अनेरास्ववियू छैठौं विभाजित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनेरास्ववियू छैठौं विभाजित

अमृता अनमोल

बुटवल — राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियू छैठौंमा समानान्तर केन्द्रीय समिति गठन भएको छ । यससँगै विद्यार्थी संगठन औपचारिक रुपमै विभाजन भएको छ । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाभित्र रहेका दुई धारको असर विद्यार्थी संगठनमा पनि देखिएको हो ।

संस्थापन पक्षले बुटवलमा र असन्तुष्ट पक्षले धनगढीमा अलग-अलग २२ औं सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेका हुन् । संस्थापन समूहको सम्मेलनले यसअघिका उपाध्यक्ष देवेन्द्र कुंवरलाई अध्यक्षमा चयन गरेको छ ।

फरक मत पक्षले भने महासचिव महेशराज जोशीलाई अध्यक्ष बनाएको छ । कुंवर नेतृत्वमा उपाध्यक्ष गणेश अधिकारी र नवीन पाण्डे एवं महासचिवमा सुवास जिसीसहित ३५ सदस्यीय कार्यसमिति छ । जोशी नेतृत्वमा उपाध्यक्ष मनोज शर्मा, महासचिव उमेश कंडेल, सचिव आशिष जगेबुसहित ३१ सदस्यीय कार्यसमिति छ ।

संस्थापन पक्षको सम्मेलन राजमो अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए । करिब ६० जिल्लाबाट झण्डै २ सय प्रतिनिधि सहभागी भएको आयोजकले दावी गरेको छ । विपक्षी समूहले भने पाल्पामा राष्ट्रिय सम्मेलन गर्ने संगठनको साउन १९को केन्द्रीय समितिको निर्णय विपरीत संस्थापन पक्षले महासचिव लगायत फरक मत राख्नेलाई जानकारी नै नदिई बुटवलमा सम्मेलन आयोजना गरेको आरोप लगाएको छ । आफ्नो सम्मेलनमा ४१ जिल्लाबाट १०२ जना प्रतिनिधि सहभागी भएको उसको दावी छ ।

प्रकाशित : आश्विन २५, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्

चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

रासस

काठमाडौँ — लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर) मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन ।

‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले प्रष्ट्याएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए । उनले भने, 'कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ ।'

चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले जनाएको छ । विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने महानिर्देशक घिमिरेले बताए ।

विभागमा कार्ड आएपछि झण्डै आधा अहिले नै छाप्नुपर्ने छ । आगामी दिनमा पनि अनुमतिपत्रको समस्या आउन नदिने कुरामा ध्यान दिइने उनले बताए । 'विगतमा प्राविधिक समस्याले आएकाले अब ठेक्का गर्दा ती कुरामा ध्यान दिइन्छ,' उनले भने ।

सेवाग्राहीलाई सजिलोका लागि सुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन् । पहिले उपकरणको क्षमता कम भएकाले सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका थिएनन् ।

दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब एकदुई हजार मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयहरुले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×