कायम राख्दै टीका थाप्नु सर्वोत्तम हुन्छ ।’ यात्रामा मास्क लगाउँदै सवारीसाधनको झ्याल खुला राख्न विज्ञको सुझाव छ ।

संक्रमण दर ओरालो लागे पनि सात जिल्लामा पाँच सयभन्दा बढी र १९ वटा जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रूपन्देहीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

झापा, धनुषा, सप्तरी, सिरहा, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बागलुङ, स्याङ्जा, तनहुँ, दाङ, बाँके, सुर्खेत र कैलालीमा दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रकाशित : आश्विन २७, २०७८ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?