कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेको पनौतीमा बन्यो मुक्तिनाथ मन्दिर

नगेन्द्र अधिकारी

काभ्रे — पनौती–५ बाँसघारीमा मुक्तिनाथ मन्दिर स्थापना गरिएको छ । सोमबार प्राणप्रतिष्ठा गरेर दर्शनार्थीको लागि खुला गरिएको छ । मुक्तिनाथ पीठाधीश्वरको स्वामी कमलनयनाचार्यले
हिन्दू विधि अनुसार उद्धघाटन गरेका हुन् ।

काभ्रेको पनौतीमा बन्यो मुक्तिनाथ मन्दिर

मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरकै जस्तो पूजा विधि, विधान गर्ने गरी कमलनयनाचार्यकै अनुमतिमा मन्दिर स्थापना गरेको निर्माण समितिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए । थापाका अनुसार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा नै बसेर पूजा लगायत विधि सिकेर आएका आचार्य उर्त्तीण पूजारीले दैनिक पूजाअर्चना, भोग, आदि गर्नेछन् ।

मुक्तिनाथ मन्दिरमै पुगेर दर्शन गर्न नसक्ने अशक्त, वृद्ध लगायत अन्य भक्तजनहरुलाई लक्षित गर्दै मुक्तिनाथ बाबाकै सल्लाहमा मन्दिर स्थापना गरिएको उनले जानकारी दिए । २०७४ असोज ४ मा शीलान्यास भएको मन्दिर ४ वर्षमा निर्माण सम्पन्न भएको हो ।

२०७३ सालमा लगाएको महायज्ञबाट उठेको ५८ लाख, वागमती प्रदेश सरकार र पनौती नगरबाट २५/२५ लाखसहित अन्य दाताबाटसमेत उठेको १ करोड ६७ लाखमध्ये १ करोड ५९ लाख खर्च भएको र बाँकी रकम अक्षयकोषमा जम्मा गरिने निर्माण समितिका सदस्य राजेन्द्र थापाले बताए ।

मन्दिर परिसरभित्र १ सय ८ धारा, २ वटा पाटी, पूजारी घर, शौचालय, महिला र पुरुषका लागि कपडा फेर्ने अलग-अलग कक्ष, पर्खाल, पोखरी लगायत संरचना निर्माण गरिएको छ । अक्षयकोषको व्याजबाट नियमित पूजा, आरती, पूजारी, सरसफाई कर्मचारीको व्यवस्थापन गर्ने तयारी गरेको समितिले जानकारी दिएको छ । २०७८ माघमा पनौतीमा लाग्ने मकर मेलामा आउने भक्तजनका कारण मुक्तिनाथको थप प्रचार प्रसार हुने र सबैले दर्शन गर्ने अपेक्षा गरिएको समितिले जनाएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?